छुवाछूत अन्त्य घोषणामात्र होइन,व्यवहारमा समानता चाहिन्छ : सरुमारानीमा गम्भीर बहस

छुवाछूत अन्त्य घोषणामात्र होइन,व्यवहारमा समानता चाहिन्छ : सरुमारानीमा गम्भीर बहस

राम बहादुर विश्वकर्मा
प्युठान,“नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको वर्षों बितिसक्यो, तर विभेदरहित समाजको यात्रा अझै अधुरो छ। अब कानुन मात्र होइन, व्यवहार परिवर्तन अनिवार्य छ।"
यही साझा निष्कर्षका साथ सरुमारानी गाउँपालिकामा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभेद अन्त्यका चुनौती,अवसर र सामाजिक रूपान्तरणका उपायबारे गम्भीर छलफल भएको हो।

गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व संविधानसभा सदस्य धन बहादुर रायमाझी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा दलित अधिकारकर्मी लोकेन्द्र सुनार र अधिवक्ता बेदराज पाण्डेले विषयगत प्रस्तुतीकरण गर्दै नेपालको संविधान,कानुनी व्यवस्था,दलित अधिकार आन्दोलनको इतिहास तथा वर्तमान चुनौतीहरूबारे प्रकाश पारे।

“समानता कागजमा होइन, व्यवहारमा देखिनुपर्छ”

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले नेपालमा कानुनी रूपमा छुवाछूत अपराध भए पनि समाजका कतिपय क्षेत्रमा विभेदका अवशेष अझै बाँकी रहेको उल्लेख गरे।
उनले भने,“समानता संविधानको पानामा मात्र सीमित हुनु हुँदैन। हरेक नागरिकले आफ्नो दैनिक जीवनमा सम्मान र समान अवसरको अनुभूति गर्नुपर्छ। स्थानीय सरकार त्यसका लागि प्रतिबद्ध छ।”
बिश्वकर्माले दलित सशक्तिकरणका लागि प्रदेश सरकारले छुट्टै ऐन ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिई सार्वजनिक बिदा दिनुपर्ने मागसमेत गरेका छन्।
उनका अनुसार संविधानमा उल्लेख अधिकार व्यवहारमा कार्यान्वयन नहुँदा दलित समुदाय अझै पनि विभिन्न प्रकारका विभेद र असमानताको सामना गर्न बाध्य छ। त्यसैले कानुन निर्माणसँगै स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य रहेको उनले बताए।अध्यक्ष बिश्वकर्माले भूमिहीन दलितका लागि जग्गा उपलब्ध गराउने विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै सबै पालिकालाई छुवाछूतमुक्त घोषणा गर्ने अभियानलाई प्रभावकारी बनाउन आग्रह गरे।
साथै,उनले हरेक स्थानीय तहमा दलितमैत्री बजेट अनिवार्य गर्नुपर्ने उल्लेख गर्दै सामाजिक न्याय र समानताको सुनिश्चितताका लागि व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने स्पष्ट पारे।

“छुवाछूत अन्त्य सामाजिक क्रान्तिको आधार हो”

प्रमुख अतिथि तथा पूर्व संविधानसभा सदस्य धन बहादुर रायमाझीले छुवाछूत केवल कानुनी विषय नभई सामाजिक चेतनासँग जोडिएको विषय भएको बताए।उनले भने,“संविधानले सबै नागरिकलाई समान अधिकार दिएको छ। अब समाजले पनि त्यही भावनालाई आत्मसात गर्नुपर्छ। जातका आधारमा गरिने कुनै पनि विभेद सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन।”
रायमाझीले दलित समुदायले राज्य निर्माण,संस्कृति,सीप र श्रमका क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान हुनुपर्नेमा जोड दिए।
रायमाझीले संविधान निर्माण प्रक्रियामा दलित समुदायका अधिकार सुनिश्चित गर्न भएका प्रयासहरूको स्मरण गर्दै सामाजिक चेतना अझै विस्तार गर्न आवश्यक रहेको बताए।उनले भने,“संविधानले समानताको ढोका खोलेको छ। अब त्यो ढोकाबाट समान अवसर र सम्मानको संस्कृति समाजभित्र प्रवेश गर्नुपर्छ।कानुनले अधिकार दिन्छ, तर समाजले सम्मान दिनुपर्छ।”
उनले जातीय विभेद अन्त्य गर्न सबै समुदायबीच सहकार्य र आपसी सम्मानको भावना विकास हुनुपर्नेमा जोड दिए।

“विभेदका रूप फेरिएका छन्,चुनौती बाँकी छ”

नेपाल पत्रकार महासंघ प्युठान शाखाका सह-सचिव बोम बहादुर परियारले दलित समुदायका सवालमा सरुमारानी गाउँपालिका जिल्लामै अग्रस्थानमा रहेको बताएका छन्।
छुवाछूत उन्मूलन दिवसको अवसरमा अन्य स्थानीय तहहरूमा कार्यक्रमको अवस्था बुझ्ने क्रममा अधिकांश ठाउँमा औपचारिक गतिविधि नदेखिँदा आफूलाई निराशा लागेको उनले बताए। सामाजिक रूपमा महत्वपूर्ण दिवस भए पनि अपेक्षित रूपमा कार्यक्रम नहुनु दुःखद भएको उनको भनाई छ।
तर सरुमारानी गाउँपालिकाले भने यस दिवसलाई गम्भीरतापूर्वक लिएर सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोप्रति उनले विशेष प्रशंसा व्यक्त गरेका छन्।उनले भने,“सरुमारानीले यस विषयमा देखाएको सक्रियता उदाहरणीय छ,यस्तो कार्यक्रमले सामाजिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ।”
कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता सिता बि.क.ले गरेकी थिइन्। कार्यक्रम सञ्चालनका क्रममा उनले जातीय भेदभाव उन्मूलन राष्ट्रिय दिवस केवल स्मरणको दिन नभई आत्मसमीक्षा र प्रतिबद्धताको अवसर भएको बताइन्।उनले भनिन्,“हामीले दिवस मनाइरहेका छौं, तर यसको वास्तविक अर्थ तब मात्र हुन्छ जब समानता,सम्मान र सामाजिक न्यायका मूल्यहरू हाम्रो दैनिक व्यवहारमा देखिन्छन्।जातीय विभेद अन्त्यका लागि कानुनसँगै चेतना,शिक्षा र सकारात्मक सोचको विकास आवश्यक छ।”
उनले विशेषगरी नयाँ पुस्तालाई विभेदरहित समाज निर्माणको अभियानमा अग्रसर हुन आग्रह गर्दै सबै समुदायबीच आपसी सम्मान, सहकार्य र सद्भावको संस्कार विकास गर्नुपर्नेमा जोड दिइन्।
उनका अनुसार“आज धेरै ठाउँमा छुवाछूत खुलेर देखिँदैन,तर अवसरबाट वञ्चित गर्ने,नेतृत्वमा नसमेट्ने र सामाजिक रूपमा कमजोर बनाइराख्ने प्रवृत्ति अझै देखिन्छ।त्यसैले अधिकारको बहसलाई अझ सशक्त बनाउन आवश्यक छ।”

"उत्कृष्ट दलित विद्यार्थी सम्मानित"

कार्यक्रमको सबैभन्दा प्रेरणादायी पक्ष कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका १८ जना दलित समुदायका विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्नु थियो।
मञ्चमा बोलाइएका विद्यार्थीहरूको अनुहारमा देखिएको आत्मविश्वास र खुसीले एउटा स्पष्ट सन्देश दिइरहेको थियो “शिक्षा नै परिवर्तनको सबैभन्दा बलियो माध्यम हो।”वक्ताहरूले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको सफलता सम्पूर्ण समुदायका लागि प्रेरणाको स्रोत भएको बताए। पुरस्कार वितरणले अध्ययनमा मेहनत गर्ने विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरियो।
समानता व्यवहारमा उतारौं कार्यक्रमभरि एउटै सन्देश दोहोरिइरह्यो छुवाछूतमुक्त राष्ट्रको घोषणा ऐतिहासिक उपलब्धि हो तर त्यो घोषणालाई व्यवहारमा रूपान्तरण गर्नु आजको प्रमुख जिम्मेवारी हो।