राम बहादुर बिश्वकर्मा
प्यूठान,‘संस्कारसहितको गुणस्तरीय शिक्षा,लर्निङ हेभन एण्ड रिसर्च स्कुलको प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै प्यूठान नगरपालिका–७,पुण्यखोलास्थित लर्निङ हेभन एण्ड रिसर्च स्कुलले विजयादशमी,शुभ दीपावली तथा छठपर्व २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
चाडपर्व केवल रमाइलो गर्ने अवसर मात्र होइनन्,यी हाम्रो संस्कृति,परम्परा,पारिवारिक सम्बन्ध र सामाजिक सद्भावसँग जोडिएका महत्त्वपूर्ण पर्व पनि हुन्। यिनै सांस्कृतिक तथा सामाजिक मूल्यलाई आत्मसात् गर्दै विद्यार्थीमा आपसी सद्भाव,सकारात्मक सोच र संस्कारको विकास गर्ने उद्देश्यले विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम बिच आफ्नो प्रतिभा प्रस्तुत गर्दै बिध्यार्थि
कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा गायन प्रतियोगितामार्फत आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।बालबालिकाले गीत तथा नृत्यका माध्यमबाट आफ्नो कला प्रदर्शन गर्दा कार्यक्रम उत्साहपूर्ण बनेको थियो।यस्ता गतिविधिले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न,आत्मविश्वास बढाउन र अरूसामु खुलेर प्रस्तुत हुन प्रेरित गर्ने विश्वास विद्यालयले लिएको छ।
विद्यालयका अध्यक्ष देवराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षासँगै संस्कार,अनुशासन र व्यवहारिक ज्ञानको आवश्यकतामाथि जोड दिइएको थियो। विद्यालयले विद्यार्थीलाई परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थीका रूपमा मात्र नभई असल व्यवहार,सकारात्मक सोच र सामाजिक जिम्मेवारी बोध भएको नागरिकका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।
विद्यालयका प्रिन्सिपल सिद्धिमान थापाले बालबालिकाको सिकाइ जन्मजात नहुने र उनीहरूको सिकाइ तथा व्यक्तित्व विकासमा वातावरणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।परिवार,विद्यालय र समाजबाट प्राप्त हुने व्यवहार,अभ्यास र मार्गदर्शनले बालबालिकाको सोच तथा आचरण निर्माण हुने उहाँको भनाइ थियो।
उहाँले विद्यालय स्थापना कालदेखि नै नियमित अध्यापनसँगै संस्कारसम्बन्धी सिकाइलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार बालबालिकालाई किताबी ज्ञान प्रदान गर्नु मात्रै शिक्षाको पुर्ण उद्देश्य होइन। उनीहरूलाई असल व्यवहार गर्न, ठूलालाई सम्मान गर्न,सानालाई माया गर्न,अनुशासित बन्न र सामाजिक जिम्मेवारी बुझ्न सिकाउनु पनि शिक्षाकै महत्त्वपुर्ण पक्ष हो।
पछिल्लो समय बालबालिकामा संस्कार र नैतिक मूल्यप्रतिको अभ्यास कमजोर हुँदै गएको उल्लेख गर्दै प्रिन्सिपल थापाले परिवार र विद्यालय दुवैले यस विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो। बालबालिकाले उपदेशबाट मात्रै नभई आफुले देखेको व्यवहारबाट पनि सिक्ने भएकाले अभिभावक र शिक्षक स्वयं उदाहरणीय बन्नुपर्ने उहाँको आशय थियो।
उहाँले चाडपर्वको अवसरमा विद्यार्थी,शिक्षक,कर्मचारी तथा अभिभावकलाई शुभकामना व्यक्त गर्दै पर्वको खुसीसँगै अध्ययनलाई पनि निरन्तरता दिन आग्रह गर्नुभयो।चाडपर्वले परिवार र आफन्तसँग भेटघाट गर्ने,खुसी साटासाट गर्ने र आपसी सम्बन्ध बलियो बनाउने अवसर दिने भए पनि विद्यार्थीले आफ्नो पढाइ र जिम्मेवारीलाई बिर्सन नहुने उहाँले बताउनुभयो।
अभिभावकलाई समेत आफ्ना छोराछोरीको पढाइ,आचरण,साथीभाइको सङ्गत र दैनिक गतिविधिप्रति चासो राख्न आग्रह गर्दै उहाँले बालबालिकाको भविष्य निर्माणमा घर र विद्यालयबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयको कक्षाकोठाभित्रको सिकाइसँगै घरपरिवार र समाजबाट प्राप्त हुने संस्कार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।बाल्यकालमा सिकेका व्यवहार र मूल्यले उनीहरूको जीवनमा दीर्घकालीन प्रभाव पार्ने भएकाले बालबालिकालाई सानैदेखि असल आचरण,अनुशासन,सहयोग र सम्मानको भावना सिकाउनु आवश्यक छ।
यही मान्यतालाई प्राथमिकतामा राख्दै लर्निङ हेभन एण्ड रिसर्च स्कुलले अध्ययनसँगै संस्कार र सिर्जनात्मक गतिविधिलाई जोड दिने प्रयास गरेको छ। विद्यालयमा आयोजना हुने नृत्य,गायन तथा अन्य अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा पहिचान गर्न,नेतृत्व क्षमता विकास गर्न र सामूहिक रूपमा काम गर्ने बानी बसाल्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
शुभकामना आदानप्रदान कार्यक्रमले विद्यार्थी,शिक्षक,कर्मचारी र अभिभावकबीच आत्मीयता बढाउनुका साथै चाडपर्वको सांस्कृतिक महत्त्वलाई नयाँ पुस्तासम्म पुर्याउने अवसर प्रदान गरेको छ।
प्रतिक्रिया राख्नुहोस्