प्युठान,झिमरुक गाउँपालिकाले अस्थायी,करार तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा आबद्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको गाउँ कार्यपालिका बैठकले उक्त निर्णय पारित गर्दै कार्यान्वयन प्रक्रिया अघि बढाएको हो।
गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै करार तथा अस्थायी कर्मचारीको भविष्य सुरक्षालाई प्राथमिकतामा राख्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषय समेटेको थियो। सोही नीति तथा बजेटअनुसार आवश्यक कार्यविधि निर्माण,तथ्यांक संकलन तथा कर्मचारी विवरण अद्यावधिक गर्ने काम सुरु गरिएको जनाइएको छ।
गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका अनुसार स्थानीय तहमा लामो समयसम्म करार सेवामा काम गर्ने कर्मचारीहरू सेवा अवधि सकिएपछि कुनै पनि सामाजिक सुरक्षाविहीन अवस्थामा घर फर्किनु परेको गुनासो बढ्दै गएको थियो। “स्थानीय सरकार आफ्ना कर्मचारीप्रति उत्तरदायी हुनुपर्छ भन्ने मान्यताअनुसार हामीले यो निर्णय गरेका हौँ,” अध्यक्ष क्षेत्रीले भन्नुभयो।
उहाँका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि कर्मचारीहरूले भविष्यमा अवकाश,स्वास्थ्य उपचार,दुर्घटना बीमा,आश्रित परिवारलाई सुविधा लगायतका विभिन्न सामाजिक सुरक्षा लाभ प्राप्त गर्नेछन्। यसले कर्मचारीको मनोबल वृद्धि हुनुका साथै सेवामा स्थायित्व र जिम्मेवारीबोधसमेत बढ्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले आवश्यक समन्वय र प्रक्रिया पूरा गरी छिट्टै सबै योग्य कर्मचारीलाई कोष योजनामा आवद्ध गराउने लक्ष्य लिएको जनाएको छ। स्थानीय तहबाट करार तथा अस्थायी कर्मचारीको सामाजिक सुरक्षामा ध्यान दिँदै गरिएको यो निर्णयलाई कर्मचारीमैत्री कदमका रूपमा हेरिएको छ।
प्रतिक्रिया राख्नुहोस्