राम बहादुर बिश्वकर्मा
प्युठान,शिक्षकको हातमा विद्यार्थीको वर्तमान मात्र होइन,उनीहरूको भविष्य पनि जोडिएको हुन्छ।त्यसैले समयअनुसार बदलिँदो शिक्षण पद्धति,विद्यार्थीको रुचि र नयाँ प्रविधिसँग शिक्षकलाई जोड्नु विद्यालयको महत्वपुर्ण जिम्मेवारी बन्दै गएको छ।
यही आवश्यकतालाई ध्यानमा राख्दै लर्निङ हेभन एण्ड रिसर्च स्कुल,पुण्यखोला,प्युठानले शिक्षक क्षमता विकासका लागि दुईदिने तालिम सुरु गरेको छ। अध्यापनरत शिक्षक-शिक्षिकालाई आफ्नो विषयवस्तुसँगै नयाँ शिक्षण प्रविधि र फरक-फरक सिकाइ विधिबारे अभ्यस्त गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो।
विद्यालयको सभाहलमा सुरु भएको तालिमको उद्घाटन विद्यालय सञ्चालक समितिका अध्यक्ष देवराज गौतमले पानसमा बत्ती बालेर तथा ब्यानर पढेर गर्नुभएको थियो।उद्घाटन कार्यक्रममा शेयर सदस्यहरू बालकृष्ण भट्ट, खिमबहादुर अधिकारी र विष्णु पराजुलीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सुजना बिष्टले गर्नुभएको थियो।तालिममा प्रशिक्षक हिरा के.सि. सुबेदीले शिक्षकहरूलाई प्रशिक्षण दिइरहनुभएको छ।
एउटै विषय, फरक सिकाउने तरिका
विद्यालयका प्रिन्सिपल सिद्धिमान थापाका अनुसार बदलिँदो समयसँगै शिक्षणको शैली पनि परिवर्तन हुँदै गएको छ।शिक्षक आफ्नो विषयवस्तुमा पूर्ण हुनु आवश्यक भए पनि विषयवस्तुको ज्ञान मात्र पर्याप्त नहुने उहाँ बताउनुहुन्छ।विद्यार्थीको रुचि,आवश्यकता र सिक्ने शैलीअनुसार विषयवस्तुलाई फरक-फरक तरिकाले प्रस्तुत गर्न सक्ने क्षमता शिक्षकमा हुनुपर्ने उहाँको भनाई छ।
“शिक्षक आफ्नो विषयवस्तुमा पुर्ण हुनु आवश्यक छ।तर अहिलेको शिक्षण पद्धति विषयवस्तुको ज्ञानमा मात्र सीमित छैन।विद्यार्थीको रुचि र आवश्यकताअनुसार सिकाउने शैली परिवर्तन गर्न सक्ने क्षमता पनि शिक्षकमा हुनुपर्छ,”थापाले भन्नुभयो।
उहाँका अनुसार शिक्षकले दैनिक रूपमा आफ्नो विषयवस्तुमा अभ्यस्त भइरहनुपर्ने भए पनि अहिलेको शिक्षण पद्धतिले त्यसमा थप तयारी र नयाँ अभ्यासको माग गरेको छ। फरक-फरक विषयवस्तुमा फरक शिक्षण प्रविधि र ‘टेक्निक’ प्रयोग हुने भएकाले शिक्षक पनि त्यस्ता नयाँ विधिसँग निरन्तर परिचित भइरहनुपर्ने उहाँ बताउनुहुन्छ।
“एउटै विषयवस्तु सबै विद्यार्थीले एउटै तरिकाबाट बुझ्छन् भन्ने हुँदैन।कसैलाई सुनेर,कसैलाई हेरेर वा अभ्यासमार्फत सिक्न सहज हुन्छ। त्यसैले विद्यार्थीको रुचि,चाहना र सिकाइ क्षमताअनुसार विषयवस्तुलाई स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने बनाउन तालिम आयोजना गरिएको हो,”उहाँले भन्नुभयो।
थापाका अनुसार शिक्षकको निरन्तर सिकाई र क्षमता विकासले कक्षाकोठाको शिक्षण प्रक्रियालाई प्रत्यक्ष प्रभाव पार्छ।नयाँ ज्ञान,प्रविधि र शिक्षण विधि सिक्दै त्यसलाई व्यवहारमा उतार्न सके विद्यार्थीको सिकाइ उपलब्धिमा समेत सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ।
तालिमको प्रभाव कक्षाकोठासम्म
शिक्षक क्षमता विकासका लागि आयोजना गरिएको दुईदिने तालिमको उद्देश्य तालिम कक्षमै सीमित राख्नु नभई त्यसबाट प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा प्रयोग गर्नु हो।
विद्यार्थीलाई एउटै शैलीमा पढाएर मात्र प्रभावकारी सिकाइ सम्भव नहुन सक्छ।कतिपय विद्यार्थी सुनेर छिटो बुझ्छन्,कतिपय दृश्य सामग्रीबाट र कतिपय अभ्यास तथा प्रयोगबाट।यस्तो विविधतालाई सम्बोधन गर्न शिक्षकमा विभिन्न शिक्षण विधिको ज्ञान र त्यसलाई व्यवहारमा प्रयोग गर्ने क्षमता आवश्यक हुन्छ।
लर्निङ हेभनले सुरु गरेको यो तालिमले शिक्षकलाई यिनै पक्षमा थप सक्षम बनाउने अपेक्षा गरिएको छ। शिक्षकको क्षमता बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको सिकाइमा पर्ने विद्यालयको विश्वास छ।
विद्यालयको सभाहलमा सञ्चालन भइरहेको तालिम भदौ २१ गतेसम्म चल्ने बताइएको छ।
प्रतिक्रिया राख्नुहोस्