एलपी ग्यासका लागि प्युठानमा उपभोक्ताको भीड,प्रशासन भन्छ-आपूर्ति सहज हुँदैछ

एलपी ग्यासका लागि प्युठानमा उपभोक्ताको भीड,प्रशासन भन्छ-आपूर्ति सहज हुँदैछ

राम बहादुर बिश्वकर्मा 
प्युठान,देशभर एलपी ग्यासको आपूर्ति क्रमशः सुधार हुँदै गएको भनिए पनि प्युठान जिल्लामा भने त्यसको प्रत्यक्ष प्रभाव अझै पूर्णरूपमा देखिन सकेको छैन।जिल्लामा ग्यासका सिलिन्डर भित्रिए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको अवस्था कायमै छ।
जिल्ला प्रशासन कार्यालय प्युठानका अनुसार आज मात्रै जिल्लामा ८ सय ६० वटा भेरी ग्यासका सिलिन्डर भित्रिएका छन्। ग्यासका सिलिन्डर जिल्लाका विभिन्न डिपोमा पुगेपछि उपभोक्ताको भीड लागेको थियो।लामो समयदेखि ग्यासको अभाव झेल्दै आएका उपभोक्ता सिलिन्डर लिन बिहानैदेखि डिपोमा पुगेका थिए।
ग्यासको आपुर्ति कम हुँदा खाना पकाउन समस्या भएको भन्दै उपभोक्ताले नियमित र सहज आपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दै आएका छन्।पर्याप्त मात्रामा ग्यास उपलब्ध नहुँदा कतिपय उपभोक्ताले वैकल्पिक इन्धन प्रयोग गर्नुपर्ने बाध्यता समेत रहेको बताएका छन्।
यता,प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले जिल्लामा एलपी ग्यासको आपुर्ति क्रमशः सहज हुँदै गइरहेको बताउनुभएको छ।जिल्लामा आवश्यकताअनुसार ग्यास भित्र्याउने तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँको भनाई छ।
ग्यासका सिलिन्डर जिल्लामा भित्रिने क्रम बढे पनि मागअनुसार पर्याप्त आपुर्ति हुन नसक्दा डिपोमा अझै उपभोक्ताको भीड देखिएको छ।स्थानीय प्रशासनले आगामी दिनमा आपुर्ति थप सहज हुने अपेक्षा गरेको जनाएको छ।
उपभोक्ताले भने ग्यास आएको समयमा मात्रै भीड बढाउने अवस्थाको अन्त्य गर्दै नियमित रूपमा ग्यास उपलब्ध हुने व्यवस्था गर्न माग गरेका छन्।