दुई छोरा र पत्नी गुमाए पनि राँगो डोर्‍याउँदै नातिको भविष्य कोर्दै छन् गोबिन्द राउत

दुई छोरा र पत्नी गुमाए पनि राँगो डोर्‍याउँदै नातिको भविष्य कोर्दै छन् गोबिन्द राउत

राम बहादुर बिश्वकर्मा
प्युठान,बिहानको शीतल हावा होस् वा दिउँसोको चर्को घाम। कम्मरमा झुन्डिएको मोबाइलबाट मधुरो स्वरमा गीत बजिरहेको हुन्छ।अगाडि राँगो आफ्नै गतिमा हिँडिरहेको हुन्छ भने पछाडि लठ्ठीको सहारामा बिस्तारै पाइला चालिरहेका हुन्छन् ५४ वर्षीय गोबिन्द राउत।

यो दृश्य प्यूठान नगरपालिका-२,चितिखोलाका बासिन्दाका लागि नौलो होइन।वर्षौंदेखि गाउँका गोरेटो,उकालो-ओरालो र गोठसम्म पुग्ने साँघुरा बाटाहरूले उनको यही यात्रा देखिरहेका छन्।हेर्दा सामान्य लाग्ने यो यात्रा वास्तवमा एउटा संघर्षशील जीवनको प्रतिबिम्ब हो।धेरैका लागि उनी केवल राँगो लिएर हिँड्ने किसान हुन्,तर स्थानीय कृषकका लागि उनी आवश्यक पर्दा जुनसुकै बेला पुग्ने भरोसायोग्य साथी हुन्। गाउँका धेरै किसानले उनको मोबाइल नम्बर सुरक्षित गरेर राखेका छन्। भैंसी ब्याउने समय होस् वा प्रजनन सेवा आवश्यक परेको बेला,गोबिन्दलाई एउटा फोन गरे पुग्छ।
उनको दिन घडीको सुईले होइन,किसानको आवश्यकताले निर्धारण गर्छ। बिहान खाना खाने फुर्सद नहुँदै फोन आउन सक्छ,रात परिसकेपछि पनि कुनै किसानले बोलाउन सक्छ।मौसम राम्रो छ कि छैन भन्नेभन्दा पनि किसानको आवश्यकता उनको प्राथमिकता हुन्छ। त्यसैले कहिले घाममा पसिना बगाउँदै, कहिले वर्षामा भिज्दै र कहिले जाडोमा कठ्याङ्ग्रिँदै उनी गाउँ-गाउँ पुगिरहेका हुन्छन्।
तर अरूको गोठमा खुसी ल्याउने यो मानिसको आफ्नै घरमा भने पीडाका थुप्रै अध्याय छन्। जीवनले गोबिन्दलाई धेरै परीक्षा दियो। २०८१ साल पुस १ गते जीवनसाथी गुमाएपछि उनी झन् एक्लिए। त्यो पीडाबाट बाहिर निस्कन नपाउँदै दुई छोराको मृत्युले उनको जीवनलाई झन् शून्य बनायो। घरमा एक छोरी,जेठी बुहारी र नातिनातिनाको जिम्मेवारी उनकै काँधमा आइपुग्यो।उमेर ढल्कँदै गए पनि जिम्मेवारी भने झन् थपिँदै गयो।
उनले अहिले दुई जना नातिलाई पढाइरहेका छन्। उनी विश्वास गर्छन् शिक्षा नै गरिबीको चक्र तोड्ने सबैभन्दा बलियो माध्यम हो।त्यसैले आफ्नो दुःखभन्दा नातिनातिनाको भविष्यलाई ठूलो ठानेका छन्।उनी भन्छन्,"हामीले दुःख भोग्यौं,अब उनीहरूले अवसर पाउनुपर्छ।"उनको जीवनमा पीडाका घाउ मात्र छैनन्,अधुरा सपनाहरू पनि छन्।

 

युवावस्थामा उनले सरकारी जागिरको सपना देखेका थिए। प्रहरीमा भर्ती हुन जाँदा “प्यूठानी मसाल” भन्दै अपमानित भएको तीतो अनुभव उनीसँग छ। त्यसपछि भारतको पञ्जाबस्थित बीएसएफमा भर्ती हुने प्रयास गरे। तर आर्थिक अवस्था कमजोर भएकाले र घुसको माग पूरा गर्न नसक्दा त्यो सपना पनि अधुरै रह्यो। अन्ततः उनले गाउँ नै रोजे र कृषि तथा पशुपालनलाई आफ्नो भविष्य बनाए।

आज उनले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्छन्। तर त्यो रकम सुनिँदा ठूलो लागे पनि पशुपालनको खर्च,दाना,औषधि,घरपरिवार र नातिनातिनाको शिक्षामा खर्चिएपछि धेरै बाँकी रहँदैन। किसानको आम्दानी कागजमा जति देखिन्छ, व्यवहारमा त्यति हुँदैन भन्ने यथार्थ उनको जीवनले देखाउँछ।
सरकारबाट केही सहयोग पनि पाएका छन्।प्यूठान नगरपालिकाबाट ५० हजार रुपैयाँ र वडाबाट २० हजार रुपैयाँ अनुदान पाएको उनी बताउँछन्।तर अनुदान पाए पनि उनी त्यसलाई अन्तिम समाधान मान्दैनन्।उनका अनुसार किसानलाई अनुदानसँगै प्राविधिक सेवा, पशु बीमा, सहज ऋण र उत्पादनको सुनिश्चित बजार आवश्यक छ। यस्ता व्यवस्था भए मात्रै युवाहरू पनि कृषि र पशुपालनतर्फ आकर्षित हुने उनको विश्वास छ।
आज पनि मोबाइलमा गीत बजिरहेको छ।राँगो अगाडि हिँडिरहेको छ।गोबिन्द राउत पछाडि छन्। तर वास्तवमा उनी केवल एउटा राँगोको पछि हिँडिरहेका छैनन्। उनी आफ्नो परिवारको भविष्य,नातिनातिनाको सपना र किसानको भरोसा बोकेर हिँडिरहेका छन्।
कतिपय मानिसको परिचय उनीसँग भएको सम्पत्तिले दिन्छ,तर गोबिन्द राउतको परिचय उनको पसिनाले दिएको छ।उनका खुट्टाका डाम, अनुहारका चाउरी र गोरेटोमा छोडिएका पाइला स्वयंमा एउटा इतिहास हुन्। उनी प्रमाण हुन्-जीवनले जति दुःख दिए पनि श्रम गर्ने मानिसको पाइला कहिल्यै रोकिँदैन। मोबाइलमा बज्ने गीत फेरिन सक्छ,मौसम फेरिन सक्छ,तर गोबिन्द राउतको संघर्षको यात्रा अझै रोकिएको छैन।