प्युठान नगरपालिकामा जिल्लाकै पहिलो किसान सञ्जाल गठन

राम बहादुर बिश्वकर्मा

प्युठान,प्युठान नगरपालिकामा जिल्लाकै पहिलो किसान सञ्जाल गठन भएको छ।
सोमबार प्युठान नगरपालिकाले एक कार्यक्रम सहित किसान र कृषि व्यवसायीहरुको नगरस्तरीय संजाल गठन गरिएको हो।
संजालको संयोजकमा महेश कुवर सहित २१ सदस्यीय संजाल गठन गरिएको बताइएको छ। नव गठित संजालमा १० वटा वडा बाट २/२ जना किसान रहनुभएको छ। 
सञ्जालको फोकल पर्सनको रुपमा कृषि शाखा प्रमुख अजित पौडेल रहनुभएको छ।
कार्यक्रममा प्युठान नगर पालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन श्रेष्ठले नगरपालिका,कृषि शाखा,वडा कार्यालय तथा किसानबीचमा पुलको काम गर्ने गराउने उद्देश्यका साथ किसान सञ्जाल गठन शुरु गरिएको बताउनुभयो।किसानको समस्या,गुनासो र आवाजलाई वडा,पालिकादेखि केन्द्रसम्म पुर्याउने र माथिल्लो निकायको योजना तथा कार्यक्रमलाई तल्लो तहमा पुर्याउने माध्यमको रुपमा कृषक सञ्जाल गठन शुरु गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
कृषि क्षेत्रमा लागेका सबै व्यवसायीको प्रतिनिधित्व हुने गरी संजाल गठन गरिएकाले कृषि तथा किसानका समस्या पहिचान,समाधान,सरकारी योजना कार्यान्वयन र किसानहरुबीच एकीकृत भावनाको विकास गर्न र व्यवसायमा आइपर्ने समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार नगरका १० वटै वडामा सन्जाल गठन गरिएको छ सञ्जालले कृषि सम्बन्धी कार्यक्रमका बारेमा किसानलाई सूचना उपलब्ध गराउने तथा टोलमा भएका किसानको समस्या र मागलाई माथिल्लो निकायसम्म पुर्याउने भूमिका निर्वाह गर्नेछ।त्यस्तै कार्यक्रममा संजाल गठनले नगरपालिकालाई योजना तर्जुमा गर्न सहयोग पुग्ने कृषि शाखा प्रमुख अजित पौडेलले बताउनुभयो।
उहाँका अनुसार संजाल गठनले स्थानिय सरकार र किसानबीच पुलको काम गर्दै सहजीकरणमा सहजता हुनेछ।
कार्यक्रममा बोल्दै प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले कृषि उत्पादनबाट नगरपालिकालाई आत्म निर्भर बनाई समृद्ध बनाउन किसानका समस्याहरूको पहिचान गर्न,बजारिकरण,सरोकारवाला निकायबीच समन्वय र पैरवी गर्दै अगाडि बढ्न सहज हुने बताउनुभयो।

तस्बिर : कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख बिष्णु योगि 

 

‘कहिलेकाँही कृषक लक्षित कार्यक्रम गर्दा वास्तविक किसानले थाहै नपाउने अवस्था पनि छ,यसलाई सहजीकरण गर्न र हाम्रा किसान लक्षित कार्यक्रम सबै ठाउँमा पुर्याउन यो संजालले काम गर्नेछ’,नगर प्रमुख योगि ले भन्नुभयो,‘किसानका समस्या भए संजालमार्फत हामीलाई जानकारी गराइन्छ र हामीले समाधानमा सहयोग गर्छौ।’
प्युठान नगरपालिकाले किसानलाई उत्पादनमा आधारित अनुदान लगायत किसानको पक्षमा धेरै निर्णयहरू भएको र स्थानीय सरकार किसानसँग मिलेर काम गर्न तयार भएको नगर प्रमुख योगिले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कतिपय अवस्थामा सरकारी योजनाबारे किसानले जानकारी समेत नपाइ वास्तविक किसानले सरकारी सुविधा र योजनाबाट वञ्चित हुनुपरेको अबस्थामा संजाल गठनमा नगरपालिकाले थालेको कदम प्रती किसानहरुले खुशी व्यक्त गर्नुभएको थियो।