राम बहादुर बिश्वकर्मा
प्युठान,मल्लरानी गाउँपालिका-३ मा ० देखि २३ महिनासम्मका आफ्ना बालबालिकाको नियमित रूपमा (१८ पटक वा सोभन्दा बढी) तौल मापन गराएका १८ जना बालबालिकाका आमाबुवालाई प्रोत्साहनस्वरूप उपयोगी सामग्री वितरण गरिएको छ।
वडा अध्यक्ष नोमराज पौडेलका अनुसार बालबालिकाको नियमित वृद्धि तथा विकासको अवस्था नजिकबाट अनुगमन गर्ने,कुपोषणको जोखिम समयमै पहिचान गर्ने तथा अभिभावकलाई स्वास्थ्य संस्थासँग नियमित सम्पर्कमा राख्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।नियमित रूपमा तौल मापन गराउँदा बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गर्न,उमेरअनुसारको वृद्धि भए/नभएको थाहा पाउन र आवश्यक परे समयमै उपचार तथा परामर्श उपलब्ध गराउन सहज हुने उनले बताए।
उनले बालबालिकाको पहिलो दुई वर्षको अवधि अत्यन्त संवेदनशील भएकाले यस अवधिमा नियमित तौल मापन,स्तनपान,पूरक आहार,खोप तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। स्वास्थ्यकर्मीको सल्लाहअनुसार नियमित रूपमा स्वास्थ्य संस्थामा पुगेर तौल मापन गराउने अभिभावकलाई प्रोत्साहनस्वरूप उपयोगी सामग्री वितरण गरिएको पनि उनले जानकारी दिए।
कार्यक्रममार्फत अन्य अभिभावकलाई समेत आफ्ना बालबालिकाको नियमित स्वास्थ्य परीक्षण र तौल मापनमा सहभागी हुन प्रेरणा मिल्ने विश्वास वडाले लिएको छ।आगामी दिनमा पनि बाल स्वास्थ्य,पोषण सुधार तथा कुपोषण न्यूनीकरणका लागि यस्ता जनचेतनामूलक र प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिइने वडा अध्यक्ष पौडेलले बताए।
प्रतिक्रिया राख्नुहोस्