गौमुखी गाउँपालिकाको आफ्नै आधुनिक प्रशासनिक भवन सञ्चालनमा

गौमुखी गाउँपालिकाको आफ्नै आधुनिक प्रशासनिक भवन सञ्चालनमा

राम बहादुर बिश्वकर्मा 
प्युठान,गौमुखी गाउँपालिका प्यूठानको नवनिर्मित प्रशासकीय भवनको औपचारिक उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले रिबन काटेर भवन उद्घाटन गर्नुभएको हो।
मल्लरानी कन्ट्रक्सन प्रा.लि.ले ६ करोड २३ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण गरेको उक्त भवन संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा सम्पन्न भएको हो। निर्माण कम्पनीले सम्झौता अवधिभन्दा १०६ दिन अगावै कार्य सम्पन्न गर्दै समयपालन र गुणस्तरीय निर्माणको उदाहरण प्रस्तुत गरेको छ।
नवनिर्मित भवन सञ्चालनमा आएपछि गाउँपालिकाका सबै प्रशासनिक शाखाहरू एउटै स्थानबाट सञ्चालन हुने भएका छन्।यसले सेवा प्रवाहलाई छिटो,सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ।नागरिकमैत्री संरचना,पर्याप्त कार्यकक्ष तथा बैठक हलसहितको भवनले स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी,निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले समयभन्दा अगाडि निर्माण सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिँदै आगामी विकास योजनाहरू पनि यस्तै गतिमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए।