राम बहादुर बिश्वकर्मा
प्युठान,गाउँका टोल-टोलमा पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउनेदेखि आवश्यक पर्दा स्वास्थ्य सेवामा सहजीकरण गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानलाई सम्मान गर्दै मल्लरानी गाउँपालिका वडा नम्बर-३ ले १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ।
वडाले स्वयंसेविकाहरूलाई झोला,छाता र ब्याज वितरण गरेको हो।लामो समयदेखि समुदायको स्वास्थ्य सुधारमा निरन्तर खटिँदै आएका स्वयंसेविकाहरूलाई प्रोत्साहन र उनीहरूको मनोबल उच्च बनाउने उद्देश्यले सम्मान गरिएको वडा कार्यालयले जनाएको छ।
स्वास्थ्य स्वयंसेविका भन्नासाथ गाउँका धेरै परिवारका लागि सहजै सम्झनामा आउने परिचित अनुहार हुन्।स्वास्थ्य संस्था टाढा हुँदा होस वा स्वास्थ्यसम्बन्धी जानकारीको अभावमा समुदाय अन्योलमा पर्दा उनीहरू घरदैलोमै पुगेर आवश्यक जानकारी दिने,सचेत गराउने र स्वास्थ्य सेवासँग जोड्ने काममा सक्रिय हुन्छन्।
विशेषगरी ग्रामीण क्षेत्रमा गर्भवती तथा सुत्केरी महिला,बालबालिका र परिवारको स्वास्थ्यसँग सम्बन्धित विषयमा उनीहरूको भुमिका महत्वपूर्ण रहने गरेको छ। नियमित जिम्मेवारीभन्दा बाहिर गएर पनि समुदायको आवश्यकता अनुसार सेवा र सहयोग पुर्याउने उनीहरूको योगदानलाई वडाले विशेष रूपमा कदर गरेको हो।वडा अध्यक्ष नोमराज पौडेल स्वयंसेविकाहरूको सेवा निस्वार्थ भावनाबाट प्रेरित रहेको बताउनुहुन्छ।उहाँका अनुसार समुदायमा रहेर निरन्तर सेवा गर्ने स्वयंसेविकाहरूको कामको उचित सम्मान र प्रोत्साहनले उनीहरूमा थप उर्जा पैदा गर्नेछ।“निस्वार्थ सेवा भावले काम गर्ने स्वयंसेविकाहरूको मनोबल उच्च बनाउने उद्देश्यले उहाँहरूलाई सम्मान गरिएको हो,” उहाँले भन्नुभयो।ग्रामीण बस्तीका घरदैलोमा पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुका साथै आवश्यकताअनुसार अतिरिक्त सेवा प्रदान गर्ने स्वयंसेविकाहरूको काम अत्यन्तै सराहनीय रहेको अध्यक्ष पौडेलको भनाई छ।
सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तार गरे पनि ग्रामीण क्षेत्रमा स्वास्थ्यसम्बन्धी चेतना र सेवाको पहुँच सहज बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अझै महत्वपुर्ण छ। सीमित स्रोतसाधनका बीच समुदायका लागि समय दिने उनीहरूको सेवाले स्वास्थ्य प्रणाली र स्थानीय नागरिकबीचको दुरी घटाउने काम गरिरहेको छ।
मल्लरानी ३ मा गरिएको सम्मान एउटा कार्यक्रम मात्र होइन,समुदायको स्वास्थ्यका लागि लामो समयदेखि मौन रूपमा योगदान गरिरहेका महिलाप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि बनेको छ।सम्मानसँगै पाएको झोला,छाता र ब्याजको मुल्य आर्थिक हिसाबले ठूलो नहोला,तर वर्षौँदेखि गाउँको स्वास्थ्यका लागि घरदैलोमा खटिरहेका स्वयंसेविकाहरूका लागि यो सम्मानले उनीहरूको सेवाको सामाजिक मुल्य अझ बढाएको छ।
प्रतिक्रिया राख्नुहोस्