विद्यालयको नाममा व्यक्तिगत सामानको बिल : अध्यक्ष भण्डारीले भने–"मानवीय त्रुटिलाई अतिरञ्जित गरियो”

विद्यालयको नाममा व्यक्तिगत सामानको बिल : अध्यक्ष भण्डारीले भने–"मानवीय त्रुटिलाई अतिरञ्जित गरियो”

प्युठान,केही दिनयता सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा लुप्लुङ्ग माध्यामिक विद्यालय व्यवस्थापन समिति सँग जोडिएको सामग्री खरिद प्रकरणलाई लिएर चर्चा बढेपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले आफ्नो फेसबुक पेज सामाजिक सन्जालमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
भण्डारीले विद्यालयका लागि आवश्यक रंगरोगन सामग्री अर्डर गर्ने क्रममा आफ्नो व्यक्तिगत प्रयोजनका सामग्रीसमेत सोही फर्मबाट अर्डर गरिएको र बिलिङका क्रममा मानवीय त्रुटिवश व्यक्तिगत सामग्रीसमेत विद्यालयकै नाममा बिल जारी भएको बताएका छन्।
उनका अनुसार उक्त सामग्रीको भुक्तानी विद्यालयबाट नभएको र व्यक्तिगत सामग्रीको सम्पूर्ण जिम्मेवारी आफ्नै रहेको छ। “मैले कुनै गलत मनसायका साथ विद्यालयको आर्थिक अपचलन गर्ने वा अनियमितता गर्ने कार्य गरेको छैन,” भण्डारीले स्पष्ट पारेका छन्।
भण्डारीले सम्बन्धित विक्रेतासँग समझदारी भइसकेको र केही दिनभित्रै व्यक्तिगत सामग्रीको भुक्तानी गरिने जानकारी दिएका छन्। उनले भुक्तानी प्रक्रियामा ढिलाइ हुनुमा पारिवारिक शोक र स्वास्थ्यसम्बन्धी आकस्मिक समस्याहरू कारण बनेको उल्लेख गरेका छन्।
उनले हालै परिवारमा २४ वर्षीय भतिज गुमाउनु परेको तथा सामाजिक सञ्जालमा विषय चर्चामा आइरहेका बेला जेठी भाउजू चट्याङको प्रभावबाट घाइते भएपछि उपचारका लागि बाहिर रहनुपरेको बताएका छन्।
विद्यालयप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भण्डारीले आफ्ना २ छोरा र १ छोरी समेत सोही विद्यालयमा अध्ययनरत रहेको उल्लेख गर्दै विद्यालयको हितविपरीत कुनै गतिविधि गर्न नसक्ने बताएका छन्।
“म विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि निरन्तर सक्रिय छु। प्रदेश सरकार,स्थानीय सरकार तथा अन्य निकायसँग समन्वय गरी विद्यालय सुधारका लागि काम गरिरहेको छु,”उनले लेखेका छन्।
भण्डारीले केही अनलाइन माध्यमले सत्यतथ्य नबुझी तथा सम्बन्धित पक्षको धारणा नलिई एकतर्फी ढंगले समाचार सम्प्रेषण गरेकोप्रति असन्तुष्टि जनाएका छन्।साथै विद्यालयमा भएका सकारात्मक सुधारका विषयमा समेत तथ्यसहित सूचना सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन्।
अन्त्यमा उनले काम गर्ने क्रममा हुन सक्ने मानवीय त्रुटि सच्याउँदै अझ पारदर्शी,उत्तरदायी र प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै सामाजिक सञ्जालमा अभिव्यक्ति दिनुअघि सम्बन्धित पक्षसँग तथ्य बुझ्न सबैमा अनुरोध गरेका छन्।