मल्लरानी–३ ले देखायो उदाहरण : बाटोमै पुग्यो सामाजिक सुरक्षा भत्ता

मल्लरानी–३ ले देखायो उदाहरण : बाटोमै पुग्यो सामाजिक सुरक्षा भत्ता

राम बहादुर बिश्वकर्मा 
प्युठान,“वृद्धवृद्धाले सामान्य सेवा लिन पनि दुःख पाउनु हुँदैन, सकेसम्म सेवा नागरिककै पहुँचमा पुग्नुपर्छ,” भन्ने सोचलाई व्यवहारमा उतार्दै मल्लरानी गाउँपालिका वडा नं. ३ ले सामाजिक सुरक्षा भत्ता वितरणलाई सेवाग्राहीमैत्री बनाउँदै आएको छ। वितरण केन्द्रसम्म पुग्न नसकेका ज्येष्ठ नागरिकलाई समेत बाटोमै भत्ता उपलब्ध गराइएपछि यो अभ्यास स्थानीय स्तरमा उदाहरणीय बनेको छ।
अति अशक्तता भएका व्यक्ति,विधवा,दलित बालबालिका तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि उपलब्ध गराइने सामाजिक सुरक्षा भत्ता वडाका दुई स्थानबाट वितरण भइरहेको छ।सेवाग्राहीलाई टाढा धाउन नपरोस् र आफ्नै बस्ती नजिकै सेवा पाउन सकून् भन्ने उद्देश्यले वडा कार्यालय,नेपाल प्रहरी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक खलंगा शाखाको सहकार्यमा गाउँमै पुगेर भत्ता वितरण गरिएको हो।ग्रामीण भेगमा बसोबास गर्ने ज्येष्ठ नागरिकका लागि मौसम, दूरी र शारीरिक अवस्थाले सेवा लिन कठिन हुने भएकाले वडाले सेवा प्रवाहलाई लचिलो बनाएको छ। 
सोमबार अचानक परेको मुसलधारे वर्षाले वितरण केन्द्रसम्म पुग्न नपाएका केही ज्येष्ठ नागरिकलाई बाटोमै सेवा दिइयो।जेविन्डाँडाका ८४ वर्षीय डिलबहादुर घर्ती चौरपानी सेवा इकाई पुग्न नसकी बाटोछेउको एक सहकारीमा आश्रय लिएर बसेका थिए। अत्यावश्यक कामका लागि भत्ता आवश्यक रहेको बताएपछि गाडी रोकेर बैंकका कर्मचारीले उनलाई त्यहीँ रकम उपलब्ध गराए।
वडा अध्यक्ष नोमराज पौडेलका अनुसार नागरिकको आवश्यकताअनुसार तत्काल निर्णय लिनु नै स्थानीय सरकारको वास्तविक जिम्मेवारी हो।
“सेवा लिन नागरिकलाई दुःख दिनु हुँदैन भन्ने हाम्रो स्पष्ट सोच हो।वृद्धवृद्धा र अशक्तलाई सहजता दिनु नै हाम्रो प्राथमिकता हो,” उनले भने।
उनका अनुसार कतिपय अवस्थामा भौगोलिक अवस्था,मौसम र स्वास्थ्य समस्याका कारण सेवाग्राही केन्द्रसम्म पुग्नै नसक्ने अवस्था आउँछ। यस्ता परिस्थितिमा सेवा रोक्नुभन्दा विकल्प खोज्नु नै मानवीय र व्यावहारिक समाधान हो।
यस्तै,७५ वर्षीया चित्रादेवी शर्मा पनि वर्षा र हावाहुरीका कारण वितरण स्थलसम्म पुग्न नसकी बाटोमै रोकिएकी थिइन्। भोलिपल्ट महिला समूहमा रकम बुझाउनुपर्ने भएकाले उनी चिन्तित थिइन्। समस्या सुनेपछि जनप्रतिनिधि,बैंक र प्रहरीको समन्वयमा उनलाई पनि बाटोमै भत्ता उपलब्ध गराइएको थियो।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक खलंगा शाखाका प्रमुख विञ्जुन बस्नेतले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज र नागरिकमैत्री बनाउन गाउँमै पुगेर सेवा दिइएको बताए।उनका अनुसार,“सेवा लिन नागरिकले सास्ती भोग्नु नपरोस् भन्ने हाम्रो उद्देश्य हो।सेवा जहाँ आवश्यकता छ, त्यहीँ पुर्‍याउने प्रयास गरेका छौं।”
स्थानीय सरकार,बैंक र सुरक्षा निकायको समन्वयमा भइरहेको यो अभ्यासले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप प्रभावकारी बनाएको छ। स्थानीयवासीका अनुसार यस्तो सेवामुखी अभ्यासले वृद्धवृद्धाको विश्वास बढाउनुका साथै राज्यप्रति अपनत्वको भावना पनि बलियो बनाएको छ।
वर्षा, हावाहुरी र कठिन भौगोलिक अवस्थाबीच पनि बाटोमै सेवा पाउँदा वृद्धवृद्धाको अनुहारमा देखिएको सन्तुष्टि केवल राहतको अनुभूति मात्र होइन,सेवामुखी शासनको वास्तविक चित्र पनि बनेको छ।