सूर्य थापा प्यूठानबाट एकल सिफारिस : नेकपा एमाले

प्यूठान,नेकपा एमाले प्यूठानले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि प्यूठानबाट पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाको नाम एकल सिफारिस  छ। 
सोमबार पार्टी कार्यालय विजुवारमा बसेको जिल्ला कमिटीको बैठकले थापालाई उम्मेदवार बनाउनका लागि एकल नाम सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष बिजयविराज विष्टले जानकारी गराए। 
प्रतिनिधिसभा सदस्यका लागि प्यूठान एउटा मात्र निर्वाचन क्षेत्र हो। 
उम्मेदवारको टुंगो लागेपछि थापा पहिलोपटक प्यूठानबाट निर्वाचन लड्ने छन्। थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओलीको प्रेस सल्लाहकार भएर काम गरेका थिए। 
करिब तीन दशक लामो समय पत्रकारिता क्षेत्रबाट राजनीतिमा होमिएका थापा पार्टीको केन्द्रीय सदस्य हुँदै हाल पोलिटब्यूरो र प्यूठान इन्चार्ज भएर भूगोल केन्द्रित छन्। 
खरो र स्पष्ट वक्ताका रूपमा उनको छबी छ। थापालाई धेरैले बौद्धिक नेताको रूपमा समेत चिन्ने गर्छन्।
एमाले प्यूठानले प्रदेश र प्रतिनिधिसभा सदस्य उम्मेदवारको नाम सर्वसम्मत रूपमा टुंगो लगाएको अध्यक्ष विष्टले जानकारी गराए। 
प्रदेश (क) मा पार्टीका निवर्तमान अध्यक्ष तुल्सीराम शर्मा र प्रदेश (ख) मा केन्द्रिय सदस्य एवं प्यूठान सह इन्चार्ज हरि रिजाल सिफारिस भएका छन्। 
थापाको उमेदवारीका लागि संविधानसभाका पूर्व सदस्य हिरा बहादुर केसीले प्रस्ताव गरेका थिए ।