राम बहादुर बिश्वकर्मा
प्युठान,एउटा खाली सिलिन्डर बोकेर ग्यास पसल पुग्दा उपभोक्ताको पहिलो प्रश्न हुन्छ-‘ग्यास आयो ?’
पछिल्लो समय प्यूठानमा यही प्रश्न धेरैको दैनिकी बनेको छ। बजारमा ग्यासको अभाव देखिएपछि उपभोक्ता सहज आपूर्तिको प्रतीक्षामा छन्। ग्यास नपाउँदा खाना पकाउनेदेखि होटल तथा व्यवसाय सञ्चालनसम्म प्रभावित हुन थालेको छ।
अत्यावश्यक वस्तुको रूपमा रहेको ग्यासको आपुर्ति र वितरणमा समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय प्यूठानले बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा ग्यास व्यवसायी तथा विक्रेतासँग उपलब्धता र वितरण अवस्थाबारे जानकारी लिइएको हो।
अनुगमनकै क्रममा प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले विद्यार्थीका लागि १० प्रतिशत ग्यास सिलिन्डर छुट्याउन निर्देशन दिएका छन्।
ग्यास अभावको समयमा विद्यार्थी पनि उपभोक्ताको महत्वपूर्ण समुह भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर छुट्टै व्यवस्था गर्न लागिएको प्रशासनको भनाई छ।
विशेषगरी घरबाट टाढा बसेर अध्ययन गर्ने विद्यार्थीले खाना पकाउने ग्यासको अभाव झेल्नुपर्दा पढाइसँगै दैनिक जिवनमा समेत समस्या उत्पन्न हुन सक्छ। त्यसैले उपलब्ध ग्यासमध्ये निश्चित प्रतिशत विद्यार्थीका लागि सुरक्षित राख्ने निर्णय गरिएको हो।
उहाँका अनुसार अब विद्यार्थीले आफ्नो परिचयपत्र देखाएर ग्यास लिन सक्नेछन्। सम्बन्धित विक्रेताले विद्यार्थीको परिचयपत्रका आधारमा छुट्याइएको कोटाबाट ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउनेछन्।
राहतसँगै चुनौती पनि
१० प्रतिशत ग्यास विद्यार्थीका लागि छुट्याउने निर्णयले तत्काल राहत दिने अपेक्षा गरिएको छ। तर त्यसको कार्यान्वयन सहज भने छैन।
छुट्याइएको ग्यास वास्तविक विद्यार्थीले पाउने वातावरण बनाउनु,एउटै व्यक्तिले दोहोरो सुविधा नलिनु र वितरणमा पारदर्शिता कायम गर्नु चुनौतीपूर्ण पक्ष हुन्। त्यसका लागि ग्यास विक्रेता,विद्यार्थी र प्रशासनबीच समन्वय आवश्यक हुनेछ।
अनुगमन किन आवश्यक ?
ग्यास अभाव हुँदा उपभोक्ताको समस्या केवल ‘ग्यास नपाउनु’ मा सीमित हुँदैन। अभावको मौका छोपेर मुल्य बढाउने,कृत्रिम अभाव सिर्जना गर्ने वा पहुँचका आधारमा वितरण हुने जोखिम पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
त्यसैले प्रशासनको अनुगमनले बजारमा ग्यासको वास्तविक अवस्था पहिचान गर्नुका साथै वितरण प्रणालीलाई व्यवस्थित बनाउन भुमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्