राम बहादुर बिश्वकर्मा
प्युठान,"पानीको अभाव कति ठूलो पीडा हो भन्ने कुरा त्यही मान्छेले बुझ्छ,जसले बिहानको उज्यालोसँगै गाग्री बोकेर मुहानको बाटो समातेको हुन्छ।"
सरूमारानी गाउँपालिका-६,बुढिचौरमा अहिले बिहानको दृश्य फेरिएको छ। कुनै समय पानीको पालो कुर्दै लामबद्ध गाग्रीहरू देखिने गाउँमा आज घर-घरका धाराबाट स्वच्छ पानी झरिरहेको छ। वर्षौँसम्म अभावसँग सम्झौता गर्दै बाँच्न बाध्य भएका स्थानीयका लागि यो केवल खानेपानी आयोजना होइन,जिवनको नयाँ अध्याय हो।
पहिले बुढिचौरका महिलाको दिन भान्साबाट होइन,मुहानबाट सुरु हुन्थ्यो। पानी ल्याएर फर्कँदासम्म घाम निकै माथि पुगिसकेको हुन्थ्यो। बालबालिका विद्यालय जानुअघि गाग्री बोक्थे,वृद्धवृद्धा पानीको प्रतीक्षामा बस्नुपर्थ्यो। एउटा गाग्री पानीले घरको सबै आवश्यकता पुरा गर्न नसक्दा कतिपटक परिवारभित्र चिन्ता र गाउँभरि तनाव सिर्जना हुन्थ्यो।
आज ती सबै दृश्य सम्झनामा सीमित हुन थालेका छन्।
सरुमारानी गाउँपालिका,नेपाल स्वास्थ्यका लागि नेवा र स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण सम्पन्न चप्लिखोला-बुढिचौर खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा आएपछि ९४ घरधुरीमा सुरक्षित खानेपानी पुगेको छ। श्रमरानी माध्यमिक विद्यालयमा तिन वटा बालमैत्री धारा र स्थानीय स्वास्थ्य संस्थामा एक धारा निर्माण भएपछि विद्यार्थी,शिक्षक,स्वास्थ्यकर्मी र सेवाग्राहीले समेत सहज सेवा पाएका छन्।
तर यो आयोजनाको सबैभन्दा ठूलो उपलब्धि पाइप,ट्याङ्की वा धाराको निर्माण होइन। सबैभन्दा ठूलो उपलब्धि भनेको स्थानीयको जिवनमा आएको परिवर्तन हो।
स्थानीय गणेश बैजाली आफ्नो विगत सम्झँदै भन्छन्,"बान्द्रेखोलाको कुवाबाट पानी ल्याउनु हाम्रो दैनिक बाध्यता थियो।बिहान सबेरै गाग्री बोकेर निस्किन्थ्यौँ,फर्कँदाधेरै समय बितिसकेको हुन्थ्यो। पानी कम भएका बेला पालोका विषयमा गाउँलेबीच झगडा पनि हुन्थ्यो। कहिलेकाहीँ पानी ल्याउन नसकेर बालबालिकालाई विद्यालय पठाउन ढिलो हुन्थ्यो।त्यो जीवन निकै कठिन थियो।"
उहाँ केही क्षण मौन बस्नुहुन्छ।त्यसपछि आफ्नै घरअगाडिको धाराबाट बगिरहेको पानीतर्फ हेर्दै भावुक स्वरमा भन्नुहुन्छ,"आज आफ्नै घरको धारामा पानी झर्दा लाग्छ-हामीले दुःखका दिन पार गरिसकेछौँ।अब श्रीमतीले घण्टौँ गाग्री बोक्नुपर्दैन। छोराछोरीलाई पानीका लागि पढाइ छोड्नुपर्दैन। घरमा पाहुना आए पनि पानीको चिन्ता हुँदैन। यो पानीले हाम्रो जिवनलाई सहज मात्र बनाएको छैन,आत्मसम्मान पनि फर्काइदिएको छ।"
उहाँका अनुसार अहिले घरमा पानीको धारा देख्दा वृद्ध आमाबुबाका आँखामा पनि खुसीका आँसु देखिन्छन्।"हामीले दुःख भोगेर बितायौँ,तर अब हाम्रा सन्तानले त्यो दिन देख्नुपर्दैन। यही नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।"
गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माका अनुसार सुरक्षित खानेपानी गाउँपालिकाको पहिलो विकास प्राथमिकता हो।गत आर्थिक वर्षमा सञ्चालन भएका विभिन्न खानेपानी आयोजनाबाट करिब तीन हजार घरधुरीका झण्डै १२ हजार नागरिक लाभान्वित भएका छन्। वडा नम्बर ३ दोमई र वडा नम्बर ४ धनकोटका १९५ घरधुरीमा यसअघि नै धारा विस्तार भइसकेको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षभित्र थप ३०० धारा निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो।
उहाँले खानेपानीको पहुँच विस्तारसँगै स्वास्थ्य सुधार,सरसफाइ,महिलाको श्रम बचत,बालबालिकाको शिक्षामा सहजता र समग्र जिवनस्तर उकास्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै निर्माण भएका योजनाको दीगो व्यवस्थापनका लागि स्थानीय उपभोक्ताको स्वामित्व,संरक्षण र नियमित मर्मतसम्भार अपरिहार्य रहेको धारणा राख्नुभयो।
बुढिचौरमा अहिले धाराबाट झर्ने पानीले केवल तिर्खा मेटाइरहेको छैन।यसले वर्षौँदेखि गाउँको मनमा जमेको अभाव,निराशा र कठिनाइलाई पनि बगाइरहेको छ। एउटै धाराले महिलाको काँध हलुका बनाएको छ,बालबालिकाको भविष्य उज्यालो बनाएको छ,किसानको अनुहारमा आशा फर्काएको छ र एउटा गाउँलाई विकासको वास्तविक अनुभूति गराएको छ।
विकास त्यतिबेला अर्थपूर्ण हुन्छ,जब नागरिकले त्यसलाई भाषणमा होइन,आफ्नै घरको धाराबाट बगिरहेको पानीमा महसुस गर्छन्। बुढिचौरमा अहिले त्यही अनुभूति हरेक बिहान पानीको आवाजसँगै बगिरहेको छ।
प्रतिक्रिया राख्नुहोस्