राम बहादुर बिश्वकर्मा
प्युठान,प्रहरी सेवामा जिम्मेवारीप्रतिको निष्ठा,कार्यसम्पादनमा व्यावसायिकता र कर्तव्यप्रतिको समर्पणले एउटा प्रहरी कर्मचारीको पहिचान निर्माण गर्छ।यही समर्पण र कार्यसम्पादनको कदर गर्दै जिल्ला प्रहरी कार्यालय,प्युठानमा कार्यरत प्रहरी नायब निरीक्षक नरहरी अधिकारी लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट भएका छन्।
प्रहरी सेवामा रहेर कानुन कार्यान्वयन,अपराध नियन्त्रण तथा अनुसन्धानसँगै नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने हुन्छ। आफूलाई दिइएको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै संगठनको उद्देश्यअनुरूप योगदान पुर्याएको भन्दै अधिकारीलाई ‘Best Police of the Month’ को सम्मान प्रदान गरिएको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय,तुलसीपुरबाट जारी सम्मानपत्रमा अधिकारीले संगठनको नीति तथा निर्देशनबमोजिम आफुलाई दिइएको पेशागत जिम्मेवारी र पदीय दायित्व पुर्ण व्यावसायिकताका साथ निर्वाह गरेको उल्लेख छ। त्यस्तै,मातहतका प्रहरी कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्ने,अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्रभावकारी बनाउने र नवप्रवर्तनात्मक कार्यक्रममार्फत प्रहरी संगठनको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्याएको विषयलाई समेत उनको उत्कृष्टताको आधारका रूपमा लिइएको छ।
प्रहरीका लागि हरेक दिन नयाँ चुनौती बोकेर आउँछ। कहिले शान्ति-सुरक्षा कायम गर्नुपर्ने हुन्छ,कहिले अपराध अनुसन्धानमा जुट्नुपर्छ त कहिले नागरिकका गुनासा र समस्यासँग प्रत्यक्ष जोडिनुपर्छ। यस्तो जिम्मेवारीलाई औपचारिकतामा मात्र सीमित नराखी परिणाममुखी ढंगले पूरा गर्नु प्रहरी सेवाको महत्वपूर्ण पक्ष हो। अधिकारीको कार्यसम्पादन पनि यही जिम्मेवारीबोध र व्यावसायिकतासँग जोडिएको छ।
आफि मातहतका प्रहरी कर्मचारीलाई परिचालन गर्दै संगठनको उद्देश्य प्राप्तिमा भुमिका खेल्नु,अपराध अनुसन्धान तथा नियन्त्रणमा सक्रिय रहनु र समुदायमा प्रहरीको सकारात्मक छवि निर्माणमा योगदान दिनु अधिकारीको कार्यसम्पादनका महत्वपूर्ण पक्ष बनेका छन्। प्रहरी सेवामा व्यक्तिगत दक्षतासँगै टिमवर्कको पनि उत्तिकै महत्व हुने भएकाले उनले सहकर्मी तथा मातहतका कर्मचारीको भूमिकालाई समेत महत्वपूर्ण मानेका छन्।
“उत्कृष्ट प्रहरीका रूपमा छनोट हुनु मेरो लागि खुसी र गौरवको विषय हो। यो सम्मान मेरो व्यक्तिगत उपलब्धिभन्दा पनि संगठनप्रति अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा हो। मलाई प्रदान गरिएको जिम्मेवारीलाई इमानदारी,अनुशासन र व्यावसायिकताका साथ निर्वाह गर्दै नागरिकको सुरक्षा र सेवामा निरन्तर सक्रिय रहनेछु,” अधिकारी भन्छन्।
उनी आफुले प्राप्त गरेको सम्मानलाई व्यक्तिगत सफलताका रूपमा मात्र हेर्न चाहँदैनन्। प्रहरी संगठनभित्रको सामूहिक प्रयास,अग्रज अधिकृतको मार्गदर्शन र सहकर्मी तथा मातहतका कर्मचारीको सहयोगलाई पनि उनले उपलब्धिको महत्वपूर्ण आधार मानेका छन्।
“यो सम्मान प्राप्त गर्न सहयोग गर्ने सम्पूर्ण अग्रज प्रहरी अधिकृत,सहकर्मी पत्रकार तथा मातहतका प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दछु। टिमवर्कबिना कुनै पनि उपलब्धि सम्भव हुँदैन।आगामी दिनमा पनि अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउँदै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निरन्तर प्रयास गर्नेछु,” उनी भन्छन्।
प्रहरी सेवाको सफलता अपराध नियन्त्रण र अनुसन्धानमा मात्र मापन हुँदैन। नागरिकले प्रहरीलाई कति विश्वास गर्छन्,प्रहरीको सेवा कति सहज र प्रभावकारी छ र समुदायसँग प्रहरीको सम्बन्ध कस्तो छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ। कानून कार्यान्वयनसँगै नागरिकको विश्वास जित्नु प्रहरी सेवाको अर्को महत्वपूर्ण जिम्मेवारी हो।
अधिकारी पनि प्रहरीप्रति नागरिकको विश्वासलाई आफ्नो सेवाको महत्वपुर्ण आधार मान्छन्। “प्रहरीप्रति नागरिकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। त्यसैले कानून कार्यान्वयनसँगै नागरिकका गुनासा र समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रहरी र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने मेरो प्रयास रहनेछ,” उनी भन्छन्।
समुदायसँग जोडिएर काम गर्ने प्रहरी कर्मचारीले नागरिकका समस्या र अपेक्षालाई नजिकबाट बुझ्ने अवसर पाउँछन्। यसले प्रहरी र नागरिकबीचको दुरी घटाउनुका साथै अपराध नियन्त्रण र शान्ति-सुरक्षाको कामलाई पनि प्रभावकारी बनाउन सहयोग गर्छ। पछिल्लो समय प्रहरी संगठनले नागरिकमैत्री सेवासँगै नवप्रवर्तनात्मक कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको छ। अधिकारीको कार्यसम्पादन मुल्यांकनमा पनि यस्ता प्रयासलाई महत्व दिइएको छ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयले अधिकारीलाई २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै बधाई तथा शुभकामना दिएको छ। कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर क्षेत्रीले जारी गरेको प्रमाणपत्रमा अधिकारीले प्रहरी संगठनको नीति,निर्देशन र जिम्मेवारीअनुसार उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरिएको छ।
उत्कृष्ट प्रहरीको सम्मानले अधिकारीको विगतको कामको मुल्यांकन मात्र गरेको छैन,आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने अपेक्षा पनि थपेको छ। प्रहरी सेवामा प्राप्त हुने यस्ता सम्मानले सम्बन्धित कर्मचारीको मनोबल बढाउनुका साथै अन्य प्रहरी कर्मचारीलाई पनि आफ्नो जिम्मेवारीप्रति थप प्रतिबद्ध भएर काम गर्न प्रेरित गर्छ।
अधिकारीका लागि पनि यो सम्मान एउटा उपलब्धिमा पुगेर रोकिने विषयभन्दा अझ राम्रो काम गर्ने प्रेरणाका रूपमा देखिन्छ। नागरिकको सुरक्षा,कानूनको प्रभावकारी कार्यान्वयन र समुदायसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आफ्नो जिम्मेवारीलाई इमानदारी र व्यावसायिकताका साथ निरन्तरता दिने उनको प्रतिबद्धता छ।
साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा प्राप्त सम्मानले नरहरी अधिकारीको प्रहरी सेवामा रहेको योगदानलाई संस्थागत रूपमा चिनाएको छ। तर एउटा प्रमाणपत्रले उनको यात्राको अन्त्य गर्दैन। बरु नागरिकको विश्वास जित्दै,संगठनको जिम्मेवारीलाई थप प्रभावकारी ढंगले पुरा गर्दै र सहकर्मीहरूसँगको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्ने नयाँ जिम्मेवारी थपेको छ।
प्रतिक्रिया राख्नुहोस्