लघु उद्यमीलाई प्रविधि हस्तान्तरण

सीता बि.क
प्युठान,व्यवसायमा सहयोग पुर्याउने उद्देश्य सहित प्युठानमा लघु उद्यमीहरूलाई विभिन्न सामग्री सहयोग गरिएको छ।
जिल्लाको प्युठान नगरपालिकाले अदुवा तथा हलेदो तरकारी खेती गरिरहेका लघु उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरेको हो।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिहिवार प्युठान नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मोहनसिंह बिष्टको अध्यक्षता र वडा नम्बर ३ का वडा अध्यक्ष तथा आर्थिक बिकास समितिका संयोजक सुमुन श्रेष्ठको प्रमुख आतिथ्यतामा अदुवा तथा हलेदो खेती गरिरहेका २० जना लघु उद्यमीहरूलाई उत्पादित सामाग्री प्रसोधनका लागि आवश्यक पर्ने प्रविधि हस्तान्तरण गरिएको हो।प्रविधि हस्तान्तरण गर्दै प्रमुख अतिथि सुमन श्रेष्ठले उद्यमीहरुलाई सरकारले दिएको उपकरणलाई आफैंले किनेको सोचेर उपयोग गर्न आग्रह गर्नुभयो । नगरपालिकाले नगरबासिलाई समृद्ध बनाउन सीपमूलक तालिमसँगै आवश्यक उपकरणहरु प्रदान गर्दै आएको उहाँले बताउनुभयो । नगरलाई समृद्धिको दिशामा लैजान कृषि र पर्यटन क्षेत्रको राम्रोसँग विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।नगरपालिका क्षेत्रमा नयाँ उद्यमि  सिर्जना गर्न र उद्यम सञ्चालनका लागि आवश्यक पर्ने तालिम र प्रविधि हस्तान्तरण सम्मको कार्य गरिरहेको नगरपालिकाका उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले बताउनुभयो । 
यसबाट नगरपालिका क्षेत्रका बासिन्दाको आयस्तरमा बृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने र युवाले रोजगारीका लागि अन्यत्र भौंतारिदै हिड्नु नपर्ने उहाँले बताउनुभयो।नगरपालिकाको ८० प्रतिशत र उद्यमीको २० प्रतिशत लगानीमा सामग्रीहरू वितरण गरिएको उहाँले बताउनुभयो ।
उद्यम बिकास सहजकर्ता बिश्वकर्माका अनुसार प्युठान नगरपालिकाका वडा नम्बर २,४,९ र १० वडाहरूमा सिप विकास तालिम पनि सञ्चालन गरिएको छ । सिलाई कटाई,मखमल तथा डाकाको चप्पल बनाउने तालिम,अगरत्ती उत्पादन,बुटिक,ड्राइभिङ्ग,मोटरसाइकल मर्मत,अदुवा तथा हलेदो उत्पादन,बङ्गुरपालन,ब्युटिसियन कुखुरापालन तालिम सँगै आबश्यक प्राविधि वितरण जस्ता कार्यक्रमहरू चालु आर्थिक वर्षमा सम्पन्न गरिएको उहाँले बताउनुभयो।