राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो।
जिल्ला समन्वय समिति प्युठानका प्रमुख तथा खोप समन्वय समितिका संयोजक धर्म जि सि ले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो।
उत्साह र उमङ्गका साथ काम गरेकोले नगरपालिका लाई पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख जि सि ले प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा नगर प्रमुख योगिले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो।
नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।
नगरपालिका अन्तर्गत सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरे बताउनुहुन्छ।घिमिरे भन्नुहुन्छ, "राष्ट्रिय खोप तालिका अनुसार नगरका १० वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो।"
पूर्ण खोपयुक्त नगरपालिका सुनिश्चितता घोषणा कार्यक्रममा नगर प्रमुख बिष्णु योगि,उपप्रमुख देबेन्द्र बर्मा,वडा अध्यक्ष लगायत जनप्रतिनिधिको सहभागिता थियो।
उत्कृष्ट स्वास्थ्य सस्था र उत्कृष्ट स्वास्थ्यकर्मिलाई सम्मान
कार्यक्रममा दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थालाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा सापडाडा स्वास्थ्य चौकी प्रमुख कुल बहादुर थापा,जुम्रीकाडा स्वास्थ्य चौकी अनमी दोमती सुनार आधारभुत स्वास्थ्य सेवा केन्द्र ढाडामुङ्रा अनमी अस्मिता पोख्रेल रहेका छन। त्यस्तै नगरपालिका स्थित स्वास्थ्य चौकी मध्य सापडाडा स्वास्थ्य चौकी उत्कृष्ट बनेको छ।




प्रतिक्रिया राख्नुहोस्