जब मेड्पा कार्यक्रमले बदल्यो चुमाको सोच,खुल्यो आत्मनिर्भरताको बाटो

जब मेड्पा कार्यक्रमले बदल्यो चुमाको सोच,खुल्यो आत्मनिर्भरताको बाटो

राम बहादुर विश्वकर्मा
प्युठान,कहिल्यै आफ्नै व्यवसाय गर्ने कल्पना पनि गरेकी थिइनन् सरुमारानी गाउँपालिका-३,हंसपुरकी २६ वर्षीया चुमा गुरुङलेले।आर्थिक अभावका कारण कक्षा ५ मै विद्यालय छोड्नुपर्‍यो। पढेर केही बन्ने सपना अधुरै रह्यो।१६ वर्षको उमेरमै विवाह भएपछि बाल्यकालका रहरहरू जिम्मेवारीको भारीमुनि दबिए। श्रीमान् रोजगारीका लागि विदेशिएपछि घरधन्दा,खेतीपाती,परिवारको हेरचाह र दैनिक जीवनका सबै जिम्मेवारी उनकै काँधमा आए। बिहानदेखि साँझसम्म काममै व्यस्त रहने उनको जीवनमा आफ्नै आम्दानीको कुनै स्रोत थिएन। "जीवन यत्तिकै चल्छ होला" भन्ने सोचमै उनी दिन बिताइरहेकी थिइन्। भविष्यप्रति उनी आफैं पनि अन्योलमा थिइन्।

तर एउटा अवसरले उनको जिवनको दिशा नै बदलिदियो।

सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) मा सहभागी हुने अवसर पाएपछि उनले पहिलो पटक उद्यमशीलता र बुटिकसम्बन्धी सीप सिक्ने मौका पाइन्।सुरुमा आफूले सिक्न सकिन्छ कि सक्दैन भन्ने ठूलो डर थियो।धेरै पढ्न नपाएकाले अरूजस्तो गर्न नसकिएला भन्ने चिन्ताले सताउँथ्यो। तर प्रशिक्षक र उद्यम विकास सहजकर्ताको निरन्तर हौसलाले त्यो डर विस्तारै हट्दै गयो।मेहनत,लगन र सिक्ने इच्छाले उनी तालिममा अघि बढिन् र बुटिक कलाको सीपसँगै आत्मविश्वास पनि हासिल गरिन्।

कपडामा आकर्षक बुटिक भर्दै चुमा गुरुङ 


मेड्पा कार्यक्रमले उनलाई कपडामा बुटिक भर्ने सीप मात्र सिकाएन। व्यवसाय सञ्चालनका आधारभूत सिद्धान्त,लागत व्यवस्थापन,नाफा-घाटा विश्लेषण,बचत गर्ने बानी,ग्राहकसँगको व्यवहार,बजारको आवश्यकता पहिचान तथा व्यवसाय विस्तारका उपायबारे पनि व्यवहारिक ज्ञान दियो। यही ज्ञानले उनको सोच परिवर्तन गरिदियो। अब उनी अरूमाथि निर्भर रहने होइन,आफ्नै मेहनत र सिपबाट भविष्य बनाउन सकिन्छ भन्ने विश्वासले भरिइन्।

 


तालिम सम्पन्न भएपछि उनले आफ्नै गाउँमा सानो बुटिक व्यवसाय सुरु गरिन्।सुरुआती दिन सहज थिएनन्। ग्राहक कम थिए,आम्दानी सीमित थियो र धेरैले उनको कामप्रति विश्वास गर्न समय लगाए। तर उनले गुणस्तरमा कहिल्यै सम्झौता गरिनन्। ग्राहकले भनेअनुसार समयमै काम पूरा गर्ने,नयाँ डिजाइन सिक्ने र आकर्षक बुटिक तयार गर्ने उनको मेहनतले विस्तारै ग्राहकको मन जित्न थाल्यो।
आज गाउँका महिलादेखि छिमेकी क्षेत्रका ग्राहकसम्म बुटिकको कामका लागि उनीकहाँ पुग्ने गरेका छन्।साडी,कुर्ता,ब्लाउज,सुरुवाललगायत विभिन्न पोशाकमा आकर्षक बुटिक डिजाइन तयार गर्ने उनको कामले राम्रो पहिचान बनाएको छ। दैनिक घरधन्दासँगै व्यवसायलाई निरन्तरता दिँदै उनले नियमित आम्दानी गर्न थालेकी छन्। 


चुमा भन्छिन्,"पहिले म अरूमा निर्भर थिएँ।आफ्नै कमाइ हुन्छ भन्ने कल्पना पनि गरेकी थिइन। मेड्पा कार्यक्रममा सहभागी भएपछि मैले सिप मात्र सिकिन,आत्मविश्वास पनि पाएँ। अहिले आफ्नै मेहनतबाट कमाउन थालेकी छु।आफ्नो खर्च आफैं चलाउन,परिवारलाई सहयोग गर्न र आफ्ना आवश्यकताहरू पूरा गर्न सक्दा निकै खुसी लाग्छ। ग्राहकहरूले मेरो काम मन पराएर फेरि-फेरि आउँदा अझ राम्रो काम गर्ने प्रेरणा मिल्छ। अब व्यवसायलाई अझ विस्तार गर्ने र भविष्यमा अरू महिलालाई पनि रोजगारी दिने सपना देखेकी छु।"


उनका अनुसार व्यवसायबाट हुने आम्दानीले घरखर्चमा सहयोग पुगेको छ। आफ्नै कमाइले परिवारको आवश्यकतामा हातेमालो गर्न सक्नु उनको सबैभन्दा ठूलो उपलब्धि बनेको छ। पहिले घरभित्र सीमित रहेकी उनी अहिले गाउँमै सफल उद्यमीका रूपमा चिनिन थालेकी छन्।
सरुमारानी गाउँपालिकाकी उद्यम विकास सहजकर्ता सिता बि.क.का अनुसार मेड्पा कार्यक्रमको मुख्य उद्देश्य ग्रामीण क्षेत्रमा रहेका विपन्न तथा बेरोजगार नागरिकलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउनु हो।
उनी भन्छिन्,"हामी तालिम दिएर मात्र छाड्दैनौं। व्यवसाय कसरी सुरु गर्ने,कसरी सञ्चालन गर्ने,बजार संग कसरी जोडिने र व्यवसायलाई दिगो कसरी बनाउने भन्ने विषयमा पनि निरन्तर सहजीकरण गर्छौं। तालिमपछि धेरै महिलाले आफ्नै उद्यम सुरु गरेका छन्। उनीहरूले परिवारको आयआर्जन बढाउनुका साथै समाजमा पनि उदाहरणीय भूमिका निर्वाह गरिरहेका छन्।"
ग्रामीण क्षेत्रमा अझै पनि धेरै महिलाको क्षमता अवसरको अभावमा घरभित्रै सीमित हुने गरेको छ। आर्थिक अवस्था कमजोर हुँदा उनीहरू सिप सिक्ने र व्यवसाय सुरु गर्ने अवसरबाट वञ्चित हुने गरेका छन्।यस्ता अवस्थामा स्थानीय सरकारको पहल,सिपमुलक तालिम र निरन्तर प्रोत्साहनले महिलाको जिवनमा ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने ज्वलन्त उदाहरण बनेकी छन् चुमा।

मेड्पा कार्यक्रमले उनको हातमा सीप मात्र दिएको छैन,जिवनप्रतिको दृष्टिकोण पनि बदलिदिएको छ। एक समय भविष्यप्रति अन्योलमा रहेकी महिलाले आज आफ्नै मेहनत,सिप र लगनशीलताका बलमा आर्थिक रूपमा आत्मनिर्भर बन्न सफल भएकी छन्। उनको बुटिक पसलले आज केवल कपडामा डिजाइन भर्दैन,बरु संघर्षलाई सफलतामा रूपान्तरण गर्ने कथा,आत्मविश्वासको सन्देश र ग्रामीण महिलाका लागि नया सम्भावनाको ढोका पनि खोलिरहेको छ।


चुमाको यात्रा एउटा व्यक्तिको सफलता मात्र होइन,सही अवसर,उचित तालिम र स्थानीय सरकारको प्रभावकारी सहयोग मिले ग्रामीण महिलाले पनि सम्मानजनक आयआर्जन गर्दै आफ्नै पहिचान स्थापित गर्न सक्छन् भन्ने सशक्त प्रमाण हो।