परिवारको योगदान: काली बहादुर के.सी.को स्मृतिमा दीर्घायु सहकारीलाई नि:शुल्क जग्गा

परिवारको योगदान: काली बहादुर के.सी.को स्मृतिमा दीर्घायु सहकारीलाई नि:शुल्क जग्गा

राम बहादुर बिश्वकर्मा
प्युठान,दीर्घायु कृषि सहकारी संस्थाले आफ्नै भवन निर्माणका लागि नयाँ ढोका खोलेको छ।संस्थाका संस्थापक शेयर सदस्य स्वर्गीय कालीबहादुर केसीको सम्झनामा उनका धर्मपत्नी कमला केसी र छोराहरू जोगेन्द्र तथा विकास केसीले प्युठान नगरपालिका–९,बाजाबारीस्थित मुख्य सडकसँग सटेको आवश्यक जग्गा उपलब्ध गराएका छन्। यस कदमले सहकारी संस्थाको संरचनात्मक विकासमा नयाँ आयाम थपेको छ।
सहकारीका सदस्यहरूले पनि उत्साह व्यक्त गर्दै भने,“यस भवन निर्माणपछि हाम्रो गतिविधि थप व्यवस्थित हुनेछ। हामी आफ्ना खेतबारीमा व्यावसायिक खेती गरेर आर्थिक रूपमा सशक्त बन्न सक्नेछौं। सहकारीले हामीलाई मार्गदर्शन र समर्थन दिने छ।”
दीर्घायु कृषि सहकारी संस्थाको यो पहल केवल भौतिक संरचनामा सीमित छैन,तर संस्थाका संस्थापक कालीबहादुर केसीको योगदानलाई सम्झने र उहाँले देखाएको मार्गमा अघि बढ्ने प्रतिबद्धताको पनि प्रतीक बनेको छ। नयाँ भवन र संरचना निर्माणपछि, संस्थाले सदस्यहरूको आर्थिक सशक्तिकरण,कृषि विकास र सहकारी क्षेत्रको  निरन्तर योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
यसि त काली बहादुर केसीको नाममा शुरु भएको यो पहल केवल भवन निर्माण मात्र नभएर स्थानीय कृषक समुदाय र युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ।
अध्यक्ष दिपेन्द्र के.सि ले कालीबहादुर केसीको योगदानलाई उच्च मूल्याङ्कन गर्दै भने,“काली बहादुर ले जीवनभर कृषि र सहकारी क्षेत्रको विकासमा योगदान पुर्‍याउनुभएको थियो।उहाँले देखाएको मार्गमा हामी सधैं अगाडि हिँड्नेछौं। उहाँका सपनाहरू पूरा गर्न सहकारी निरन्तर लाग्नेछ।”
सहकारीले भवन निर्माणमार्फत आफ्नो गतिविधिलाई अझ व्यवस्थित र दिगो बनाउन योजना बनाएको छ। अध्यक्ष के.सी ले कार्यक्रममा सबै सदस्यहरूलाई सम्बोधन गर्दै भन्नुभयो,“अब हामी सिँचाइ र उपकरणमा सहज पहुँच पाइसकेका छौं।अब मुख्य ध्यान उत्पादन र व्यावसायिक खेतीतर्फ केन्द्रित गर्नु पर्नेछ। जसले आफ्नो खेतबारीमा मौसमी र बेमौसमी तरकारी,फलफूल र अन्य खेती व्यावसायिक रूपमा गर्नेछन्,सहकारीले आवश्यक ऋण र लगानी उपलब्ध गराउनेछ।”
यसैबीच सस्था १० औं बार्षिक साधारणसभाको अबसरमा एक दर्जन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।यसले दीर्घायु कृषि सहकारी संस्थाले शिक्षा,समुदाय र कृषक विकासका क्षेत्रमा पनि आफ्नो योगदान पुर्‍याइरहेको देखाउँछ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले सरकारले कृषिलाई बजेट विनियोजन गर्दा मात्र प्राथमिकतामा राख्ने तर योजनाहरू बनाउँदा भौतिक पूर्वाधारमा मात्रै चासो दिने कारण कृषकहरू पछाडि परेको बताउनुभयो।
उहाँका अनुसार,कृषकलाई समूहमा जोडेर सामूहिक लगानी गरिएमा उनीहरू आत्मनिर्भर बन्न सक्ने छन्। त्यसका लागि कृषकलाई पारिश्रमिक दिनुपर्ने आवश्यकता रहेको श्रेष्ठले बताउनुभयो।
साथै, कृषकलाई आधुनिक उपकरण र प्रविधिमैत्री बनाएर रोजगार उन्मुख बनाइएमा उत्पादनको गुणस्तर बढ्ने,खेती छिटो छरितो हुने र आम्दानीमा वृद्धि हुने उहाँले जोड दिनुभयो।प्युठान नगरपालिका–९ का वडा अध्यक्ष बिकास के.सि.ले दीर्घायु कृषि सहकारी संस्थाको कृषि क्षेत्रमा उल्लेखनीय योगदानप्रति खुसी व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो,“बचत तथा ऋण सहकारी संस्था र दीर्घायु कृषि सहकारीबीचको सहकार्यले स्थानीय कृषकहरूलाई उत्पादन र व्यावसायिक खेतीमा नयाँ अवसर दिएको छ। यस्तो सहकार्यले कृषकहरूलाई आत्मनिर्भर बन्न र कृषि क्षेत्रमा व्यवसायिक दृष्टिकोण अपनाउन प्रेरित गर्दैछ।”
वडा अध्यक्ष के.सि.ले सहकारीका सदस्यहरूलाई अझ सक्रिय र समर्पित भएर काम गर्न प्रेरित गर्नुभयो। उहाँका अनुसार, स्थानीय सहकारी र कृषि समूहहरूले मिलेर काम गर्दा उत्पादनको गुणस्तर, बजार पहुँच र आम्दानीमा सकारात्मक प्रभाव पर्नेछ।
त्यस्तै राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रम कार्यान्वयन इकाई प्युठानका प्रमुख चुमान सिंह गिरीले कृषिलाई यान्त्रीकरण र आधुनिकरण गर्न कार्यालयबाट निरन्तर सहयोग भइरहेको बताउनुभयो।
गिरीका अनुसार,कार्यालयले सिँचाइकुलो निर्माण,मल–बिउ वितरण,उपकरण खरिद तथा वितरण लगायत साना योजनाहरूमा उल्लेखनीय सहयोग पुर्‍याएको छ। उहाँले सहकारीलाई व्यवसायिक रूपमा उत्पादन गर्दै अगाडि बढाउनका लागि सबै सदस्यहरूले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।