७२ वर्षको पर्खाइपछि घरमै पाइन नागरिकता,अम्मि बुढा खुशीले मख्ख

७२ वर्षको पर्खाइपछि घरमै पाइन नागरिकता,अम्मि बुढा खुशीले मख्ख

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ५ ढाडछापका ७२ वर्षीया अम्मी बुढाका लागि यो दिन जीवनकै विशेष थियो।उनी आफ्नै घरमै बसेर नागरिकता प्राप्त गर्न पाएकी थिइन्।केही कागजको प्रमाणपत्र भन्दा बढी,यो दस्तावेज उनको जीवनमा सम्मान,अधिकार र सुरक्षा सुनिश्चित गर्ने ठूलो उपलब्धि थियो।
प्युठान नगर प्रमुख बिष्णु योगि,जिल्ला प्रशासनका अधिकृत कृष्ण थापा,तेज बहादुर विश्वकर्मा र प्युठान वडा नम्बर ५ वडा अध्यक्ष नन्दराम पुन लगायतको उपस्थितिमा अम्मि बुढालाई नागरिकता प्रदान गरिएको प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमनराज श्रेष्ठले जानकारी दिनुभयो।नगर प्रवक्ता सुमनराज श्रेष्ठका अनुसार, “आज पनि समाजमा धेरै नागरिकहरूले डर,लाज वा चेतनाको अभावका कारण नागरिकता लिन अप्ठ्यारो महसुस गर्छन्। त्यसैले अझै सामाजिक चेतना आवश्यक छ।”
नागरिकता प्राप्त गर्ने क्षणमा अम्मी बुढाको अनुहारमा देखिएको खुशी र आत्मगौरवले उपस्थित सबैको मन छोयो। उनी केवल प्रमाणपत्र पाएकी छैनन्,उनी समाजमा आफ्नो पहिचान र अधिकारका साथ उभिएकी छिन्।
घरमै पुगेर नागरिकता प्रदान गर्ने यो पहलले प्रशासन र स्थानीय नेतृत्वको जनतासँगको प्रत्यक्ष सम्पर्क र प्रतिबद्धतालाई पनि देखाउँछ। यसले केवल एक व्यक्तिको खुशीको कथा मात्रै होइन,समाजमा सकारात्मक सन्देश फैलाउने उदाहरण बनेको छ।
सन्देश स्पष्ट छ-नागरिकता मात्र अधिकार होइन,सम्मान र जीवनको सुरक्षा पनि हो र हरेक नागरिकले यसलाई सहजै प्राप्त गर्न पाउनु पर्छ।