राम बहादुर विश्वकर्मा
प्युठान,साझपखको समय थियो।बजार सुस्ताउँदै थियो,आकाश रातो रंगले रंगिँदै थियो।मानिसहरू आ-आफ्नो घर फर्किन लाग्दा,बिजुवार बजारमा एकजना बालक चुपचाप हिँडिरहेका थिए।नाङ्गो खुट्टा,च्यातिएको लुगा,गहिरो उदासीले भरिएको अनुहार अनि आँखामा नबोलेको चिच्याहट।न उनीसँग कुनै गन्तव्य थियो, न शब्दहरू।तर उनको आँखाहरू कराउँदै थिए "म पीडामा छु!"
उनी थिए,रितिके सुनार, अन्दाजी १४/१५ वर्ष।
उनको शरीरमा चोटका डोबहरू थिए,अनुहारमा थकान र जीवनप्रतिको निराशा।उनले केही बोलेनन्,तर उनका आँखाले भने धेरै कुरा भनिरहेका थिए।उनका आँखामा बोल्न नसकिएको चिच्याहट थियो,जुन सायद कसैले सुनेको थिएन।सडकमा उभिएको त्यो शरीर शारीरिक मात्र होइन,मानसिक थकानको मूर्त रूप जस्तै लाग्थ्यो।
तर जीवनका हरेक चोट र पीडाले उनको अनुहारमा भाषा बनाएको थियो।थकाइ,भोक,अपमान,एक्लोपन-सबै एकसाथ उनका आँखामा ठोकिन्थे। त्यस पीडालाई धेरैले देखेनन्, तर बिजुवारका एक युवा व्यवसायी सुरज पाण्डेले त्यो मौन चिच्याहट सुने।
सुरजले बालकलाई रोक्दै सोधे,"तिमीलाई मद्दत चाहिन्छ?"
एक छिनको मौनतापछि बालकले हल्का टाउको हल्लाए।उनले आफ्नो नाम "रितिके सुनार"भने। सुरजको मनमा केही चम्कियो-"म केही गर्न सक्छु,म गर्नै पर्छ!"
सुरज पाण्डेले बालकलाई नजिकैको निमतारा पोलिक्लिनिक पुर्याए, जहाँ डा.सुवास जिसी ले तुरुन्तै रितिकेको उपचार सुरु गरे।उनका शरीरमा देखिने घाउहरू मात्र होइन,मानसिक अवस्था पनि गम्भीर थियो।
डा.सुवासले भने,"उहाँको अवस्था गम्भीर छ।तर उपचार, माया र निरन्तर सहाराले सुधार सम्भव छ।"
उपचार सुरु भएपछि डा.सुवासले बालकलाई नयाँ चप्पल किनेर दिए-सानो कुरा हो जस्तो लाग्न सक्छ, तर त्यो बालकको आँखामा एक झल्को "आशा" देखिएको थियो। त्यो नै सुरुवात थियो-जीवनको नयाँ अध्यायको।
यद्यपि,बालकका आफन्तहरूबारे केही जानकारी छैन।यसैले सुरज पाण्डेले तत्कालै इलाका प्रहरी कार्यालय बिजुवारलाई खबर गरे।प्रहरी स्रोतका अनुसार,"सडकमा भेटिने बालबालिकालाई जबर्जस्ती नियन्त्रणमा लिने कानुनी अधिकार छैन। सेफ हाउस छैन,संरक्षणको जिम्मा स्थानीय सरकारको हो।"
प्रहरी सहकार्य गर्न तयार रहेको बताइयो,तर स्थानीय तहबाट सक्रियता आवश्यक छ।
जिम्मेवारीको सवाल: समाज र राज्य कता छ ?
रितिकेको कथा एउटा बालकको मात्र होइन-यो हजारौं सडक बालबालिकाहरूको प्रतिनिधि आवाज हो,जसले राज्य र समाजको सामूहिक बेवास्तालाई उजागर गर्छ।
देशभर बेवारिसे,असहाय बालबालिकाको संख्या बढ्दो छ। तर संविधान र बाल अधिकार ऐनले स्पष्ट रूपमा संरक्षणको ग्यारेन्टी गरे पनि,स्थानीय सरकारहरूको भूमिका अत्यन्तै कमजोर देखिन्छ।
सेफ हाउस छैन भन्ने बहानामा ती निर्दोष बालकहरूको भविष्य बिर्सन सकिन्न।
रितिके सडकमा रोइरहेका छन्। न त चिच्याएर,न त माग गरेर-उनी मौन छन्।
तर त्यो मौनता गहिरो चिच्याहट हो,जसले हामी सबैलाई प्रश्न गर्छ:
"के हामीले अरूको पीडामा आँखा चिम्लिरहने हो?सडकमा यस्ता रितिकेहरू कति होलान्?सरकार किन चुप छ?के बाल अधिकार केवल कागजमा सीमित रहने हो?
के सुरज र सुवास जस्ता केही मान्छेले मात्र यो समाजको बोझ उठाउने हो?"
सेफ हाउस छैन भन्नु समाधान होइन, बहाना हो।
समाधान-सुरज र सुवासले देखाएजस्तो-मानवता,इच्छाशक्ति र जिम्मेवारीमा छ।
रितिके जस्ता बालकहरू अपराधी होइनन्। उनीहरूको हालत हाम्रो सामाजिक बेवास्ताको परिणाम हो।
देशभर यस्ता रितिकेहरू हजारौं छन् सडकमा,बसपार्कमा,मन्दिर छेउ, पुलमुनी।
तर,हाम्रो नजर कहिल्यै पुग्दैन।हाम्रो मौनता उनीहरूको मौन चिच्याहटजस्तै भयावह हुँदै जान्छ।
सेफ हाउस छैन भनेर आँखा चिम्लिने?
कानूनको कमजोरी भन्दै कर्तव्य बिर्सने?
कागजमा बाल अधिकार लेखिए पनि,कार्यान्वयनमा शून्य ?
रितिके जस्ता बालकहरूको पीडा उनीहरूको मात्र होइन,हाम्रो समाजको चरित्रको परीक्षण हो।
प्रतिक्रिया राख्नुहोस्