जनताले तपाईंहरूलाई केवल सत्ता सञ्चालनको अवसर होइन,परिवर्तनको जिम्मेवारी सुम्पिएका छन्। त्यसैले विगतका कमजोरी दोहोर्याएर जनमतको औचित्य पुष्टि हुँदैन। अब आलोचनाभन्दा काम,भाषणभन्दा परिणाम र आरोपभन्दा समाधानमा केन्द्रित हुँदै जनताको दैनिक जीवनमा अनुभूति हुने परिवर्तनमार्फत प्राप्त विश्वासको सम्मान गर्ने समय आएको छ।
तेज बहादुर कुँवर
नेपाली जनताले तपाईंहरूलाई ठूलो आशा, विश्वास र जनमतका साथ अगाडि बढाएका छन्। यो जनमतलाई विगतका दलहरूलाई मात्र दोष दिएर होइन, परिणाममुखी काम गरेर सार्थक बनाउने समय आएको छ। अब विगतमा के भयो भन्नेभन्दा पनि वर्तमानमा के गर्ने र भविष्यका लागि कस्तो नेपाल निर्माण गर्ने भन्नेमा केन्द्रित हुन आवश्यक छ।
सबैभन्दा पहिले प्रशासनिक सुधारलाई प्राथमिकता दिनुहोस्। सरकारी सेवा छिटो,पारदर्शी,सरल र भ्रष्टाचारमुक्त बनाउनुहोस्। जनताले राज्यबाट सहज सेवा पाउने वातावरण निर्माण गर्नुहोस्।
शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक छ। नेपालको शिक्षा प्रणालीलाई विदेशी मोडलको नक्कलभन्दा पनि नेपालको आवश्यकता, भूगोल, संस्कृति,भाषा, सीप र प्राकृतिक स्रोतसँग जोडेर पुनर्संरचना गर्नुहोस्। मातृभाषामै आधारभूत शिक्षालाई सुदृढ बनाउँदै, उत्पादनमुखी, सीपमूलक र रोजगारी सिर्जना गर्ने शिक्षा प्रणाली लागू गर्नुपर्छ।
स्वास्थ्य सेवा प्रत्येक नागरिकको पहुँचमा पुग्ने गरी गुणस्तरीय र सुलभ बनाउनुहोस्। गाउँदेखि शहरसम्म स्वास्थ्य पूर्वाधार, औषधि र दक्ष जनशक्तिको व्यवस्था सुनिश्चित गर्नु आवश्यक छ।रोजगारी सिर्जना सरकारको प्रमुख प्राथमिकता हुनुपर्छ। उद्योग, कलकारखाना, कृषि, पर्यटन, सूचना प्रविधि तथा अन्य उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गरी युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउनुहोस्। करको भार अनावश्यक रूपमा नबढाई उत्पादन र लगानीमैत्री वातावरण सिर्जना गर्नुहोस्।
नेपाल प्राकृतिक स्रोतले सम्पन्न देश हो। जलस्रोत,जलविद्युत,जडीबुटी,कृषि,वन र पर्यटनको वैज्ञानिक तथा दीर्घकालीन उपयोग गरी राष्ट्रिय समृद्धिको आधार तयार गर्न सकिन्छ। पर्याप्त जलविद्युत उत्पादन गरी नेपाली नागरिकलाई सस्तो र भरपर्दो विद्युत उपलब्ध गराउनुहोस् र अतिरिक्त विद्युत निर्यात गरेर राष्ट्रिय आम्दानी बढाउनुहोस्। जडीबुटी प्रशोधन उद्योग स्थापना गरी मूल्य अभिवृद्धि गर्नुपर्छ।
कृषि क्षेत्रलाई पुनर्जीवित गर्न आधुनिक प्रविधि, सिँचाइ, बजार,भण्डारण तथा किसानमैत्री नीति लागू गर्नुहोस्। गाउँबाट बसाइँसराइ रोक्ने र कृषिलाई सम्मानित तथा लाभदायक पेशाका रूपमा विकास गर्ने नीति आवश्यक छ।
विदेश नीति सन्तुलित, स्वाभिमानी र राष्ट्रिय हितमा आधारित हुनुपर्छ। नेपालले सबै छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्ध कायम गर्दै आफ्नो सार्वभौमिकता र राष्ट्रिय हितलाई सर्वोच्च प्राथमिकता दिनुपर्छ।
राजनीतिमा परिवर्तनको अर्थ ज्येष्ठ नेताहरूको अपमान होइन। अनुभव भएका वरिष्ठ नेताहरूलाई सम्मान गर्दै नयाँ सोच,नयाँ कार्यशैली र परिणाममुखी शासनमार्फत परिवर्तनको उदाहरण प्रस्तुत गर्नुहोस्।
नेपाली जनताले सरकारको कामबाट प्रत्यक्ष राहत महसुस गर्न चाहेका छन्। प्रत्येक नागरिकले “यो सरकारले हाम्रो जीवनमा सकारात्मक परिवर्तन ल्यायो” भन्ने अनुभूति गर्न सक्ने गरी काम गर्नुहोस्। यही नै तपाईंहरूले प्राप्त गरेको जनमतको वास्तविक सम्मान हुनेछ।
नेपालसँग विकासका लागि आवश्यक प्राकृतिक स्रोत, युवा जनशक्ति र सम्भावना प्रशस्त छन्। आवश्यक कुरा इमानदार नेतृत्व, स्पष्ट दृष्टिकोण, दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन हो। यदि आगामी पाँच–दस वर्ष यही दिशामा निरन्तर काम गर्न सकियो भने नेपाललाई समृद्ध, आत्मनिर्भर र विकासोन्मुख राष्ट्रका रूपमा स्थापित गर्न सकिन्छ
अर्को महत्वपूर्ण सुझाव, विगतका ३५ वर्षमा भएका भ्रष्टाचार, कमजोरी र राजनीतिक असफलतालाई बारम्बार दोहोर्याएर मात्र अगाडि नबढ्नुहोस्। नेपाली जनताले ती सबै कुरा बुझेरै परिवर्तनको अपेक्षासहित तपाईंहरूलाई जनमत दिएका हुन्। त्यसैले अब विगतको आलोचनाभन्दा भविष्य निर्माणमा बढी ध्यान दिनु आवश्यक छ।
विगतमा गल्ती भएका छन् भने कानुनले आफ्नो काम स्वतन्त्र रूपमा गर्नुपर्छ।तर राज्यको सम्पूर्ण ऊर्जा विगतकै घटनामा मात्र केन्द्रित गरेर देशको विकास सम्भव हुँदैन। जनताले प्रतिशोधको राजनीति होइन,सुशासन,विकास र परिणाम चाहेका छन्।त्यसैले पुराना दल वा नेताहरूको आलोचनालाई मात्र राजनीतिक एजेन्डा नबनाई, सबैलाई लोकतान्त्रिक मर्यादाभित्र सम्मान गर्दै अब नयाँ सोच,नयाँ नीति,नयाँ कानुन र नयाँ कार्यसंस्कृतिका साथ अगाडि बढ्नुहोस्। देशको समग्र मुहार फेर्ने दीर्घकालीन राष्ट्रिय नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुहोस्।विशेष गरी, अबको प्राथमिकता भविष्यमा भ्रष्टाचार हुनै नदिने प्रणाली निर्माण हुनु आवश्यक छ। स्पष्ट कानुनी व्यवस्था, पारदर्शी प्रशासन,कडा अनुगमन, डिजिटल सुशासन र निष्पक्ष कार्यान्वयनमार्फत यस्तो व्यवस्था बनाउनुहोस् कि अबदेखि जसले पनि भ्रष्टाचार गरेमा कानुनअनुसार निश्चित र समान दण्ड पाओस्। कानुन सबैका लागि समान रूपमा लागू हुने प्रणाली नै दीर्घकालीन समाधान हो।
परिवर्तनको वास्तविक अर्थ विगतलाई मात्र दोष दिनु होइन, भविष्यका लागि बलियो संस्था, प्रभावकारी कानुन र जवाफदेही शासन प्रणाली निर्माण गर्नु हो। यही मार्गबाट मात्रै जनताको विश्वास कायम रहन्छ र समृद्ध नेपालको आधार तयार हुन्छ। आज नेपालको मौलिक अवस्थालाई हेर्दा गाउँहरू खाली हुँदै गएका छन्, घरहरू सुनसान छन्, खेतबारी बाँझो छन् र धेरै मानिसहरू शहर वा विदेशतर्फ पलायन भएका छन्। यसले केवल आर्थिक समस्या मात्र होइन, हाम्रो सामाजिक संरचना, संस्कृति र राष्ट्रिय पहिचानमाथि पनि गम्भीर असर पारेको छ।हाम्रो भाषा, भेषभूषा, परम्परा, मूल्य मान्यता र संस्कार हराउँदै गएको जस्तो देखिन्छ, जसलाई जोगाउन राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।
त्यसैगरी, मानवता,दया,सहानुभूति र सामाजिक उत्तरदायित्व कमजोर हुँदै गएको अनुभूति हुन्छ। सडकमा कोही संकटमा पर्दा सहयोग गर्ने भावना घट्दै गएको छ, जुन चिन्ताजनक कुरा हो।कृषि, पशुपालन, साना उद्योग, पर्यटन र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै शहर र गाउँबीचको असन्तुलन घटाउनुपर्छ। राष्ट्रियता बलियो बनाउन मौलिक संस्कृति, सामाजिक आधार हो। तर विदेशी संस्कृतिको अन्धो प्रभाव,उपभोक्तावादी सोच र सामाजिक संवेदनशीलताको कमीले यी आधारहरू कमजोर हुँदै गएको देखिन्छ। त्यसैले विद्यालयदेखि सार्वजनिक जीवनसम्म आफ्नै मौलिक संस्कृति, इतिहास र राष्ट्रिय पहिचानलाई सम्मान गर्ने नीति आवश्यक छ। संस्कृति जोगाउनु भनेको केवल पुराना कुरा दोहोर्याउनु होइन,त्यसलाई समयअनुसार संरक्षण र प्रवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो।
लेखक
देउखुरी क्याम्पस लमही दाङका प्रध्यापक हुनुहुन्छ।
प्रतिक्रिया राख्नुहोस्