सुमन सुबेदि
केहो दलित ? को हो दलित ?
समाजमा थुप्रै खाले विभेदहरु छन्,त्यो मध्य जातिय आधारमा गरिने बिभेद सबैभन्दा तुच्छ र अमानविय बिभेद हो।जसलाई सदाका लागी अन्त्य गर्नु आवश्यक छ,हो ढिलो चाँडो यो परम्परा पनी हिंजोको सतिप्रथा जस्तै कथामा मात्रै सिमित हुनेछ,त्यतिबेला भोलिको त्यो पुस्ताले अहिलेका हामी र हाम्रो मानवता प्रती धिक्कार्दै घिर्णा गर्ने छ ।
हामिलाई धेरै भोली प्रखनु छैन र त्यती धेरै घिर्णित बन्नु छैन,त्यसैले आजै,आफ्नै पालामा केही गर्नु छ तर दुर्भाग्य हामिले हामी माथिको बिभेद नै पहिचान गर्न सकेनौं वा गर्न चाहेनौं।जब पहिचान नै गर्न सकेनौं भने कसरी समयमै परिवर्तन सम्भव छ?हामिले बिभेद हेपिनु वा गुमाउनु लाई मात्र ठान्यौं,जातिय आधारमा कसैले घिर्णा गर्यो वा तुच्छ व्यवहार प्रकट गर्योभने हामिले त्यसलाई जातिय बिभेद मान्यौं तर पाउने कुरालाई कहिल्यै बिभेद मानेनौं वा मान्न चाहेनौं । बिभेद गुमाउनु वा हेपिनुमा मात्र छैन बिभेद पाउनुमा पनी छ । हेपिनु वा गुमाउनु ले भन्दा पाउनुले विभेदको जरालाई अझ मजबुत बनाउँदै लगेको छ । समाजले जातिय विभेदलाई बिर्सन खोजेपनी राज्यले घरिघरी सम्झाइरहेको छ । राज्यले सम्झाईरहँदापनी हामी मौन छौं,बरु उल्टै सम्झाइरहन राज्यलाई प्रेरित गरिरहेका छौं,किनकी त्यहाँ हामिले गुमायको देखेका छैनौं , पायको मात्र देखेका छौं ।
मेरो छोराको स्कुलमा एउटा अत्यन्त मिल्ने साथी छ , उ केहो मलाई थाहा छैन, बस् उ एउटा मेरो छोराको अशल साथिहो । उ मेरो छोरा संग निर्वाद रुपमा मेरो घरमा आउने जाने गर्छ । अचानक एकदिन मेरो छोराले म संग प्रश्न गर्यो उ कोहो ? म अचम्ममा परे ! मैले भन्दा बढी चिन्ने आफ्नै साथिको बारेमा उसको यस्तो प्रश्न ! उसले पढ्ने स्कुलमा उसको नजरमा सबै कुरा समान नै थियो तर एकदिन अचानक उसको बुझाइमा असमानताको आभास हुन गएछ ।
एउटै कलास,एउटै उमेर , एउटै बेन्च र स्तर पनी उस्तै उस्तै, तर दलित भनिएका वा दलित भएका कारण उसको त्यो साथिले एउटा नयाँ झोला , झोलाभरी केही शैक्षिक सामाग्री हरु र केही नगद समेत प्राप्त गर्दा उ भने रित्तै घर फर्कियो र मलाई हजार प्रश्न गर्न थाल्यो र भन्यो उ को हो? अब मैले उसलाई यसको उत्तर कसरी दिउँ?जातिय विभेदको अन्त्य चाहने मैले उसलाई जातियताको बिभेदकै कुरा कसरी सिकाउँ ? जात नै नबुझेको उसलाई जातका आधारमा हुने बिभेदको पाठ सिकायर विभेद गर्न सिकाउँ वा विभेदको अन्त्य गर्न सिकाउँ ? कसरी भनु उसलाई उ दलित हो भनेर?जातियता र छुवाछुतलाई जान्दै नजानेको त्यो पुस्तालाई म कसरी बारम्बार छुवाछुतको कुरा सम्झाई रहुँ र किन ? को हो दलित ?कसरी दलित ? उसको आफ्नै परिचय हुंदाहुंदै फेरी छुट्टै परिचय किन दियकोछ राज्यले ? उसको यही परिचयले जिबनभर बाँचोस् भन्ने राज्यको चहना त होइन?आखिर को हो दलित र केहो दलित ? कुनैपनी जात भनेको पहिचान हो,गौरब हो र इतिहास हो तर 'दलित,बिभेद हो। राज्यले कुनै जाती बिशेषलाई दलित बनायर झन् ठुलो बिभेद गरेको छ । यहाँ समस्यालाई पहिचान गरेर समाधानका लागी संघर्ष भएको छैन।यहाँ त समस्यालाई मुद्दा बनायर युगौं युगसम्म राजनिती गर्ने प्रयास मात्र भएको छ ,चाहे मुद्दा उही समुदाय बिशेषले नै किन नउठावस् ।
आखिर कहिलेसम्म कुनै जाती बिशेषले आफुलाई दलित भनेर चिनाउनु पर्ने ? कुनै जाती विशेषका अगुवाहरुले कहिले बुझ्ने कि दलितका नामले राज्यबाट प्राप्त गर्ने जुनकुनै सेवा सुबिधाले जातिय विभेदलाई अन्त्य होइन थप मल जल गर्छ भनेर ।
सतहमा देखिने वा कहिलेकाँही सडक बस्तिहरुमा पोखिने जातियतासंग मिल्दा जुल्दा घटनाहरुलाई मात्र हामिले जातिय बिभेद ठान्ने गर्छौं । राज्यकै नितिभित्र खेलिरहेको बिषाक्त विभेदलाई न महसुस गर्यौ न अन्त्यको कुनै प्रयास नै।राज्यले साँच्चै पछाडी परेका वा हेपिएका ती वर्गहरुलाई माथी उठाउन प्रयास गरेको हो भने त्यही खालको निती बनाउन आवश्यक छ जसले विभेदलाई अन्त्य गरोस् , विभेदको श्रिजना होइन । बिभेद देखिनुमा मात्र छैन,मौनतामा बिभेद झन् धेरै लुकेको छ । अन्तर्रजातिय बिवाह गरेको मेरो छिमेकी भाई बर्षौं देखी परिवार बिहिन भएको छ, परिवारको मायाँ , हरेक बर्ष आउने भइटिका र हरेक पर्वहरु उसकालागी कथा बनिसकेको छ । त्यसको एउटा कारण म अनी तपाई बनेका छौं,उ घरको कारणले भन्दा बढी समाजको डरले,समाजले के भन्ला ? मेरो घर संगै घर जोडिएको छिमेकिले के भन्ला भन्ने मुल कारणले उ गुमनाम हुनुपरेको छ । केही नबोल्ने मौन समाज उसको डरको मुल कारण भएको छ । समाज मौन छ जो उ गुमनाम हुनुको मुल कारण हो , राज्य बोलेको छ तर उसलाई दलित बनाउन लाई , उ कसरी दलित ? किन दलित ? उ दलित हुनु वा बनाइनु जातिय विभेदको अन्त्य हुनै सक्दैन। बरु उल्टै विभेदको सुरुवात हो , अन्त्य होइन ।
जातिय विभेदलाई अन्त्य गर्न दलित मानसिकतालाइनै अन्त्य गर्नु जरुरी छ।तर यहाँ राज्य बाट नै दलित मानसिकता लाई अन्त्य होइन झन् स्थापित गरेर कुनै निश्चित जात विशेषका समुदायलाई केही बिषेश सेवा सुबिधाको आशमा सदैब दलित बनायर राख्ने प्रयास गरेको पाइन्छ । होइन भने जुन कुरा बिर्सन पर्नेछ त्यही कुरा समाजलाई बारम्बार किन सम्झाईरहनु पर्ने? समाजलाई अगाडी डोर्याउन बिगतका नराम्रा कुरा बिर्सन सिकाउनुपर्ने समाज,सामाजिक अगुवा,राजनितिककर्मिहरु र राज्य नै किन बारम्बार सम्झाइरहन चाहन्छन् ? यो नै बुझ्नुपर्ने एउटा महत्वपूर्ण बिषय हो । बिर्सन खोज्ने समाजलाई पनी राज्यले बिर्सनै नदिने निती बनायको छ ।यो नै राज्यले गरेको सबैभन्दा ठूलो बिभेद र अपमान हो,जसको कारण कुनै जाती बिसेषको समुह सधै दलित नै रहनेछ । त्यसैले दलित शब्द र त्यो शब्दसँग जोडिएको दलित संस्कारको सधैकालागी अन्त्य गरी सभ्य , जातिय बिभेद रहित समाजको निर्माण गरौं । आखिर को हो दलित र किन दलित ?
हामी सबै नेपाली ।लेखक:नागरिक सरोकार केन्द्र प्युठानका संयोजक हुनुहुन्छ।
प्रतिक्रिया राख्नुहोस्