प्यूठान विकासको भविष्य निजी क्षेत्रसँग जोडिएको छ : अध्यक्ष आचार्यको दृष्टिकोण 

प्यूठान विकासको भविष्य निजी क्षेत्रसँग जोडिएको छ : अध्यक्ष आचार्यको दृष्टिकोण 

प्यूठान जिल्लाको विकास यात्रामा निजी क्षेत्र सधैं एउटा महत्वपूर्ण आधारस्तम्भको रूपमा रहँदै आएको छ। उद्योग,व्यापार र उद्यमशीलताको विस्तारसँगै जिल्लाको आर्थिक,सामाजिक तथा पर्यटन विकासमा निजी क्षेत्रको भूमिका दिनानुदिन अझ निर्णायक बन्दै गएको छ। यही सन्दर्भमा प्यूठान उद्योग वाणिज्य संघले जिल्लाको समग्र समृद्धिको दिशामा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।
२०४८ सालमा प्यूठान व्यापार संघका रूपमा स्थापना भई २०५२ सालमा प्यूठान उद्योग वाणिज्य संघको रूपमा रूपान्तरण भएको यस संस्थाले व्यवसायीहरूको साझा प्रतिनिधिमूलक आवाजका रूपमा आफूलाई स्थापित गरेको छ।स्थापना कालदेखि नै व्यवसायिक एकता,सहकार्य र समन्वयलाई मूल आधार बनाउँदै आएको संघले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान दिँदै आएको छ।
आजको बदलिँदो आर्थिक परिदृश्यमा उत्पादन,रोजगारी र लगानीको केन्द्र निजी क्षेत्र नै हो। राज्यको नीति,लगानीको वातावरण र व्यवसायिक सहजतासँग प्रत्यक्ष रूपमा जोडिएको निजी क्षेत्रको सशक्तीकरण बिना दीगो विकास सम्भव छैन भन्ने धारणा पछिल्ला वर्षहरूमा अझ स्पष्ट हुँदै गएको छ।यसै सन्दर्भमा अध्यक्ष सन्देश आचार्यको नेतृत्वमा संघले “निजी क्षेत्र नै विकासको इन्जिन हो” भन्ने दृष्टिकोणलाई मजबुत रूपमा अघि सारेको छ।नेपाल उद्योग वाणिज्य महासंघ तथा लुम्बिनी प्रदेश महासंघसँग आवद्ध यस संघले सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्दै नीति संवाद,लगानी प्रवर्द्धन र व्यवसायिक सहजताका लागि निरन्तर पहल गर्दै आएको छ। संघले स्थानीय स्रोत,साधन,सीप र सम्भावनाको अधिकतम उपयोगमार्फत जिल्लालाई आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्य लिएको छ।प्यूठानमा सडक पूर्वाधार,धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास,स्वास्थ्य सेवा विस्तार,सामाजिक उत्तरदायित्व तथा विपद् व्यवस्थापनका क्षेत्रमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहँदै आएको छ।यी प्रयासहरूले जिल्लाको विकासलाई केवल संरचनात्मक मात्र नभई सामाजिक रूपमा पनि सुदृढ बनाएको छ।
तर,हालको आर्थिक चुनौती,नीति अस्थिरता र बजारमा देखिएको मागको गिरावटले उद्योग–व्यवसाय क्षेत्रमा चुनौती सिर्जना गरेको छ। यस्तो अवस्थामा लगानीमैत्री वातावरण,दीर्घकालीन आर्थिक नीति र कर प्रणालीमा सुधार अपरिहार्य भएको सरोकारवालाहरूको धारणा छ।
अध्यक्ष आचार्यले निजी क्षेत्रलाई केवल करदाताको रूपमा नभई राष्ट्र निर्माणको अभिन्न साझेदारका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिँदै प्यूठानलाई आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सरकार–निजी क्षेत्र सहकार्य अनिवार्य रहेको बताउँदै आउनुभएको छ।

यस्तो छ संघको २८औं वार्षिक साधारण सभामा अध्यक्ष सन्देश आचार्यद्वारा प्रस्तुत मन्तव्य

प्यूठान उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारण सभा समारोहका प्रमुख अतिथि ज्यू विशिष्ट अतिथि ज्यू, विशेष अतिथि ज्यूहरू,नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी ज्यूहरू,नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा पदाधिकारी ज्यूहरू,जिल्ला समन्वय समिति प्यूठानका प्रमुख तथा उप-प्रमुख ज्यू जिल्ला स्थित स्थानीय तहका प्रमुख/अध्यक्ष ज्यूहरू, उप-प्रमुख ज्यूहरू,प्रमुख जिल्ला अधिकारी ज्यू, सवै स्थानीय तहका उपाध्यक्ष ज्यूहरू,संघका पूर्व अध्यक्ष एवं संरक्षक ज्यूहरू,विभिन्न जिल्ला/नगर उद्योग वाणिज्य संघबाट पाल्नुभएका अध्यक्ष एवं प्रतिनिधि ज्यूहरू,सुरक्षा निकायका प्रमुख ज्यूहरू,जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि ज्यूहरू,गैर सरकारी संस्था महासंघ नेपाल प्यूठानका अध्यक्ष एवं प्रतिनिधि ज्यू,नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष एवं पत्रकार ज्यूहरू,बैंक तथा वित्तीय क्षेत्रका प्रमुख एवं प्रतिनिधि ज्यूहरू,संघका सल्लाहकार ज्यूहरू,कार्यसमितिका पदाधिकारी तथा सदस्य ज्यूहरू,वस्तुगत संघका अध्यक्ष ज्यूहरू,संघका एशोसियट सदस्य ज्यूहरू,आजीवन सदस्य एवं संस्थापक ज्यूहरू,विभिन्न उपसमितिका संयोजक तथा सदस्य ज्यूहरू र यस गरिमामय सभामा उपस्थित हुनु भएका आमन्त्रित अतिथि, संचारकर्मी एवं सभासद् ज्यूहरू ।


प्यूठान उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारण सभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्यूठानी उद्योगी व्यवसायीलाई हौसला प्रदान गर्न उपस्थित हुनुभएकोमा प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि एवं आमन्त्रित अतिथि ज्यूहरूमा सर्वप्रथम हार्दिक स्वागत एवं अभिवादन गर्न चाहन्छु ।
उद्योगी व्यवसायीहरूको हकहितको संरक्षण गरी संगठित रूप प्रदान गर्नको लागि २०४८ सालमा प्यूठान व्यापार संघको स्थापना भएको थियो । उद्योगी व्यवसायिहरूलाई संगठित गर्दै २०५२ सालमा प्यूठान उद्योग वाणिज्य संघ नामाकरण गरिएको थियो । प्यूठान उद्योग वाणिज्य संघ २०५६ सालदेखि नेपाल उद्योग वाणिज्य महासंघ र २०७४ सालदेखि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशमा आवद्ध रहेको छ । व्यवसायिक एकता नै निजी क्षेत्रको बल हो, भन्ने मान्यता अनुरूप व्यवसायिक एकतामा जोड दिँदै जिल्लामा रहेका सम्पूर्ण उद्योगी व्यवसायीहरूको हकहितको संरक्षण र सम्वर्द्धन गर्दै जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय, औद्योगिक तथा व्यवसायिक विकासमा निजी क्षेत्रको तर्फबाट नेतृत्व गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक क्षेत्रमा समेत टेवा पुन्याउदै आएको छ । अग्रज उद्योगी व्यवसायीहरूबाट २०४८ सालमा स्थापना भएको प्यूठान उद्योग वाणिज्य संघले आफ्नो स्थापनाकालदेखि नै संस्थागत विकासका साथै जिल्लाको विकासको लागि जोड दिदै आएको छ । भिंग्री-स्वर्गद्वारी सडक, स्वर्गद्वारी बहुउद्देश्यीय धर्मशाला, विजुवार थापाडाँडा खलंगा च्याम्बर मार्ग, स्वर्गद्वारीमा सिँढी निर्माण, निर्माणाधीन शहिद स्मृती पार्क, गणतान्त्रिक खेल मैदानमा प्रवेशद्धार गेट निर्माण, संघको सचिवालयमा मेलमिलाप केन्द्रको स्थापना, ब्लड बैंक संचालनमा सहयोग, प्यूठान अस्पतालमा डायलासिस सेवा संचालनको लागि सहयोग, विपत्तिका समयमा पिडीतहरूलाई तत्काल रासन सामाग्री वितराण्का लागि खाद्य बैंक स्थापना गरिएको तथा अन्य सहयोग वितरण गर्नुका साथै जिल्लाको जनसरोकारका विषयहरूमा पहल एवं पैरवी गर्दै आएको छ ।
यसका साथै संघले आगामी दिनहरूमा उद्योगी व्यवसायी सदस्यहरूलाई मद्दत पुऱ्याउनु, व्यवसायीहरूलाई परेको समस्याहरूमा सहजिकरण गर्नु, पर्यटकिय क्षेत्रहरूको पहिचान तथा प्रचारप्रसार गर्नु, जिल्लामा उत्पादित बस्तुहरूको बजारीकरण गर्नु, बजार क्षेत्रहरूमा सचिवालय भवन निर्माण गर्न पहल गर्नु, प्रदर्शनी स्थलको निर्माण गर्नु, सरोकारवाला निकायहरू सहयोग तथा समन्वयमा कोशेली घर निर्माण गरि संचालनमा ल्याउनु लगायतका विषयहरूलाई प्राथमिक विषयका रूपमा अगाडी बढाउने छौ ।
जिल्लामा रहेका स्रोत र साधनको परिचालन गरि पूँजीमा परिमार्जन गरि श्रम, सीप, प्रविधि र पूँजीको परिचालन मार्फत यस क्षेत्रको विकाससँगै देशको अर्थतन्त्रमा समेत योगदान पु-याउन सकिन्छ भन्ने हामीले विश्वास लिएका छौ ।
देशमा रोजगारी सिर्जना,उत्पादन बृद्धि,राजश्व संकलन, निर्यात विस्तार तथा समग्र आर्थिक समृद्धिको मुख्य आधार नै निजी क्षेत्र हो। त्यसैले राज्यले निजी क्षेत्रलाई केवल करदाताको रूपमा मात्र नहेरी राष्ट्र निर्माणको एक अपरिहार्य र अभिन्न सारथीको रूपमा स्वीकार गर्दै नीतिगत तथा संरचनागत सुधार गर्न आवश्यक छ।वर्तमान समयमा विभिन्न आन्तरिक तथा बाह्य आर्थिक संकुचनका कारण समग्र निजी क्षेत्र तथा उद्योगी व्यवसायीहरूको मनोबल निकै कमजोर बनेको छ । बैंकको ब्याजदर न्यून अवस्थामा भएता पनि उपभोग तथा मागमा आएको तीव्र गिरावटले उद्योग व्यवसायहरू बन्द हुने, न्यून क्षमतामा सञ्चालन हुने तथा लगानी नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ ।
यस्तो संवेदनशील अवस्थामा निजी क्षेत्रको घट्दो मनोबल उच्च बनाउन सरकारको तर्फबाट विशेष अभिभावकत्व, व्यवहारिक नीति, कर तथा बैंकिङ्ग सहुलियत र एमआरपी सम्बन्धी स्पष्ट नीति तथा ठोस राहत प्याकेजको अपेक्षा गर्दछौ । सरकारले हरेक पटक नीति परिवर्तन गर्नाले उद्योगहरू धरासायी भईरहेका छन् । लाखौको लगानी र सम्पूर्ण संरचना निर्माण भईसकेपछि अचानक नीति बदलिँदा उद्योगहरू बन्द हुने अवस्था आउनु दुर्भाग्यपूर्ण हो। कम्तिमा एक दशकसम्म परिवर्तन नहुने गरी दीर्घकालिन र स्पष्ट आर्थिक नीति तर्जुमा गरिदिनुपर्दछ । लगानीमैत्री नीति र कानुन निर्माण गर्दा संघीय सरकार प्रदेश सरकार र स्थानीय तहहरू बिच प्रभावकारी समन्वय हुनु जरूरी छ । दोहोरो कर वा प्रशासनिक झन्झटको सामना गर्न नपरोस। उद्योग व्यवसाय बच्यो भने मात्र देशको अर्थतन्त्र बच्छ त्यसैले राज्यले जुनसुकै समस्याको समाधान खोज्दा उद्योगी व्यवसायीहरू संकटमा नपर्ने र नीजी क्षेत्रको लगानी सुरक्षित हुने गरी न्यायोचित समाधान निकाल्न हामी हार्दिक अनुरोध गर्दछौ ।
करको दर निर्धारण गर्दा स्थानीय व्यवसायको प्रकृति र वर्तमान आर्थिक शिथिलतालाई ध्यानमा राखि व्यवहारिक र प्रोत्साहनमुलक बनाईनुपर्छ । वैज्ञानिक कर प्रणालीले मात्र राजश्वको दायरा बढाउन माग गर्दछ । समय समयमा गरिने बजार अनुगमनलाई व्यवसायीलाई आत‌ङ्कित पार्ने शैलीमा भन्दा पनि सचेतनामुलक र सुधारात्मक बनाउन उद्योग वाणिज्य संघसँग सहकार्य गरिनुपर्दछ ।

निजी क्षेत्रको नेतृत्वमा उद्योग व्यवसाय क्षेत्रमा लगानीमैत्री वातावरण बनाउदै आर्थिक सामाजिक रूपान्तरणबाट देशको समग्र क्षेत्रको विकासमा सहभागी एवं टेवा पुन्याउन आफ्नो तर्फबाट प्रयास गरिरहेका छौ। संघीय सरकार प्रदेश सरकार र स्थानीय तहहरूले निजी क्षेत्रलाई सदैव विश्वासमा लिएर अगाडी बढ्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो । शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग तथा व्यवसायीक क्षेत्रमा काम गर्ने तथा सरोकार राख्ने सबैलाई एक्यवद्धता गराई दिर्घकालिन कार्यनीतिको योजना तर्जुमा र कार्यान्वयन गर्नु जरूरी छ।जिल्ला मित्र रहेका उद्योगी व्यवसायीहरूलाई जिम्मेवारपूर्ण सामाजिक उत्तरदायित्व सहितको व्यवसाय गर्न उत्प्रेरित गर्दै प्यूठान जिल्लालाई आर्थिक र सांस्कृतिक रूपमा समृद्ध समुन्नत बनाउदै आर्थिक विकासमा टेवा पुऱ्याउनका लागि हामी तत्पर रहेका छौं। साथै प्यूठान जिल्ला तथा राष्ट्रको विकासको लागि प्यूठान उद्योग वाणिज्य संघले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूलाई सहयोग तथा हातेमालो गरि अगाडी बढ्न प्रतिबद्ध छौं।

प्रमुख अतिथि,अतिथि एवं सभासद् ज्यूहरु

अन्त्यमा प्यूठान उद्योग वाणिज्य संघको मिति २०८१ चैत्र २ गते भएको २७औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट सर्वसम्मत नेतृत्व प्रदान गर्ने जिम्मा दिनुहुने सम्पूर्ण सभासद् ज्यूहरू लगायत उक्त वातावरण तयार गर्न सहजिकरण गर्नुहुने सम्पूर्ण अग्रज व्यक्तित्व प्रति विशेष सम्मान व्यक्त गर्दछु । १३ औं कार्यकालको यो पहिलो वार्षिक साधारण सभामा हामी निर्वाचित भईसकेपछि संघले गरेका गतिविधिहरू र आगामी वर्षमा गरिने प्रस्तावित कार्यक्रमहरू महासचिवको प्रतिवेदनमा तयार गरेका छौं।aसंघका विभिन्न गतिविधिहरू संचालन गर्नको लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याउनु हुने नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, जिल्ला समन्वय समिति प्यूठान, जिल्लाका ९ वटै स्थानीय तहहरू,राजनैतिक दलहरू,जिल्ला प्रशासन,सुरक्षा निकाय, अग्रज उद्योगी व्यवसायी तथा सभासदहरू,पत्रकार महासंघ,सरकारी कार्यालय तथा संघ संस्था,सञ्चारकर्मीहरू लगायत सम्पूर्ण महानुभावहरू प्रति हृदयदेखि आभार व्यक्त गर्दै यस संघको गरिमामय २८ औ वार्षिक साधारणमा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद।