नौबहिनी गाउँपालिकाको निर्णय : मगर दिवसमा सबै संस्था बन्द

प्युठान,नौबहिनी गाउँपालिकाले ४४ औँ मगर दिवसको अवसरमा फाल्गुण १५ गते गाउँपालिका भर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गाउँ कार्यपालिकाको मिति २०८२ साल पौष २१ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
गाउँपालिकाले मगर समुदायको भाषा,संस्कृति,परम्परा र ऐतिहासिक योगदानको सम्मान गर्दै दिवसलाई भव्य रूपमा मनाउने जनाएको छ। दिवसको अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन,पारम्परिक नृत्य,भेषभूषा प्रदर्शनी तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम तय गरिएको छ। साथै मगर समुदायका अगुवाहरूबाट शुभकामना मन्तव्य तथा सांस्कृतिक पहिचान सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिने बताइएको छ।
गाउँपालिकाका अनुसार सामाजिक सद्भाव,सांस्कृतिक एकता र पहिचान संरक्षणलाई सुदृढ बनाउन दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
उक्त दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय,शैक्षिक संस्था,स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) तथा अन्य संघ–संस्थाहरू बन्द रहनेछन्। अत्यावश्यक सेवाहरू भने यथावत सञ्चालन हुने जनाइएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द्र ब्रहमाद्वारा जारी सूचनामा सम्बन्धित सबैमा जानकारी तथा सहयोगका लागि अनुरोध गरिएको छ।