सञ्चार क्षेत्रसँग सहकार्य बढाउँदै ऐरावती,सञ्चार नीति ल्याउने तयारी

सञ्चार क्षेत्रसँग सहकार्य बढाउँदै ऐरावती,सञ्चार नीति ल्याउने तयारी

राम बहादुर विश्वकर्मा
प्युठान,स्थानीय सरकारका गतिविधि जनतासम्म पुर्‍याउने,नागरिकका आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउने र स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन गर्ने उद्देश्यसहित प्युठानको ऐरावती गाउँपालिकाले सञ्चार नीति निर्माण गर्ने भएको छ। जिल्लाका स्थानीय तहमध्ये सञ्चार नीति निर्माणको पहल गर्ने पहिलो पालिका ऐरावती भएको गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभएको छ।
विजयादशमी,शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्लामा क्रियाशील सञ्चारकर्मीसँग आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले सञ्चार नीति निर्माणको आवश्यकता र उद्देश्यबारे धारणा राख्नुभएको हो।
उहाँका अनुसार सञ्चारमाध्यम जनताको आवाज बोल्ने महत्त्वपूर्ण माध्यम हुन्। स्थानीय सरकारले गरेका गतिविधि,विकास निर्माणका काम तथा नागरिकका सवाललाई सञ्चारमाध्यमले सार्वजनिक गर्दै आएका छन्। त्यसैले स्थानीय सरकार र सञ्चारमाध्यमबीच सहकार्य, समन्वय र आपसी समझदारी आवश्यक रहेको उहाँको भनाई छ।
“सञ्चारमाध्यम जनताको आवाज बोल्ने माध्यम हुन्। स्थानीय सरकारले गरेका गतिविधि सञ्चारमाध्यमले उजागर गर्दै आएका छन्। त्यसैले स्थानीय सरकार र सञ्चारमाध्यम सँगसँगै अघि बढ्नुपर्छ,”उपाध्यक्ष श्रेष्ठले भन्नुभयो।
स्थानीय सञ्चारमाध्यमको क्षमता विकास,प्रोत्साहन र प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चार नीति ल्याउन लागिएको उहाँले स्पष्ट पार्नुभयो।नीतिले स्थानीय सरकार र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा ऐरावती गाउँपालिका–५ का वडाध्यक्ष चन्द्र रोका मगरले सञ्चारकर्मीले गाउँबस्तीका गतिविधि प्रकाशन तथा प्रसारण गर्नुका साथै समाजमा पछाडि परेका र आफ्ना समस्या व्यक्त गर्न नसक्ने नागरिकको आवाज उठाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।
स्थानीय तहका गतिविधि,नागरिकका समस्या र विकास निर्माणसँग सम्बन्धित विषयलाई सार्वजनिक बहसमा ल्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो।
वडाध्यक्ष मगरले वडामा उपलब्ध सीमित बजेटका कारण आफूले चाहेजस्तो विकास तथा अन्य गतिविधि सञ्चालन गर्न नसकेको गुनासोसमेत गर्नुभयो। वडाका विभिन्न योजना तथा गतिविधि सञ्चालन गर्न गाउँपालिकामै निर्भर हुनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शरद गौतमले सञ्चार क्षेत्र राज्यको चौथो अङ्गका रूपमा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै हरेक निकायसँग सञ्चार क्षेत्रको सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनुभयो।
समृद्ध पालिका निर्माणका लागि स्थानीय सरकार र सञ्चार क्षेत्र सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले गाउँपालिकाका विकास गतिविधिलाई निष्पक्ष रूपमा सञ्चारमाध्यममा ल्याउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।
त्यस्तै,कार्यक्रमको सहजीकरण गर्दै प्रशासन प्रमुख श्रीधर भट्टराईले सूचना उपलब्ध गराउन गाउँपालिका सधैँ तयार रहेको बताउनुभयो। स्थानीय सरकारका गतिविधि र नागरिकका सरोकारका विषयमा सूचना प्रवाह गर्न पालिका तत्पर रहेको उहाँको भनाइ थियो।
नेपाल पत्रकार महा संघ प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले सञ्चार नीति निर्माणका लागि जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरिएको जानकारी दिनुभयो। ऐरावती गाउँपालिकाले नीति निर्माणको पहल सुरु गरेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन र विकासमा स्थानीय सरकारले ध्यान दिनुपर्ने धारणा राखेका थिए।
स्थानीय सञ्चारमाध्यमले नागरिकका दैनिक समस्या,विकास निर्माणका गतिविधि,सार्वजनिक सेवा प्रवाह र स्थानीय सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्। सञ्चार नीति निर्माणसँगै स्थानीय मिडियाको संस्थागत विकास,पत्रकारिताको व्यावसायिक क्षमता अभिवृद्धि र स्थानीय सरकार तथा सञ्चार क्षेत्रबीचको सहकार्य थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
अब बन्ने नीतिमा सञ्चार क्षेत्रका वास्तविक आवश्यकता समेट्दै कार्यान्वयन,पारदर्शिता र सहयोगका स्पष्ट आधार तय गर्न सके स्थानीय पत्रकारिताको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।