राजमोबाट निर्वाचित वडा अध्यक्ष मल्लको सूर्य थापालाई जिताउन अपिल

प्युठान,प्युठानको गौमुखी गाउँपालिका–५ का वडा अध्यक्ष बरुणध्वज मल्लले प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापालाई आगामी निर्वाचनमा विजयी गराउन आह्वान गरेका छन्।
मंगलवार नारीकोटमा आयोजित नेकपा (एमाले) गौमुखी गाउँपालिका कमिटीको चुनावी भेटघाट कार्यक्रममा बोल्दै मल्लले जनप्रतिनिधि सहज पहुँचयोग्य हुनुपर्ने धारणा राखे। “निर्वाचित सांसद जनताका गुनासा सुन्ने र समाधानका लागि पहल गर्ने खालको हुनुपर्छ,” उनले भने, “सूर्य थापा निर्वाचित भएपछि गाउँका समस्या राख्न र समाधान खोज्न हामीलाई धेरै सजिलो भएको छ।”
मल्लका अनुसार,कुमालधारादेखि कुमलवास सम्मको सडक निर्माणका लागि करिब डेढ करोड रुपैयाँ बजेट ल्याउन सूर्य थापाको पहल निर्णायक बनेको थियो। उक्त सडक निर्माणले स्थानीय बासिन्दालाई आवत–जावतमा सहजता भएको र कृषि उपज बजारसम्म पुर्‍याउन मद्दत पुगेको उनले बताए।
“हामीले काम गर्ने मान्छेलाई जिताउनुपर्छ,” उनले जोड दिँदै भने,“गाउँको विकास निरन्तर गर्न सक्ने नेतृत्व आवश्यक छ।”

राजनीतिक सन्देश र एकताको अपिल

२०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट वडा अध्यक्ष निर्वाचित भएका मल्लले फरक दलबाट निर्वाचित भए पनि जिल्लाको समग्र विकासका लागि साझा सहकार्य आवश्यक रहेको उल्लेख गरे।
उनले प्यूठानको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन पनि सूर्य थापाको जित महत्वपूर्ण हुने दाबी गरे।कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
चुनावी कार्यक्रमका लागि गाउँ पुगेका उम्मेदवार सूर्य थापालाई वडा अध्यक्ष मल्लले औपचारिक स्वागत गरेका थिए। कार्यक्रममा स्थानीयवासीले सडक,खानेपानी,स्वास्थ्य र शिक्षा क्षेत्रका समस्याबारे धारणा राखेका थिए।
गौमुखी गाउँपालिकासहित प्यूठान जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गइरहेको छ। विभिन्न दल तथा उम्मेदवारहरूले घरदैलो,भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिएका छन्।