रिहाइ आदेशपछि पनि किशोर श्रेष्ठमाथि प्रहरीको धरपकड

काठमाडौं,सर्वोच्च अदालतले हाजिर जमानीमा रिहा गर्न आदेश दिए पनि जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पुनः हिरासतमा राख्ने प्रयास गरेको छ।
सर्वोच्च अदालतको आदेशअनुसार रिहाइको प्रक्रिया अघि बढाउन वकिल तथा पत्रकारसहित जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका श्रेष्ठमाथि प्रहरीले पुनः धरपकडको प्रयास गरेको हो।
सर्वोच्च अदालतले श्रेष्ठलाई हाजिर जमानीमा रिहा गरेर वा तारिखमा राखी मुद्दाको अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंका नाममा परमादेश जारी गरेको थियो। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंले व्यक्तिगत गोपनीयता उल्लंघनसम्बन्धी जाहेरीका आधारमा पक्राउ गरी हिरासतमा राखेको थियो। त्यसविरुद्ध श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्।
सर्वोच्चको आदेशपछि रिहाइका लागि प्रहरी परिसर पुगेका श्रेष्ठलाई प्रहरीले भने बयान अझै नसकिएको भन्दै पुनः हिरासतमा राख्ने प्रयास गरेको बताइएको छ।
प्रहरीले हिरासतमा लैजान खोजेपछि उपस्थित पत्रकार तथा कानुन व्यवसायीले त्यसको प्रतिकार गरेका थिए। सर्वोच्च अदालतको स्पष्ट आदेश हुँदाहुँदै पनि श्रेष्ठलाई हिरासतमा राख्ने प्रयास गरिएको भन्दै घटनालाई लिएर प्रश्न उठेको छ।