स्वाद र सत्कारको नयाँ गन्तव्य बन्दै पिर्का थकाली एण्ड रेष्टुरेन्ट 

स्वाद र सत्कारको नयाँ गन्तव्य बन्दै पिर्का थकाली एण्ड रेष्टुरेन्ट 

राम बहादुर बिश्वकर्मा
प्युठान,आफ्नै ठाउँमा केही गर्ने सोच,सामूहिक लगानी र नयाँ पुस्ताको उद्यमशीलताको उदाहरण बनेको छ-पिर्का थकाली होटल एण्ड रेष्टुरेन्ट।प्युठानको बग्दुलामा संयुक्त लगानीमा सञ्चालनमा आएको होटलले स्वादिष्ट अर्गानिक खानासँगै आत्मीय आतिथ्यता, सफा वातावरण र स्तरीय सेवामार्फत ग्राहकको मन जित्ने प्रयास गरिरहेको छ।
पछिल्लो समय होटल तथा रेष्टुरेन्ट व्यवसायमा ग्राहकको चाहना केवल स्वादमा सीमित छैन। सफा वातावरण,गुणस्तरीय सेवा, मिठो व्यवहार र आरामदायी बसाइलाई पनि ग्राहकले उत्तिकै महत्व दिन थालेका छन्। यही बदलिँदो ग्राहकको चाहनालाई ध्यानमा राख्दै पिर्का थकाली होटलले खानाको स्वादसँगै सेवा र आतिथ्यतालाई आफ्नो प्रमुख विशेषता बनाएको छ।
स्थानीय स्वाद र अर्गानिक खानालाई प्राथमिकता दिइएको होटलमा ग्राहकले मौलिक परिकारको स्वाद लिन सक्ने सञ्चालकहरूको भनाइ छ। स्थानीय उत्पादनको प्रयोग,खाना तयार गर्ने शैलीदेखि ग्राहकसमक्ष परिकार प्रस्तुत गर्ने तरिकासम्म गुणस्तर कायम गर्ने प्रयास गरिएको छ।
होटलका सञ्चालक प्रेम खड्काका अनुसार व्यवसाय सञ्चालनको मुख्य उद्देश्य केवल खाना बेच्नु नभई ग्राहकलाई राम्रो अनुभव प्रदान गर्नु हो।
“हामीकहाँ आउने ग्राहकले खाना स्वादिलो छ भनेर मात्र होइन,यहाँको व्यवहार र वातावरण पनि सम्झनुपर्छ भन्ने हाम्रो सोच हो,” खड्का भन्छन्, “स्वादसँगै आत्मीयता र राम्रो सेवा दिन सके ग्राहकसँगको सम्बन्ध लामो समयसम्म कायम रहन्छ।”
उनका अनुसार होटलमा आउने प्रत्येक ग्राहकलाई पाहुनाको रूपमा सम्मान गर्ने प्रयास गरिएको छ।पारिवारिक तथा सहज वातावरणमा खानपिन गर्न सक्ने व्यवस्था मिलाइएको छ। यात्राका क्रममा बग्दुला पुग्ने यात्रुदेखि स्थानीय ग्राहकसम्मलाई सहज र गुणस्तरीय सेवा दिने लक्ष्य रहेको खड्काको भनाइ छ।
सरसफाइलाई पनि होटलले विशेष प्राथमिकता दिएको छ। सफा भान्सा,व्यवस्थित बस्ने स्थान र स्वच्छ वातावरणलाई दैनिक सञ्चालनको महत्वपूर्ण पक्षका रूपमा लिइएको छ। ग्राहकको स्वास्थ्य र सन्तुष्टिलाई ध्यानमा राखेर खाना तथा सेवाको गुणस्तरमा निरन्तर सुधार गर्ने प्रयास भइरहेको सञ्चालक खड्का बताउँछन्।
पिर्का थकालीलाई आगामी दिनमा थप व्यवस्थित र विस्तार गर्ने योजना पनि रहेको छ। ग्राहकको माग र सुझावअनुसार नयाँ परिकार थप्ने, सेवामा सुधार गर्ने तथा आवश्यक सुविधाहरू विस्तार गर्ने तयारी भइरहेको खड्काले बताए।
“ग्राहकको सन्तुष्टि नै हाम्रो मुख्य उद्देश्य हो,” उनी भन्छन्, “ग्राहकले दिएको सुझावलाई आत्मसात् गर्दै समयअनुसार सेवा र परिकारमा सुधार गर्दै जानेछौँ। भविष्यमा पिर्का थकालीलाई अझ व्यवस्थित र ग्राहकको रोजाइको गन्तव्य बनाउने हाम्रो योजना छ।”पिर्का थकाली होटलको विशेषता व्यवसायमा मात्र सीमित छैन। प्युठानमै सम्भावना खोज्दै युवाहरूले सामूहिक लगानीमा सुरु गरेको यो प्रयासले आफ्नै ठाउँमा बसेर पनि उद्यम गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।रोजगारी र अवसरको खोजीमा युवा बाहिरिने क्रम बढिरहेका बेला आफ्नै ठाउँमा लगानी गरेर व्यवसाय सञ्चालन गर्ने सोचले स्थानीयस्तरमै रोजगारी र आर्थिक गतिविधिको सम्भावना बढाउन सक्छ। स्थानीय उत्पादन, मौलिक स्वाद र पर्यटनसँग व्यवसायलाई जोड्न सके यसले स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बग्दुला हुँदै यात्रा गर्नेहरूका लागि स्वादिलो खाना, सफा वातावरण र आत्मीय सेवाको नयाँ गन्तव्यका रूपमा पिर्का थकाली होटलले आफ्नो पहिचान स्थापित गर्ने प्रयास गरिरहेको छ।
नयाँ सोच, सामूहिक लगानी र आफ्नै ठाउँमा केही गर्ने अठोट पिर्का थकाली होटल एण्ड रेष्टुरेन्ट प्युठानका युवाको उद्यमशील यात्राको एउटा आकर्षक उदाहरण बनेको छ।