राम बहादुर बिश्वकर्मा
प्यूठान,नौबहिनी गाउँपालिकामा ३ वर्ष ८ महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाली प्रभावकारी रूपमा सेवा प्रदान गरेका शिव पौडेलको आज एक कार्यक्रम बिच विदाई गरिएको छ। पौडेलको हालै आएको सरुवा अनुसार अब उहाँ सिन्धुलीको सुनकोसी गाउँपालिकामा कार्यरत हुनुहुनेछ।
गाउँपालिकाले आयोजना गरेको औपचारिक कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी,स्थानीयवासी र विभिन्न सरोकार–वाला व्यक्तिहरूको उपस्थितिमा पौडेललाई सम्मानपत्र,माला र शुभकामनासहित विदाइ गरिएको हो।
विदाई कार्यक्रममा बोल्दै पालिका अध्यक्ष दिल बहादुर थापाले पौडेलले कार्यकालभरि प्रशासनिक सुधार,सेवा–प्रवाहको सहजता,पारदर्शिता र योजनाको प्रभावकारी अनुगमनमा उल्लेखनीय योगदान पुर्याएको बताए।
अध्यक्ष थापाले भन्नुभयो, “पौडेलको नेतृत्वमा नौबहिनी गाउँपालिकाको प्रशासनिक कार्यशैलीमा महत्वपूर्ण सुधार आएको छ। उहाँको अनुशासन, इमानदारी र जनमैत्री व्यवहारले यहाँको कार्यसंस्कृतिमा सकारात्मक परिवर्तन ल्यायो।”
त्यस्तै कर्मचारीहरूले पौडेलको सहज पहुँच,सहयोगी व्यवहार र निर्णय क्षमताको प्रशंसा गर्दै उहाँसँग काम गर्ने अवसर आफूहरूका लागि सिकाइको विषय रहेको बताउनुभयो।
कार्यक्रममा आफ्नो मन्तव्य दिँदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले नौबहिनीमा बिताएका दिनहरूलाई जीवनभर स्मरणीय रहेको बताउनुभयो।
उहाँका अनुसार“जनप्रतिनिधि,कर्मचारी र स्थानीयवासीहरूको साथ र सहयोग नै मेरो कामको उर्जा थियो। नयाँ जिम्मेवारीमा जाँदैछु,तर नौबहिनीले दिएको विश्वास म कहिल्यै बिर्सिँदिन।”
सुनकोसीमा नयाँ जिम्मेवारी
पौडेल अब सुनकोसी गाउँपालिका,सिन्धुलीमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुनुहुनेछ।नौबहिनी गाउँपालिकाले उहाँको नयाँ कार्यक्षेत्रका लागि सफलताका शुभकामना दिएको छ।
प्रतिक्रिया राख्नुहोस्