हिंसाविरुद्ध बोल्ने र अन्यायको प्रतिवाद गर्ने संस्कार बसालौँ : अध्यक्ष महतरा

हिंसाविरुद्ध बोल्ने र अन्यायको प्रतिवाद गर्ने संस्कार बसालौँ : अध्यक्ष महतरा

राम बहादुर बिश्वकर्मा
प्यूठान,समाजमा हुने हिंसा,विभेद र अन्यायविरुद्ध मौन बस्ने होइन,त्यसको प्रतिवाद गर्ने संस्कार विकास गर्नुपर्ने झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभएको छ। हिंसालाई सहेर बस्ने प्रवृत्तिको अन्त्य गर्दै अन्यायविरुद्ध आवाज उठाउने सामाजिक चेतना विकास गर्न सके मात्रै समतामूलक,सभ्य र हिंसामुक्त समाज निर्माण गर्न सकिने उहाँको भनाइ छ।
महिला,ज्येष्ठ नागरिक,बालबालिका लगायत सबै नागरिकले सम्मान, समानता र सुरक्षाको प्रत्याभूति गर्न पाउने वातावरण निर्माण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै अध्यक्ष महतरा क्षेत्रीले यसका लागि व्यक्ति,परिवार,समुदाय र संस्थागत तहबाट साझा प्रयास आवश्यक रहेको बताउनुभयो।
बुधबार झिमरुक गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान उद्घाटन गर्दै अध्यक्ष महतरा क्षेत्रीले यस्तो धारणा राख्नुभएको हो। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममार्फत उहाँले अभियानको उद्घाटन गर्नुभएको थियो।
समाजमा विद्यमान हिंसा,विभेद,शोषण तथा दुर्व्यवहार अन्त्य गर्दै समानता, सम्मान र सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
'लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : समानता,सम्मान र सुरक्षित समाजको सुनिश्चितता' भन्ने मूल नाराका साथ सुरु भएको अभियानअन्तर्गत हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता जनाउने कार्यक्रमसमेत गरिएको थियो।
कार्यक्रममा 'म हिंसा गर्दिनँ, गरेको सहन्नँ,कसैले गरेमा यसको विरुद्धमा आवाज उठाउँछु' भन्ने प्रतिबद्धतासहित हस्ताक्षर संकलन गरिएको थियो।