राम बहादुर बिश्वकर्मा
प्यूठान,स्थानीय कला,संस्कृति र परम्पराको संरक्षण गर्दै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउनुपर्नेमा झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले जोड दिनुभएको छ। उहाँले परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारका तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।
शुक्रबार प्यूठानको झिमरुक गाउँपालिका–६, चिसावाङमा आयोजित फूलबारी दशैँ द्वादशी मेला तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष महतरा क्षेत्रीले स्थानीय मौलिक कला,संस्कृति र परम्परा समाजको पहिचान भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले यस्ता मेलाले पुराना परम्परालाई जीवन्त राख्नुका साथै समुदायबीच आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष महतराले फूलबारी द्वादशी मेलालाई आगामी वर्षहरूमा अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो। स्थानीय संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक पहिचानबारे परिचित गराउन यस्ता कार्यक्रम उपयोगी हुने उहाँको भनाई थियो।
मेलामा परम्परागत सराय नाचदेखि राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुतिसम्मका कार्यक्रम सञ्चालन गरिएको थियो। नेवारी भेषभूषामा सजिएका महिलाहरूको सराय नाच मेलाको प्रमुख आकर्षण बनेको थियो। धार्मिक विधिअनुसार मौलो पूजा गरी हातमा तरबार लिएर बाजाको तालमा प्रस्तुत गरिएको नाचमा जनप्रतिनिधि,ज्येष्ठ नागरिक,बालबालिका तथा स्थानीय महिला–पुरुषको सहभागिता रहेको थियो।
कलाकारका गीत तथा नृत्यमा रमाएका दर्शकले नाचगान गर्दै मेलाको उत्सवमा साथ दिएका थिए। लिङ्गे पिङ खेल्ने तथा स्थानीय बजारका स्टलमा किनमेल गर्नेको समेत भीड लागेको थियो।
फूलबारी दशैँ द्वादशी मेला तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष निकेश पोख्रेलका अनुसार मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले गर्नुभएको हो।
चिरायु माविमा नवनिर्मित मञ्च उद्घाटन
मेलाकै अवसरमा झिमरुक गाउँपालिका–६, चिसावाङस्थित चिरायु माध्यमिक विद्यालयको प्राङ्गणमा गाउँपालिकाको बजेटबाट निर्माण गरिएको नवनिर्मित मञ्चको समेत उद्घाटन गरिएको छ।अध्यक्ष महतरा क्षेत्रीले रिबन काटेर मञ्चको उद्घाटन गर्नुभएको हो। मञ्चले विद्यालयका शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न र स्थानीयस्तरका गतिविधि व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।
मेला व्यवस्थापन समितिका अध्यक्ष निकेश पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यामलाल पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो। पहिलो चरणको कार्यक्रम विनोद पोख्रेल र सांस्कृतिक कार्यक्रम पत्रकार बोमबहादुर परियारले सहजीकरण गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्