राम बहादुर बिश्वकर्मा
प्युठान,ग्रामीण जीवनको अभिन्न हिस्सा बनेको डोका आज पनि पहाडी भेगको दैनिकीसँग गहिरोसँग गाँसिएको छ।खेतबारीदेखि जंगलसम्म,घाँसदाउराबाट अन्नबालीसम्म -डोका यहाँको श्रम संस्कृतिको भरोसायोग्य साथी हो। यही परम्परागत सीपलाई जीवन्त राखिरहेका छन् ऐरावती गाउँपालिका–४,गोल्जाका ६५ वर्षीय होम बहादुर पुन।
हातमा लिवासको चोया समातेर सिपालु ढंगले डोका बुन्दै गरेका पुनको आँगनमा त्यस दिन विशेष चहलपहल देखिन्थ्यो।उनको वरिपरि उत्सुकतापूर्वक बसेका थिए एमाले नेता सूर्य थापा।
चुनावी भेटघाटका क्रममा गोल्जा पुगेका थापा यसपटक भाषण र औपचारिक कार्यक्रमभन्दा फरक भूमिकामा देखिए उनी आफैं डोका बुन्न सिक्दै थिए। पुनले लिबास चिरेर कसरी मिलाउने,कसरी गोलाई दिने र कसरी मजबुत बनाउने भन्ने सीप धैर्यपूर्वक सिकाइरहेका थिए।
“डोका बुन्न धैर्य चाहिन्छ,हातमा सीप चाहिन्छ,” पुनले मुस्कुराउँदै भने। उनका हातमा वर्षौँको अभ्यास र अनुभव झल्किन्थ्यो।
थापा भने ध्यानपूर्वक सिक्दै,कहिले चोया मिलाउँदै,कहिले गल्ती सच्याउँदै,कहिले हाँस्दै पुनसँग संवाद गरिरहेका थिए। त्यहाँ राजनीतिक औपचारिकता भन्दा बढी मानवीय आत्मीयता झल्किन्थ्यो।
हराउँदै गएको सीप,बचाउनुपर्ने पहिचान
डोका केवल बोझ बोक्ने साधन मात्र होइन यो यहाँको संस्कृति,श्रम र आत्मनिर्भर जीवनशैलीको प्रतीक हो। तर आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत सीपहरू विस्तारै ओझेलमा पर्दै गएका छन्। युवापुस्ताको बदलिँदो सोच र रोजाइले पनि यस्ता हस्तकलामा चासो घट्दै गएको देखिन्छ।
यही परिवेशमा पुनजस्ता अग्रजहरूको सीप पुस्तान्तरण हुनु झनै महत्वपूर्ण बन्दै गएको छ। यदि अनुभवसँगै सीप हरायो भने,गाउँको पहिचानको एक हिस्सा पनि हराउने खतरा रहन्छ।
सूर्य थापाले स्थानीय सीप र श्रमप्रति सम्मान व्यक्त गर्दै भने,“हाम्रो पहिचान यिनै सीप र संस्कृतिमा छ। विकासको नाममा आफ्नै जरा बिर्सनु हुँदैन। यस्ता सीप जोगाउनु हामी सबैको जिम्मेवारी हो।”
स्थानीयबासीहरूले नेताको यस्तो व्यवहारलाई सकारात्मक रूपमा लिएका छन्।उनीहरूका अनुसार जनप्रतिनिधि वा नेता गाउँको दैनिकी,श्रम र संस्कृतिसँग जोडिनु नै साँचो समिप्यता हो।
प्रतिक्रिया राख्नुहोस्