राम बहादुर बिश्वकर्मा
प्युठान,राष्ट्रिय विद्युत् प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउने जलविद्युत् आयोजना रहेको प्यूठान जिल्लाका नागरिकले भने वर्षौंदेखि भरपर्दो विद्युत् सेवाबाट वञ्चित हुनुपरेको भन्दै सरोकारवालाले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाल पत्रकार महासंघ प्यूठान शाखाको आयोजनामा मङ्गलबार जुम्रीमा सम्पन्न"प्यूठानको दीर्घकालीन विद्युत् समस्या समाधान" विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले उत्पादन हुने जिल्लाका बासिन्दाले नै बारम्बार विद्युत् अवरोध,न्यून भोल्टेज र अनियमित आपुर्तिको समस्या भोग्नु दुःखद र अन्यायपूर्ण अवस्था भएको बताए।
वक्ताहरूका अनुसार विद्युत् आपूर्तिको अस्थिरताले दैनिक जनजीवन मात्र नभई शिक्षा,स्वास्थ्य,कृषि,उद्योग,व्यवसाय तथा सरकारी सेवासमेत प्रभावित हुँदै आएको छ। ग्रामीण बस्तीका उपभोक्ता अझ बढी समस्यामा परेका छन् भने व्यवसायीले आर्थिक नोक्सानी बेहोर्नुपरेको गुनासो समेत कार्यक्रममा उठाइएको थियो।
उनीहरूले प्युठानमा उत्पादन हुने विद्युतको प्रतिफल स्थानीय नागरिकले पनि अनुभूति गर्न पाउनुपर्नेमा जोड दिँदै वितरण प्रणालीको आधुनिकीकरण,पर्याप्त क्षमताका ट्रान्सफर्मर जडान,जिर्ण संरचनाको प्रतिस्थापन तथा दीर्घकालीन लगानीमार्फत विद्युत् आपूर्तिलाई भरपर्दो बनाउन आग्रह गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि.सि,माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी, प्युठान नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रेशम कार्की,प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाई,प्रहरी नायव उपरीक्षक नरहरि अधिकारी,नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रका प्रमुख प्रशान्त कुमार झा,जलविद्युत् क्षेत्रका प्रतिनिधि शोभाखर पन्त,प्युठान उद्योग वाणिज्य संघका महासचिव झबिन्द्र शर्मा,सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियामा सहभागीहरूले प्युठानको विद्युत् समस्या समाधानका लागि स्थानीय तह,नेपाल विद्युत् प्राधिकरण, झिमरुक जलविद्युत् आयोजना तथा संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकाल्दै समस्या समाधानका लागि ठोस कार्ययोजना तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका थिए। उनीहरूले उत्पादनको केन्द्रमा रहेका नागरिकले पनि गुणस्तरीय,नियमित र सुरक्षित विद्युत् सेवा पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा विशेष जोड दिएका छन्।
कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले प्युठानको विद्युत समस्या वर्षौंदेखि समाधान हुन नसक्नु जिल्लाका लागि गम्भीर चिन्ताको विषय भएको बताउनुभयो।जलविद्युत उत्पादनमा महत्वपूर्ण योगदान पुर्याइरहेको जिल्लाका नागरिकले नै भरपर्दो विद्युत् सेवा नपाउनु दुःखद अवस्था भएको उल्लेख गर्दै उहाँले अब समस्या पहिचानभन्दा समाधानतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।
अध्यक्ष भण्डारीले अन्तरक्रियामा उठेका सुझाव र सरोकारलाई नेपाल विद्युत प्राधिकरण,स्थानीय तह,जलविद्युत आयोजना तथा संघीय सरकारसम्म पुर्याइने जानकारी दिँदै समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो।उहाँले पत्रकार महासंघले जनसरोकारका विषयमा निरन्तर आवाज उठाउने र नागरिकका साझा मुद्दालाई नीतिगत तहसम्म पुर्याउन आफ्नो भूमिका सशक्त रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा शाखाका सह-सचिव बोम बहादुर परियारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने शाखाका सचिव बासुदेव गिरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्