राम बहादुर बिश्वकर्मा
प्युठान नगरपालिका-८,बाग्दुला निवासी १४ वर्षीय रिदम कक्षपति (गोलु) सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। लर्निङ हेभेन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत रिदम २०८३ भदौ ८ गते दिउँसो करिब १ः३० बजेदेखि बाग्दुलास्थित निवासबाट सम्पर्कविहीन भएका हुन्।
रिदमका बुबा ऋषि कक्षपतिका अनुसार सुरुमा छोरा साथीहरूसँग खेल्न गएको हुनसक्ने अनुमान गरिएको थियो। बिहान विद्यालय नगएको विषयमा पनि तत्काल जानकारी नभएको र घरमा नदेखिएपछि साथीहरूसँग खेल्न गएको होला भन्ने लागेको उहाँले बताउनुभयो।तर समय बित्दै जाँदा पनि छोरा घर नफर्किएपछि परिवारले आफन्त,साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी सुरु गरेको हो।
तस्बिर : रिदम कक्षपति
बुबा कक्षपतिका अनुसार रिदम अहिलेसम्म अनुशासित स्वभावका बालक थिए। घरबाट बाहिर जाँदा लामो समय सम्पर्कविहीन हुने वा जानकारी नदिई बस्ने उनको बानी थिएन। खराब संगतमा रहेको जानकारीसमेत परिवारलाई नभएको उहाँले बताउनुभयो। केही समयपछि आफैं सम्पर्कमा आउला भन्ने आशा गरिए पनि अहिलेसम्म कुनै जानकारी नआएपछि परिवार थप चिन्तित बनेको छ।
रिदमले जिन्सको हाफ पाइन्ट र लेदरको चप्पल लगाएका छन्। उनको खोजीका लागि परिवारले सबै आफन्त,साथीभाइ,स्थानीयवासी तथा सर्वसाधारणलाई सहयोग गरिदिन आग्रह गरेको छ।
रिदमलाई कसैले कतै देख्नुभएको छ,भेट्नुभएको छ वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने नजिकैको प्रहरी कार्यालयमा तत्काल खबर गरिदिन परिवारले अनुरोध गरेको छ। साथै उनका बुबा ऋषि कक्षपतिको मोबाइल नम्बर ९८४७९८५८१५ मा समेत सम्पर्क गर्न सकिनेछ।
प्रतिक्रिया राख्नुहोस्