राम बहादुर बिश्वकर्मा
प्युठान,ग्यास भरेर उपभोक्ताको घर पुग्नुपर्ने सिलिन्डर प्युठानका डिलरमा लामो समयदेखि खाली थन्किएका छन्।अझ रोचक त के छ भने,ग्यासको प्रतीक्षामा रहेका ती सिलिन्डर अहिले तरकारीका लहराले छोपिन थालेका छन्।
डिलर परिसरमा थुपारिएका खाली सिलिन्डरमध्ये कतिपय सिलिन्डर वरिपरि तरकारीका बोट फैलिएका छन् भने कतिपयलाई माथिबाटै हरिया लहराले ढाकेका छन्।ग्यास राख्नुपर्ने ठाउँमा तरकारीका लहरा फैलिएको यो दृश्यले जिल्लामा ग्यास आपूर्तिको अवस्थालाई झल्काएको छ।
सिलिन्डर खाली हुन्छ,डिलरमा पुग्छ र ग्यास भरिएपछि फेरि उपभोक्ताको भान्सामा फर्किनुपर्ने हो। तर आपूर्ति नियमित नहुँदा लामो समयदेखि डिलरमै थन्किएका सिलिन्डरमाथि तरकारीका लहरा फैलिएका हुन्।
ग्यास खोज्दै खाली सिलिन्डर बोकेर डिलर पुग्ने उपभोक्ताको समस्या भने उस्तै छ। कतिपय उपभोक्ता ग्यास आउने आशामा पटक-पटक डिलर पुग्ने गरेका छन्। ग्यास नपाउँदा खाना पकाउन वैकल्पिक उपाय अपनाउनुपरेको उनीहरूको गुनासो छ।
कतिपय उपभोक्ताले किराना पसलमा ग्यास उपलब्ध भए पनि नियमित ग्राहकलाई प्राथमिकता दिइने र आफुहरूले सहज रूपमा ग्यास नपाउने गरेको गुनासो गरेका छन्।
नाम उल्लेख नगर्ने सर्तमा एक उपभोक्ताले आफु ग्यास लिन किराना पसल पुग्दा ग्यास भएर पनि नपाएको बताए। “पसलमा ग्यास भएर पनि नियमित ग्राहकलाई मात्र दिने गरेको पाइयो।हामीजस्ता ग्राहकले माग्दा ग्यास छैन भनेर फर्काइन्छ,”उहाँले भन्नुभयो।ग्यास नपाउँदा घरको भान्सा चलाउनै समस्या भएको उनको गुनासो छ। “ग्यास नपाएपछि राइस कुकरमा खाना पकाएर चटनीसँग मात्र खानुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो।
डिलर सञ्चालकहरू भने मागअनुसार ग्यास प्राप्त हुन नसकेको बताउँछन्। आपूर्ति कम हुँदा खाली सिलिन्डर थन्किँदै गएको र उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध गराउन कठिन भएको उहाँहरूको भनाइ छ।
ग्यासको अभावले घरायसी उपभोक्तासँगै होटल,चिया तथा नास्ता व्यवसायीसमेत प्रभावित भएका छन्। ग्यासको सट्टा अन्य इन्धन प्रयोग गर्दा खर्च बढेको उहाँहरूको गुनासो छ।
यता प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले मागको तुलनामा आपूर्ति कम हुँदा ग्यासको अभाव भएको बताउनुभएको छ। पछिल्ला केही दिनयता भने अवस्था पहिलेको तुलनामा सहज हुँदै गएको उहाँको भनाइ छ।
“माग बढी र आपूर्ति कम भएकाले ग्यासको अभाव भएको हो। केही दिनयता पहिलेको भन्दा सहज भएको छ,” प्रसाईंले भन्नुभयो।
प्रशासनले आपूर्ति सहज हुँदै गएको बताए पनि डिलरमा खाली सिलिन्डर थन्किएका छन्। ती सिलिन्डरलाई छोप्दै फैलिएका तरकारीका लहराले भने ग्यासको प्रतीक्षा कति लामो भयो भन्ने दृश्य आफैं बोलिरहेको छ।
चुलोमा पुग्नुपर्ने सिलिन्डर डिलरमै थन्किएपछि त्यसलाई तरकारीका लहराले छोपेको छ प्युठानको ग्यास अभावको यो दृश्यले उपभोक्ताको सास्तीभन्दा फरक कथा सुनाइरहेको छ।
प्रतिक्रिया राख्नुहोस्