एक महिनाकी नवजात छोरीलाई छोडेर हराएकी आमाको शव खोलामा भेटियो

राम बहादुर बिश्वकर्मा
प्युठान,आमाको काखमा सुरक्षित हुनुपर्ने ३३ दिनकी नवजात छोरी अहिले आफन्तको काखमा छिन्। छोरीको उपचार गराउन भन्दै घरबाट निस्किएकी आमा भने कहिल्यै नफर्किने गरी बिदा भइन्। झिमरुक गाउँपालिका-२ गडेरीपानीकी बेदना थापाको जिवनको अन्त्य झिमरुक खोलामा भएको अवस्थामा भेटिएपछि सिंगो गाउँ शोकमा डुबेको छ।
प्रहरीका अनुसार डिपाल थापाको श्रीमति अन्दाजी २५/२६ बर्षकी बेदना थापा एक महिनाकी छोरीलाई उपचारका लागि बुटवल लैजाने भन्दै घरबाट हिँडेकी थिइन्।साउन १८ गते बिहान करिब १०:३० बजे  ढाड बजार पुगेपछि उनले छिमेकी सन्तोष के.सि.लाई "मेरो बच्चा केहीबेर समाइदिनु" भन्दै छोरी जिम्मा लगाइन्। त्यसपछि उनी एक्लै हिँडिन् र सम्पर्कविहीन भइन्।
परिवारले खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि सोही दिन इलाका प्रहरी कार्यालय ओखरकोटमा खबर गरियो। प्रहरी निरीक्षक निर्दोष जि.सि को नेतृत्वमा टोली परिचालन गरी खोजी सुरु गरियो। निरन्तरको खोजतलासपछि झिमरुक गाउँपालिका-५ स्थित झिमरुक खोलामा बेदना मृत अवस्थामा फेला परिन्।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय प्यूठानबाट प्रहरी निरीक्षक गणेश ज्ञवालीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ।घटनास्थलको मुचुल्का,प्रमाण सङ्कलन र शव परीक्षणको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्नेछ।
यस घटनाले एउटा परिवारलाई मात्र होइन,सिंगो समुदायलाई स्तब्ध बनाएको छ। जन्मिएको एक महिनामात्रै भएको शिशुले आमाको माया नपाउँदै आमालाई गुमाउनुपरेको पीडा सबैका लागि मार्मिक बनेको छ।सामाजिक सञ्जालदेखि स्थानीय बस्तीहरूसम्म यही घटनाले चर्चा पाइरहेको छ।