प्युठान,नेपाली कांग्रेस प्यूठानका जिल्ला सभापति विष्णु कुमार गिरीले आफ्नो नेतृत्वपछि शिवराज रिजाललाई नयाँ नेतृत्वको बागडोर सम्हाल्ने संकेत गर्दै पार्टी कार्यकर्तालाई एकताबद्ध भएर अधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन्।
गिरीले जारी गरेको प्रेस विज्ञप्तिमा वडा तथा पालिका तहका अधिवेशनहरू सम्पन्न भएको उल्लेख गर्दै अब हुने अधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व र प्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिएका छन्।उनले मौसमको प्रतिकूलता,पार्टी एकताको सन्देश र संगठनलाई थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्।
विज्ञप्तिमा गिरीले भुगोल र जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था गर्दै तीन पुस्तालाई समेट्ने फराकिलो कांग्रेस निर्माण गर्नुपर्ने धारणा राखेका छन। साथै,क्षेत्रीय प्रतिनिधि र निर्णय प्रक्रियामा रहने नेताहरूलाई जिम्मेवार भुमिकाका लागि आग्रह गरेका छन्।
यस विज्ञप्तिको अर्को महत्वपुर्ण पक्ष भनेको गिरीले आफ्नो उत्तराधिकारीका रूपमा शिवराज रिजालको नाम स्पष्ट रूपमा उल्लेख गर्नु हो। यसअघि २०७८ सालको कांग्रेस जिल्ला अधिवेशनमा गिरी र रिजालबीच सभापति पदमा प्रतिस्पर्धा भएको थियो। त्यस निर्वाचनमा गिरी ५६६ मतसहित विजयी हुँदा रिजालले ४९४ मत पाएका थिए।
त्यसपछि २०७९ को स्थानीय निर्वाचनमा रिजाल नौबहिनी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएको विवरण पनि सार्वजनिक भएको थियो।
यसपटकको विज्ञप्तिमा भने गिरीले विगतको प्रतिस्पर्धाभन्दा अघि बढेर नेतृत्व हस्तान्तरण र संगठनात्मक एकतालाई प्राथमिकता दिएको सन्देश दिएका छन्। यद्यपि,विज्ञप्ति आफैंले नयाँ जिल्ला सभापति औपचारिक रूपमा निर्वाचित भइसकेको घोषणा गरेको छैन यसले आगामी अधिवेशनमा रिजाललाई नेतृत्व सम्हाल्न सहयोग गर्ने गिरीको प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया राख्नुहोस्