जिन्दगीलाई फर्केर हेर्दा
भरत आचार्य
जिन्दगी सप्तरंगी इन्द्रेणी जस्तो छ। सात रंगमा कहिले कुन रंग,कहिले कुन रंग छरिन्छ जिन्दगीमा।
कहिले गाढा रंग व्याप्त हुन्छ त कहिले फिक्का रंगको पालो पर्छ। गाढा रंग रंगिँदा जिन्दगी पनि उल्लासमय हुँदो रहेछ अनि फिक्का रंगको पालोमा जिन्दगी पनि फिक्का नै देखिँदो रहेछ, कताकता के के नपुगेको जस्तो, कताकता केही नमिलेको जस्तो।
जिन्दगीमा गाढा रंग भाग्यवादीहरूको भाग्य चम्किएको बेला छरिन्छ। कर्मवादीहरूको कर्मको गतिलो फल मिलेको बेला छरिन्छ। आशावादीहरूको सपना साकार हुँदा छरिन्छ र निराशावादीहरूले सम्पन्न होला भनेर सोच्दै नसोचेका सपना पुरा हुँदा।
एउटै रंगले पनि सबैको एउटै अवस्थालाई प्रतिनिधित्व गर्न सक्दैन।जस्तो कि रहरले जागीरे हुनेहरू, रहरले परदेशिनेहरू, रहरले पढ्नेहरू देखि लिएर रहरले नै देह त्याग गर्नेहरू सम्म सबैको त्यो अवस्थाको जिन्दगीमा गाढा रंग पोतिएको हुन्छ तर बाध्यताले जागीर खानेहरू, बाध्यताले परदेशी हुनेहरू, बाध्यताले पढ्नेहरू र बाध्यताले देह त्याग गर्नेहरू त्यही अवस्थामा साह्रै फिक्का रंगको जिन्दगीको भारी बोकेर हिँडेका हुन्छन्।
हरेकले आफ्ना अनेकौँ अवस्थालाई रहरले होस् वा बाध्यताले छोड्दै जानुपर्ने कुरा भने धुर्बवसत्य रहेछ। जीवको शरीरले पृथ्वीमा पदार्पण गरेपछि त्यही शरीरले पनि अनेक उमेर र अवस्थाहरूलाई क्रमशःछाड्दै जाँदो रहेछ, बाल्यावस्था,किशोरावस्था, युवावस्था, प्रौढावस्था, वृद्धावस्था हुँदै संसार छाड्ने समय टुप्लुक्क आँगनमा देखा परिहाल्छ।
मान्छेको मन हो,जता लग्यो उतै जान्छ, मन कहिले बहकिन्छ, त कहिले स्थिर हुन्छ । एक तमासको छ मन । किनकि आज धेरै समयपछि सम्झिने समय मिलेको छ । जिन्दगी यसरी बितिरहेको छ कि फर्केर हेर्नका लागि कुनै अवसरको प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यो अवसरको सदुपयोग गर्दै आज जिन्दगीका पानाहरु पल्टाएर चिनाउने मौका मिलेको छ तर त्यहाँ नराम्रो अक्षरहरु देखेर मनमा छटपटी भएको भने होइन । लेखिएका कहानी धेरै सुनौलो होस् र वास्तविक जीवन कहाली लाग्दो होस्, पाना पल्टाउँदा सबैभन्दा दुःख लाग्दो कुरा यही हो । कुनै समय साँच्चै आनन्द लाग्दो थियो, जहाँ सबै आफ्ना थिए र आफूमा कुनै किसिमको समस्या हुनुभन्दा पहिला नै त्यसको समाधान खोजिदिने मानिसहरु थिए, सायद त्यति बेलाको समस्या नै साना थिए होला, जुन जो कोहीले पनि समाधान गर्नसक्थ्यो । के समस्याको आकारसँगै मेरो क्षमता विस्तार भएन त ? त्यो पनि होइन म विस्तार भएँ तर जसले समस्या समाधान गर्थे अहिले उनीहरुका लागि म नै समस्या बन्नपुगेको छु ।
आफ्ना मानिएका मानिसहरु पराइ भएका छन्, त्यसैले हिजोका सुनौला पानाहरु अहिले फिका बन्न पुगे ।
अवसर र खोजीमा शहर पसेको तन्नेरीले जन्मेदेखि खाए खेलेको जन्मस्थानको परिवेश छोड्छ। परदेश हिँडेको एउटा परदेशीले जाँदाजाँदै बाआमाको काख छोड्छ,परिवारको साथ छोड्छ, सुख र दुःखमा साथ दिने साथी छोड्छ, जन्मभूमि र त्यससँग जोडिएका अनेकौँ परिवेश छोड्छ।
ऋण दिएका ऋणीहरू छुट्छन्, ऋण लिएका साहुहरू,अप्ठ्यारो अवस्थामा गुण लगाएका गुणी हातहरू,दुःखमा लगाएको गुण सुखमा बिर्सने बैगुनीहरू,आफ्ना पाइला दह्रो हुँदा अरुका पाइला अड्याउन दिएका साथहरू छुट्छन्।
आफ्नै बारीमा फलेका फलफूल र अन्नहरू छुट्छन्, आफ्नै भान्छामा पाकेका स्वाद,आफ्नाहरूका माया ममता र स्नेह ,अनेक उमंग बोकेका चाडपर्व, मेलापात र उत्सवहरू,जिउँदाका जन्ती र मर्दाका मलामी छुट्छन्।
भारी गरुङ्गो हुँदा बिसाएका चौतारीहरू मन चंगा हुँदा उडेको आकाश छुट्छ अनि छुट्छन् छुटाउनै नहुने अनेक घटना परिघटनाहरू।
कसैलाई कसैले बेवास्ता गरिरहेको छ भन्ने पनि थाहा छ,कसैलाई म मन परिरहेको छैन भन्ने पनि थाहा छ, म आफ्नो बाटोबाट विचलित हुँदै छु भन्ने पनि थाहा छ र हिँड्नुपर्ने बाटो कुन हो भन्ने पनि थाहा छ । हुनत हरेक मानिसले कुनैपनि वस्तुलाई तुलना गर्ने र हेर्ने अनी ब्याख्या गर्ने शैली फरक हुन्छ । क्षमता र उसको क्रियाकलाप र भोगाईले पनि हेर्ने र विश्लेषण गर्ने ढङ्ग र क्षमता फरक हुन सक्छ । जिन्दगीलाई साहित्यकार, कलाकार र हरेक क्षेत्रका पेशा व्यवसायीहरुले अलग अलग रुपमा ब्याख्या गरेको पाइन्छ । हामीले मन पराएर सुन्ने हरेक गीतहरुमा जिन्दगीको ब्याख्या पनि फरक फरक ढङ्गबाट भएको पाइन्छ । कसैले जिन्दगीलाई उझाड मरुभुमी भनेर भन्ने गरेका छौँ त कसैले जिन्दगीलाई अमुल्य ठानेका छौँ । त्यहि जिन्दगीलाई कसैले यात्रा भनेका छन् त कसैले निराशाको संज्ञा दिएका छन् । जिन्दगीले सहि मोड लियो या त सुखको जित भयो भने मानिसले त्यसैलाई सकारात्मक कुराबाट परिभाषा गरेका छन् त दुःखको जित भयो भने त्यसैलाई नकारात्मक कुराको संज्ञा दिने गरेका छन् । फेरी कुरा उठ्न सक्छ दुःख के हो ? अनी सुख के हो ? के लाई दुःख र के लाई सुख भन्ने ? मापन गर्ने मानिसको मनै रहेछ । धेरैले मन अनुसार जिवन यापनको अनुभव र भोगाई परिभाषा गरेका हुन्छन् । तर जस्तोसुकै उमेरको मानिस होस या त सोचाई फरक होस उसमा हरेक क्षण आशा भने जिवित नै रहेको हुन्छ । या त बालबच्चा होस या युवा तन्नेरी वा चैँ बृद्धबृद्धा हरेकमा पछिको दिन सुख नै हुन्छ भन्ने आशाको दिप मनमा जलीरहेको हुन्छ । हामी सानो छँदा हाम्रो सोच के थियो र आज के छ ? अनी त्यतीवेला हामीले लिने आशा र यतीवेला गरिने आशा कति फरक छ । उ वेला कसैले एउटा चक्लेट दियो भने दुईवटा पाउन पाए खुसी भइन्थ्यो । उफ्रीन र दगुर्नमा अरुलाई पछि पार्ने आशा हुन्थ्यो । अली पछि गाडी किन्ने र आफैँ ड्राइभर वन्ने सपना थियो । कक्षामा पढ्दा शिक्षकले सोद्धा डाक्टर वन्ने र पाइलट वन्ने यस्ता थिए त्यतिवेलाका इच्छा, ति सपनाहरु थिए र एक किसिमका आशा र सोचाइ पनि । तिनै आशा र सपनाहरुले हामीलाई आज कहाँ पु¥यायो । कति सम्म निर्धारण गर्न सकियो ती आशाहरुलाई त कति खेर फालियो पनि । केही भएर पनि नभए जस्तो या भएर पनि नभएजस्तो यो जिन्दगी माया, ममता, प्रेम, प्यार, मा सोच्ने हो भने यो करुणैकरुणा भरिएको हुन्छ । या त चिन्ता, बोझ, दुख, कष्ट, आँसु, पीडा, छटपट र चोट, जलन, बियोग, हण्डर, ठक्कर, तथा बेदनामा सोच्ने हो भने दुःखको भवसागर भइदिन्छ यहि जिन्दगी । संयोग, भाग्य, सौभाग्य, दान, बरदान, इज्जत, गौरब, राज, रजाइ, हाइहाइमा जिन्दगीलाई सोच्ने हो भने आशा हो जिन्दगी । सर्वकारी, सर्बहारी, ब्रह्मचारी, कर्मचारी, सदाचारी, व्यभिचारी, शिकारी भएर पनि त जिन्दगीको सोच लिने हो भने आफ्नै टुङ्गो लाग्न सक्छ । जस्तो मन गरे पनि जिन्दगी भित्र चोट र पिडा लुकेको हुन्छ । त्यहिँभित्र हाँसो र सुख पनि अटाएको हुन्छ । हामी आफँै पनि सुख र खुसीकामुडमा भन्ने गछौँ जिन्दगी दुईदिनको घामछाँया हो । कुनैबेला जिन्दगी माया नै माया हो । कसैले भन्छन जिन्दगी भूल हो कसैले भन्दछन फूल हो । कसैले भन्छन जिन्दगी धोकै धोका हो । कसैले भन्छन पानीको फोका हो । कतिखेर फुट्ने हो टुङ्गो हुँदैन । मादक पदार्थ सेवन गर्ने मतवालाले भन्छ जिन्दगी भरेको बोतल जस्तै छ । पिउदाँ पिउदैँ कतिखेर रित्तिन्छ थाहा हुँदैन । कविहरुले भन्ने गर्छन जिन्दगी एउटा कविता नै हो । एकछिन भाका हालेर रसस्वादन गर्दा गर्दै टुगिंहाल्छ । कथाकारले भन्छन् जिन्दगी एउटा कथा मात्र हो । एक दुई घण्टाको बसाइ मै पढिसकिन्छ । फेरि नाटककारले भन्छन जिन्दगी नाटक जस्तो छ । खुसी र सुखको क्षणमा जिन्दगी छोटो र अस्थिर जस्तै लाग्छ । अनी दःुख र छटपटाइमा लामो र झन्झटिलो भइदिन्छ यहि जिन्दगी । मानिसका यी सबै तर्क बितर्क र परिभाषाहरुलाई ठम्याउँदा ठिकै देखिन्छ । तर जिन्दगीलाई खोतल्दै जाने हो भने भने जिन्दगी भित्र अझ अर्को पनि जिन्दगी लुकेको हुन्छ । यो हामी कतिले भोगीरहेका छौँ र महसुस पनि गरिरहेका छौँ । थरीथरीका तर्क बितर्क, बाद बिवाद अनी भाषा परिभाषाले गर्दा त झन यसको मेसो पाउन नसकेर कति हामी धिक्कार ठान्छौँ यहि जिन्दगीलाई र आफैँभित्र रिस पालिरहेका हुन्छौँ । अनी कतिवेला आफ्नो देह आफैँ त्याग गछौँ आफैँलाई थाहा हुँदैन । यहि जिन्दगीमा सहज या त असहज परिस्थिति,बाध्यता, बिवशता, दुःख, कष्ट र अनेक झन्झटभित्र रुमलिँदै अनेकौ झमेला भित्र अनेकौँ बाटाहरुमा ठोक्कीएर दिमाख घुमेर आफैँमा चक्कर लगाएपछि मात्र जिन्दगीलाई बुझ्दै जाने विवेकरुपी ज्वालाका बिर्काहरु खुल्दै जान्छन भन्ने मेरो बुझाइ हो।
जीवन आफ्नो लागि जीउने गर्नुस,आफ्ना भन्नेहरु त कतिबेला पराइ हुन्छन् पत्तै हुदैन।
भरत आचार्य
गौमुखी गाउँपालिका-४ पुजा प्युठान
प्रतिक्रिया राख्नुहोस्