राम बहादुर बिश्वकर्मा
प्युठान,केही दिनयता सरुमारानी गाउँपालिकाका कार्यालयका फाइल,कागजात र हिसाब-किताब महालेखाको टोलीको निगरानीमा थिए।कुन खर्च कसरी भयो?प्रक्रिया पूरा भयो कि भएन? कागजातले खर्चलाई पुष्टि गर्छ कि गर्दैन? यिनै विषयमा केन्द्रित भएर लेखापरीक्षण भयो।अब महालेखाको टोली फर्किसकेको छ।फाइल जाँचिए,हिसाब हेरिए,प्रक्रिया परीक्षण गरियो र आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण सम्पन्न भयो। तर लेखापरीक्षण सकिए पनि यसको निष्कर्ष भने आइसकेको छैन।अन्तिम प्रतिवेदन अझै आउन बाँकी छ।
लेखापरीक्षण सम्पन्न भएपछि गाउँपालिकामा बहिर्गमन बैठक आयोजना गरियो। गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बसन्ता खड्का,वडाध्यक्ष,कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको सहभागिता थियो।
पालिका प्रवक्ता चिन्त सोमैका अनुसार लेखापरीक्षण टोलीका प्रमुख निर्देशक कृष्णशरण कार्कीले लेखापरीक्षणका क्रममा देखिएका विषय तथा सुधार गर्नुपर्ने पक्षबारे जानकारी गराउँदै पालिकाको वित्तीय तथा प्रशासनिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सुझाव दिनुभएको छ।तर अहिले नै त्यसलाई अन्तिम निष्कर्ष मान्न सकिँदैन।अन्तिम प्रतिवेदन नआएसम्म महालेखाले औपचारिक रूपमा के-कस्ता विषय समेटेको छ भन्ने पुर्ण तस्वीर स्पष्ट हुँदैन।
त्यसैले अहिले सरुमारानीको ध्यान प्रतिवेदनको प्रतीक्षामा मात्र होइन,त्यसबाट आउने सम्भावित सुधारतर्फ पनि जानुपर्ने देखिन्छ।
प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले लेखापरीक्षणका क्रममा प्राप्त सुझावलाई कमजोरीको सुचीका रूपमा मात्र नभई सुधारको अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ। अन्तिम प्रतिवेदन प्राप्त भएपछि त्यसको अध्ययन गरी सम्बन्धित शाखा र जिम्मेवार अधिकारीसँग छलफल गरेर आवश्यक सुधार अघि बढाउने उहाँको भनाई छ।
यहीँबाट लेखापरीक्षणको अर्को पक्ष सुरु हुन्छ।
सरकारी कार्यालयमा खर्च भएको रकमको हिसाब मिल्नु महत्वपुर्ण छ। तर त्यसभन्दा पनि महत्वपूर्ण कुरा हो त्यो रकम सही ठाउँमा,सही प्रक्रियाबाट र नागरिकको हितमा खर्च भयो कि भएन?लेखापरीक्षणले यही प्रश्नको खोजी गर्छ। र प्रतिवेदनले देखाएका विषयलाई सुधारमा बदल्ने जिम्मेवारी सम्बन्धित कार्यालयकै हुन्छ।
सरुमारानीका लागि पनि अब यही चुनौती हो।अन्तिम प्रतिवेदन आएपछि त्यसमा उल्लेख भएका विषयलाई कसरी अध्ययन गरिन्छ ? कुन कमजोरी सुधार गरिन्छ ? जिम्मेवारी कसरी निर्धारण हुन्छ ? आगामी आर्थिक कारोबारलाई अझ पारदर्शी र व्यवस्थित बनाउन के परिवर्तन गरिन्छ ?यी प्रश्नको जवाफ आगामी दिनमा पालिकाले गर्ने कामबाट देखिनेछ।महालेखाको टोली फर्कियो,तर उसले छाडेको प्रश्न भने सरुमारानीमै छ।प्रतिवेदन आएपछि फाइलमा टिप्पणी थपिने मात्र हो कि व्यवहारमा परिवर्तन पनि देखिने हो?किनकि लेखापरीक्षणको सफलता प्रतिवेदन तयार हुनुमा मात्र सीमित हुँदैन। त्यसबाट सिकेर अर्को वर्ष उही कमजोरी दोहोरिन नदिन सक्नु नै वास्तविक सुधार हो।
अहिले अन्तिम प्रतिवेदनको प्रतीक्षा छ। प्रतिवेदनले के भन्छ,त्यो पछि स्पष्ट हुनेछ। तर त्यसअघि नै सरुमारानीसामु एउटा महत्वपूर्ण प्रश्न उभिएको छ-“महालेखाले हेरेर गयो,अब पालिकाले आफुलाई कति सुधारेर देखाउँछ ?”
प्रतिक्रिया राख्नुहोस्