राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानको मरन्ठाना,पहाडको काखमा रहेको एउटा गाउँको एकान्त स्थान चिसापानी।यही गाउँमा बसेर एक किसानले वर्षौंअघि एउटा प्रश्न गरे माछा पोखरीमा पालिने सीपीबाट मोती निकाल्न सकिन्छ कि सकिँदैन?प्रश्न सामान्य थियो। तर त्यसको उत्तर खोज्ने यात्रा सामान्य रहेन।
प्युठान नगरपालिका ९ का दिन बहादुर जि.सि ले त्यो प्रश्नको उत्तर खोज्दाखोज्दै दुई दशकभन्दा बढी समय बिताउनुभयो। समय बित्दै गयो,उहाँको प्रयोग बदलिँदै गए,चुनौती थपिँदै गए,तर एउटा कुरा बदलिएन नयाँ सम्भावना खोज्ने उहाँको हुटहुटी।
यही हुटहुटीलाई नेपालका विख्यात पर्यटनकर्मी कर्ण शाक्यले ‘हिरो’को विशेषता देख्नुभएको छ।शाक्यसँगको भेटमा दिन बहादुर जि.सि ले आफ्ना अनुभव सुनाउँदा त्यो कुनै औपचारिक अन्तर्वार्ताजस्तो थिएन।शाक्य निवासमा भएको संवादमा एउटा किसानले आफ्नो जिवनका प्रयोगहरू सुनाइरहनुभएको थियो,शाक्यले ती प्रयोगभित्र लुकेको सोचलाई नियालिरहनुभएको थियो।कुराकानीको केन्द्रमा थियो सिपी र मोती।तर मोतीको कथा सुन्नुअघि दिन बहादुर जि.सि को पुरानो यात्रा बुझ्नुपर्छ। किनकि मोतीको खोज उहाँको पहिलो प्रयोग थिएन।२०५२ सालमा मरन्ठाना पाखाचितिमा ५ किलोवाटको लघु जलविद्युत् उत्पादनको प्रयास गर्नुभएको थियो।
गाउँको पानीबाट गाउँमै उज्यालो निकाल्ने सोच थियो। त्यसपछि २०६१ सालमा ‘एक्लो गोरु जोत्ने अभियान’ सुरु भयो।२०६२ सालमा माछापालन र २०६५ सालमा कालो धान खेतीमा उहाँले हात हाल्नुभयो।यसरी हेर्दा उहाँको जिवनमा एउटा अनौठो लय देखिन्छ एउटा काम सुरु हुन्छ,अनुभव थपिन्छ र त्यसपछि नयाँ प्रश्न जन्मिन्छ।त्यही प्रश्नले उहाँलाई फेरि अर्को कामतर्फ लैजान्छ।२०७६ सालमा सिपी पालन र मोती उत्पादनको प्रयोग सुरु हुँदा पनि उहाँको यही स्वभाव दोहोरियो।
आफ्नै माछा पोखरीमा सिपी पाल्न थाल्नुभयो। मोती उत्पादनको सम्भावना खोज्नुभयो।परिणामका लागि कुर्नुभयो। प्रयोग गर्नुभयो। फेरि सुधारको प्रयास गर्नुभयो।
तस्बिर :नेपालका विख्यात पर्यटनकर्मी कर्ण शाक्यले ‘हिरो’को विशेषता देखेका प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठा चिसापानीका दिन बहादुर जि.सि
दुई दशक लामो यो यात्रामा मोती उहाँका लागि केवल उत्पादन थिएन। त्यो एउटा सपना थियो। त्यो सपनाभन्दा पनि ठुलो थियो आफ्नै ठाउँमा नयाँ कुरा गर्न सकिन्छ भन्ने विश्वास।कर्ण शाक्यले यही कुरा देख्नुभयो।दिन बहादुर जि सि का बारेमा आफ्नो चर्चित पुस्तक ‘खोज’ मा समेत उल्लेख गर्नुभएका शाक्यले उहाँको प्रयासलाई एउटा किसानको निजी प्रयोगभन्दा माथि राख्नुभएको छ।उहाँका लागि महत्वपूर्ण कुरा मोती उत्पादन भयो कि भएन भन्ने मात्र होइन,एउटा मानिसले वर्षौंसम्म एउटा सम्भावनाको खोजीमा आफ्नो समय,श्रम र धैर्य लगाइरहनु हो।
यहीँबाट दिन बहादुर जि.सि को कथा मोतीभन्दा ठूलो बन्न पुग्छ।किनकि उहाँको जीवनको उपलब्धि कुनै एउटा उत्पादनमा मात्र अडिएको छैन।
२०७८ सालमा स्ट्रबेरी खेती गर्नुभयो। २०८१ सालमा पेपिनो मेलन खेती सुरु गर्नुभयो। २०८२ सालमा दालचिनीको पातबाट तेल उत्पादन गर्ने प्रयास गर्नुभयो।यी सबै कामको सुची हेर्दा लाग्छ उहाँलाई एउटा कामले कहिल्यै लामो समयसम्म बाँधेर राख्न सकेन।उहाँको मन सधैं अर्को सम्भावनातर्फ गइरह्यो।आजको समयमा धेरैले ‘के गर्दा छिटो आम्दानी हुन्छ?’भनेर प्रश्न गर्छन्। दिन बहादुर जि.सि ले भने धेरैपटक ‘के गर्न सकिन्छ?’भनेर प्रश्न गर्नुभएको देखिन्छ।यी दुई प्रश्नबीच ठूलो फरक छ।पहिलो प्रश्नले बजार खोज्छ। दोस्रो प्रश्नले सम्भावना खोज्छ।जि.सि को जिवन दोस्रो प्रश्नको यात्राजस्तो छ।उहाँले आफ्नो गाउँको पानीलाई ऊर्जा बनाउने सम्भावना खोज्नुभयो।परम्परागत कृषि अभ्यासलाई फरक ढंगले गर्ने प्रयास गर्नुभयो। पोखरीमा माछासँगै सिपी र मोतीको सम्भावना देख्नुभयो।नयाँ बाली परीक्षण गर्नुभयो। दालचिनीको पातलाई पनि उपयोगी उत्पादनमा बदल्ने प्रयास गर्नुभयो।अर्थात्,उहाँले गाउँलाई केवल बस्ने ठाउँका रूपमा हेर्नुभएन।प्रयोग गर्ने ठाउँका रूपमा हेर्नुभयो।यही दृष्टिले उहाँलाई अरूभन्दा फरक बनाउँछ।तर यस्तो यात्रा सजिलो थिएन।नयाँ काममा जोखिम हुन्छ।जानकारीको अभाव हुन सक्छ।बजारको समस्या आउन सक्छ।प्रविधि र स्रोतसाधनको कमी हुन सक्छ।अपेक्षित परिणाम नआउन सक्छ।तर उहाँको यात्रामा असफलता अन्त्य बनेन।त्यसले अर्को प्रयासको आधार बन्यो।सायद यही कारण उहाँसँगको संगत‘सिक्नलायक’हुन्छ।उहाँसँग लामो समय कुरा गर्दा ठुला सिद्धान्तभन्दा आफ्नै अनुभवका कुरा आउँछन्।
खेतमा गरेको प्रयोग,पोखरीमा देखेको सम्भावना,नयाँ बालीको अनुभव र वर्षौंसम्म मोतीको खोजी गर्दाको धैर्य।यी कुरा सुन्दा एउटा निष्कर्षमा पुग्न सकिन्छ सिर्जनशीलता केवल कल्पनामा हुँदैन। सिर्जनशीलता हातमा माटो लागेपछि,जोखिम लिएपछि र परिणामका लागि कुर्न थालेपछि वास्तविक बन्छ।
दिन बहादुर जि.सि ले त्यो वास्तविक सिर्जनशीलता आफ्नो जिवनमा अभ्यास गर्नुभएको छ।तर यतिबेला उहाँ आफ्नै प्रयोगको संसारबाट केही समय टाढा हुनुहुन्छ।२०८३ असार १२ गते आफ्नै माछा पोखरीमा दाना खुवाउने क्रममा लडेर घाइते भएपछि उहाँ स्पाइनल इन्जुरीको उपचारका लागि काठमाडौंमा हुनुहुन्छ।
जिवनभर सक्रिय रहनुभएका उहाँका लागि अहिलेको समय पक्कै सहज छैन।पोखरी,खेत र नयाँ प्रयोगभन्दा अहिले अस्पताल र स्वास्थ्यलाभ प्राथमिकतामा छन्।तर मानिसको शरीर केही समय थाक्न सक्छ,यात्रा केही समय रोकिन सक्छ सपनाको अर्थ भने त्यतिले सकिँदैन।दिन बहादुर जि.सि को मोती खोज अझै एउटा अधुरो प्रश्नजस्तो छ। तर त्यो अधुरोपनमै पनि यसको सुन्दरता छ। किनकि हरेक खोजको मुल्य केवल अन्तिम परिणाममा हुँदैन,खोज्दै हिँडेको यात्रामा पनि हुन्छ।उहाँले हामीलाई मोतीभन्दा ठूलो कुरा दिनुभएको छ खोज्ने बानी।आफ्नै ठाउँमा खोज्ने बानी,नयाँ कुरा सोच्ने बानी।प्रयोग गर्ने बानी,असफलतापछि फेरि उठ्ने बानी।
कर्ण शाक्यले उहाँलाई ‘हिरो’ भन्नुभएको कारण सायद यही हो।दिन बहादुर जि.सि कुनै ठुलो मञ्चमा उभिएर आफूलाई हिरो साबित गर्ने व्यक्ति होइन। उहाँ मरन्ठानाको आफ्नै माटोमा बसेर काम गर्दै जाँदा अरूका लागि प्रेरणाको पात्र बन्नुभएको व्यक्ति हुनुहुन्छ।उहाँको तीन दशक लामो यात्रा हेर्दा एउटा कुरा प्रस्ट हुन्छ सम्भावना खोज्न ठाउँ ठुलो हुनुपर्दैन,सोच ठूलो हुनुपर्छ।मोती भेटियो कि भेटिएन भन्ने प्रश्नभन्दा पनि ठुलो कुरा उहाँले खोजी छोड्नुभएन।र यही कारण दिन बहादुर जि.सि को कथा मोतीको कथा मात्र होइन।यो एउटा किसानले आफ्नो जिवनलाई प्रयोगशाला बनाएको कथा हो।यो आफ्नै माटोमाथि विश्वास गरेको कथा हो।यो असफलताको डरभन्दा जिज्ञासालाई ठुलो बनाएको कथा हो।र सबैभन्दा बढी,यो एउटा मानिसले दुई दशकभन्दा लामो समयसम्म एउटै सपनालाई मर्न नदिएको कथा हो।सायद त्यसैले कर्ण शाक्यका लागि दिन बहादुर जि.सि ‘हिरो’हुनुहुन्छ।किनकि केही मानिसले आफ्नो जीवनबाट उपलब्धि कमाउँछन्,केहीले धन कमाउँछन्,केहीले नाम कमाउँछन्।तर दिन बहादुर जि.सि ले आफ्नो यात्राबाट एउटा प्रश्न छोड्नुभएको छ ‘हामीले आफ्नै माटोमा अझै के-के सम्भावना खोज्न बाँकी छ?’त्यो प्रश्न नै उहाँको सबैभन्दा ठूलो सिर्जना हुन सक्छ।
प्रतिक्रिया राख्नुहोस्