५४ औँ विश्व वातावरण दिवस : सरुमारानीमा जनचेतनामूलक प्रदर्शनी

राम बहादुर बिश्वकर्मा 
प्युठान,बदलिँदो मौसम,अनियमित वर्षा,बढ्दो तापक्रम र घट्दो जलस्रोतले ग्रामीण जीवनशैलीमा प्रत्यक्ष असर पार्दै आएको वास्तविकतालाई मध्यनजर गर्दै सरुमारानी गाउँपालिकाले वातावरण संरक्षण र जलवायु सचेतनालाई समुदायस्तरमै विस्तार गर्ने उद्देश्यसहित विशेष प्रदर्शनी आयोजना गरेको छ। ५४ औँ विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमले स्थानीय तहमा वातावरणीय चेतना अभिवृद्धिको नयाँ अभ्यासको सुरुवात गरेको देखिएको छ।
गाउँपालिकाको बड्डाँडास्थित बहुउद्देश्यीय सभा हलमा सम्पन्न उक्त प्रदर्शनी बिहानैदेखि स्थानीयको चहलपहलले भरिएको थियो। विद्यार्थी,किसान,महिला समूह,युवा तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई जीवन्त मात्र बनाएन,वातावरणीय विषयलाई साझा सरोकारको मुद्दा बनाएको अनुभूति पनि दिलायो। सामान्य प्रशासनिक कार्यका लागि प्रयोग हुने सभा हल त्यस दिन ज्ञान,अनुभव र व्यवहारिक सिकाइ आदान-प्रदान गर्ने साझा मञ्चमा रूपान्तरण भएको थियो।
प्रदर्शनीमा जलवायु परिवर्तनका प्रभाव,वातावरणीय अनुकूलनका उपाय तथा दैनिक जीवनमा अपनाउन सकिने व्यवहारिक अभ्यासहरू प्रस्तुत गरिएका थिए।सालका पातबाट तयार गरिएका दुना-टपरी,सुधारिएको चुलो,ऊर्जा बचत गर्ने भान्साका अभ्यास तथा फोहोर व्यवस्थापनका सरल तर प्रभावकारी उपायहरूले सहभागीहरूलाई व्यवहार परिवर्तनतर्फ प्रेरित गरेको देखिन्थ्यो। परम्परागत ज्ञान र आधुनिक प्रविधिको संयोजनले वातावरण संरक्षण सम्भव छ भन्ने सन्देश पनि प्रदर्शनीले स्पष्ट रूपमा दिएको थियो।
भान्साबाट हुने कार्बन उत्सर्जन न्यूनीकरणका उपायहरू र स्थानीय स्रोतको अधिकतम उपयोगमार्फत वातावरणमैत्री विकल्प निर्माण गर्ने अभ्यासहरूले ग्रामीण समुदायमा सकारात्मक प्रभाव पारेका थिए। दैनिक जीवनमै साना परिवर्तनले ठूलो वातावरणीय असर कम गर्न सकिन्छ भन्ने व्यवहारिक सन्देश कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।
विपद् व्यवस्थापनमा प्रयोग हुने प्राविधिक सामग्रीहरूको प्रदर्शन पनि कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष थियो। बाढी,पहिरो तथा अन्य प्राकृतिक विपद् बढ्दै गएको वर्तमान अवस्थामा समुदायलाई पूर्वतयारी अवस्थामा राख्नु अत्यावश्यक रहेको सन्देशले सहभागीहरूलाई थप सचेत बनाएको थियो।
डिभिजन वन कार्यालयको समन्वय तथा जनताको लागि ऊर्जा तथा विकास संस्था (PEEDA),हेफर परियोजना र प्रतिबद्ध परियोजनाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले वातावरणीय सहकार्यलाई थप मजबुत बनाएको छ। हाल माण्डवी गाउँपालिकामा समेत जलवायु कार्यहरूको स्थानीयकरण कार्यक्रम सञ्चालन भइरहेकाले दुवै पालिकाबीच वातावरणीय सहकार्य विस्तार हुँदै गएको बताइएको छ।
स्थानीय तह स्थापना भएयता सरुमारानीमा यति ठूलो स्तरको वातावरणीय जनचेतनामूलक कार्यक्रम पहिलोपटक आयोजना गरिएको सहभागीहरूको भनाई छ। यसले विकाससँगै वातावरण संरक्षणलाई समानान्तर रूपमा अघि बढाउन सकिने सम्भावनालाई समेत उजागर गरेको छ।
कार्यक्रममा बोल्दै जनताको लागि ऊर्जा तथा बाताबरण विकास संस्था (PEEDA) फिल्ड संयोजक मोहन सुबेदीले जलवायु संकटलाई आजको सबैभन्दा ठूलो चुनौतीका रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो,“जलवायु परिवर्तनको असर हाम्रो कृषि, पानीका स्रोत,स्वास्थ्य र समग्र जीवनशैलीमा प्रत्यक्ष देखिन थालेको छ।अब सचेतना मात्र होइन,व्यवहार परिवर्तन अनिवार्य छ।”
उहाँका अनुसार स्थानीय सरकार,समुदाय र सरोकारवाला निकायबीचको संयुक्त प्रयासबिना वातावरण संरक्षण सम्भव छैन। कार्यक्रमले यही सहकार्यको आवश्यकता र सम्भावनालाई थप स्पष्ट बनाएको छ।