सूर्य थापाप्रति बढ्दो जनआकर्षण,फुलमालाले स्वागत

प्युठान,बिहानको घामले गाउँको आँगन छोएसँगै चहलपहल सुरु हुन्छ। टोलको चोकमा मान्छेहरू जम्मा छन्-कोही हातमा फूलको माला,कोही मोबाइल क्यामेरा,कोही आफ्ना कुरा सुनाउने उत्सुकतामा। कारण एउटै हो-नेकपा (एमाले)का प्रतिनिधिसभा उम्मेदवार सूर्य थापा गाउँ आइपुगेका छन्।
सूर्य थापाको उपस्थितिसँगै दृश्य लगभग उस्तै देखिन्छ। फुलमालाले स्वागत,मुस्कानसहितको हात मिलाउने दृश्य र वरिपरि भेला भएका मतदाताको आत्मीय संवाद। चुनावी प्रचारका औपचारिक भाषणभन्दा फरक,उनको अभियान जनतासँगको प्रत्यक्ष भेट र संवादमा केन्द्रित देखिन्छ।
थापाको शैली सादा छ -न ठूलो तामझाम,न चर्का नारा। तर उनको स्पष्ट बोली,विगतमा भएका कामको तथ्य र भविष्यका योजनाले मतदातालाई आकर्षित गरिरहेको छ। “हामीले देखेका कामकै आधारमा सम्मान गरेका हौँ,” एक ज्येष्ठ नागरिक भन्छन्, “फुलमाला त माया र विश्वासको प्रतीक हो।”
घरदैलो कार्यक्रमदेखि अनौपचारिक भेटघाटसम्म,थापाले स्थानीयको कुरा धैर्यपूर्वक सुन्छन्। किसान खेतीपातीका समस्या राख्छन्,युवाहरू रोजगारी र अवसरबारे प्रश्न गर्छन्,महिलाहरू स्वास्थ्य,खानेपानी र सुरक्षित आवागमनको कुरा उठाउँछन्। ती सबै विषयमा उनी योजना र सम्भावनासहित जवाफ दिन्छन्,जसले संवादलाई केवल चुनावी प्रतिबद्धतामा सीमित हुन दिँदैन।
तीन वर्षको अवधिमा भित्र्याइएको बजेट,सुरु भएका योजना र सम्पन्न विकासका कामको विवरण थापाले खुला रूपमा राख्दै आएका छन्। यही पारदर्शिताले मतदातामा भरोसा बढाएको स्थानीयहरू बताउँछन्। दुर्गम बस्तीका नागरिकले समेत आफ्नो आवाज सुन्ने प्रतिनिधि पाएको अनुभूति गरेका छन्।
युवापुस्ताबीच थापाप्रति आकर्षण झन् बढ्दो छ। वैदेशिक रोजगारीको विकल्प खोज्ने,स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र सीपमूलक तालिम प्रवर्द्धन गर्ने उनको दृष्टिकोणले युवाहरूलाई अभियानसँग जोडेको देखिन्छ। “बोलाइ मात्र होइन, योजनामा स्पष्टता छ,” एक युवा मतदाता भन्छन्।
स्थानीय अगुवा, सामाजिक अभियन्ता र बुद्धिजीवी वर्गले पनि थापाको कार्यशैलीलाई सकारात्मक रूपमा हेरेका छन्।केन्द्रसँगको समन्वय क्षमता,विकास बजेट भित्र्याउने अनुभव र निरन्तर जनसम्पर्क नै सूर्य थापाप्रतिको बढ्दो समर्थनको आधार बनेको उनीहरूको बुझाई छ।
निर्वाचन नजिकिँदै जाँदा गाउँ-बस्तीमा देखिएको यो दृश्य केवल स्वागतको औपचारिकता होइन। फुलमाला सम्मानको प्रतीक हो-कामप्रतिको मूल्याङ्कन र भविष्यप्रतिको अपेक्षाको संकेत।
त्यसैले आज प्युठानमा चर्चा छ-सूर्य थापा जहाँ पुग्छन्,त्यहाँ फुलमालासँगै जनविश्वास पनि पुग्छ।