बालबालिकामा नैतिक शिक्षा र खुशी सम्बन्धि प्रशिक्षण 

राम बहादुर बिश्वकर्मा 
प्युठान,बाल बिध्या माध्यामिक बिध्यालय मरन्ठाना मजुवामा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा कक्षा ८ देखि १० सम्मका बालबालिकालाई “नैतिकता सँग खुशी र सफलता” सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ।प्रशिक्षण कार्यक्रममा बालबालिकालाई जीवनमा नैतिक मूल्य,सकारात्मक सोच,आत्मविश्वास,खुशी पाउने उपाय र समाजमा जिम्मेवार नागरिक बन्ने तरिकाबारे विस्तृत जानकारी दिइएको थियो।प्रशिक्षक ब्रह्माकुमारी इश्वरिय बिश्वबिध्यालय राजिब प्रशिक्षण केन्द्र राप्तिका सचिब शिवलाल महतरा रहनुभएको थियो। प्रशिक्षक महतराले बालबालिकालाई नैतिक शिक्षाको अभावले मानिसलाई कुकर्मतर्फ डोर्याइरहेकोले सही मार्गनिर्देशन,सदाचार र जीवन मूल्यहरूको जानकारीले मात्र मानिसलाई जिम्मेवार,सकारात्मक र समाजमा परिबर्तन गर्न सक्ने बताउनुभयो। कार्यक्रममा बालबालिकालाई “आफैले आफैलाई बदल्न सक्छ” भन्ने सन्देश दिइएको थियो,जसले उनीहरूमा आत्मविश्वास र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने उद्देश्य राखेको थियो।साथै,प्रशिक्षणमा खुशी र मानसिक सन्तोषका लागि अत्याधिक अपेक्षा राख्नु बाधक हुनसक्ने कुरा पनि जोड दिइएको थियो। त्यस्तै प्रशिक्षणमा बालबालिकालाई जीवनमा सन्तुलन कायम राख्न,नैतिक मूल्यको पालन गर्न र समाजमा योगदान पुर्‍याउन प्रेरित गरिएको थियो।
बिध्यालयका प्रध्यानाध्यापक केशु गिरीले यस्तो प्रशिक्षणले बालबालिकामा नैतिक मूल्य,जिम्मेवारी,सकारात्मक दृष्टिकोण र समाजहितको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।उहाँका अनुसार यस्तो प्रशिक्षण कार्यक्रमले बालबालिकालाई अनुसासन,जिम्मेवार,सकारात्मक र समाज परिबर्तनको दिशामा  ठुलो योगदान पुर्‍याउनेछ। 
प्रशिक्षणको अन्त्यमा बालबालिकाले आत्ममूल्यांकन गर्दै जीवनमा नैतिकता,सदाचार र खुशी प्राप्त गर्ने प्रतिवद्धता जनाएका थिए।