गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्य र शिक्षा एकीकृत गर्नुपर्छ : मन्त्री पुन

गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्य र शिक्षा एकीकृत गर्नुपर्छ : मन्त्री पुन

प्युठान,लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र पुन ‘सिजल’ले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य र शिक्षा क्षेत्रलाई एकीकृत ढंगले अघि बढाउनुपर्ने बताउनुभएको छ।
स्वास्थ्य कार्यालय प्यूठानको अनुगमन तथा कार्यालयद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पुनले मानव स्वास्थ्यमा देखिने समस्यामा मानिसको व्यवहार, चालचलन र जीवनशैलीको ठूलो प्रभाव रहेको बताउनुभयो।
बजारमा पाइने रेडिमेड खानाको अत्यधिक प्रयोग तथा प्लास्टिकजन्य फोहोरका कारण नसर्ने रोगको समस्या भयावह बन्दै गएको उहाँले बताउनुभयो। नागरिकको चेतनास्तरमा सुधार ल्याउन सके स्वास्थ्य क्षेत्रका धेरै समस्या समाधान गर्न सकिने उहाँको भनाइ थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयले हासिल गरेका मुख्य उपलब्धि, सिकाइ तथा देखिएका चुनौतीबारे जानकारी गराउनुभएको थियो।
त्यस्तै,जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जिसीले प्यूठान अस्पतालको भवन अलपत्र अवस्थामा रहेको तथा स्थानीय तहका आधारभूत अस्पताल सञ्चालनमा समस्या रहेको बताउनुभयो। उहाँले प्रदेश सरकारले आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्थापन गर्न आग्रह गर्नुभयो।