राम बहादुर विश्वकर्मा
प्युठान,विद्यार्थीहरूको मानसिक स्वास्थ्य,भावनात्मक सन्तुलन तथा सकारात्मक व्यवहार विकास गर्ने उद्देश्यले प्युठान नगरपालिकाको आयोजनामा विद्यालय तहमा मनोसामाजिक परामर्श सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।सोमबार बाल बिध्या माध्यामिक बिध्यालयमा अध्यनरत किशोर किशोरीलाई प्रशिक्षण गरिएको हो।
कार्यक्रमको अध्यक्षता प्युठान नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विकास के.सि ले गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक केशु गिरी को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मनोविमर्शकर्ता शान्ति पण्डितले सहजीकरण तथा प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा किशोर-किशोरीमा देखिने मानसिक तथा भावनात्मक समस्या,तनाव व्यवस्थापन,आत्मविश्वास अभिवृद्धि, सकारात्मक सोच, सुरक्षित व्यवहार, परामर्श सेवाको आवश्यकता तथा मानसिक स्वास्थ्यप्रति अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। साथै,समस्या लुकाएर राख्नुभन्दा विश्वासिला व्यक्ति वा परामर्शदातासँग खुलेर छलफल गर्नुपर्ने, मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह महत्त्व दिनुपर्ने र विद्यालयमा सहयोगी वातावरण निर्माण गर्नुपर्ने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष विकास के.सि.ले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शैक्षिक उपलब्धिसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, "विद्यार्थीको मन स्वस्थ भए मात्र सिकाइ प्रभावकारी हुन्छ।त्यसैले स्थानीय सरकारले विद्यालयमा यस्ता मनोसामाजिक परामर्श तथा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ। यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास,सकारात्मक सोच र जिवन सीपको विकास गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।"
विद्यालयका प्रधानाध्यापक केशु गिरीले पछिल्लो समय किशोर–किशोरीहरूमा नकारात्मक सोच,मानसिक तनाव र असुरक्षाको भावना बढ्दै जाँदा विभिन्न अप्रिय तथा दुःखद घटनाहरू हुने गरेको बताउनुभयो। उहाँले यस्ता समस्याको समयमै पहिचान गरी उचित परामर्श र सकारात्मक वातावरण प्रदान गर्न सके धेरै जोखिम न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो,"विद्यालय शिक्षाले केवल पाठ्यज्ञान मात्र नभई विद्यार्थीको व्यक्तित्व, व्यवहार र मानसिक विकासमा पनि विशेष ध्यान दिनुपर्छ। विद्यालय विद्यार्थीको दोस्रो घर हो। यहाँ उनीहरूले आफ्ना समस्या निर्धक्क भएर राख्न सक्ने विश्वासिलो वातावरण निर्माण गर्नु हाम्रो दायित्व हो। यस्ता मनोसामाजिक परामर्श कार्यक्रमले विद्यार्थी र शिक्षक दुवैलाई मानसिक स्वास्थ्यप्रति थप जिम्मेवार,संवेदनशील र सचेत बनाउने विश्वास लिएको छु।"
मनोविमर्शकर्ता शान्ति पण्डितले किशोरावस्था संवेदनशील समय भएकाले मानसिक स्वास्थ्यलाई बेवास्ता गर्न नहुने बताउनुभयो। उहाँले भन्नुभयो, "विद्यार्थीले आफ्ना भावना दबाएर राख्नु हुँदैन। समस्या आएमा अभिभावक, शिक्षक वा परामर्शदातासँग खुलेर कुरा गर्नु नै समाधानको पहिलो कदम हो। समयमै गरिएको परामर्शले धेरै मानसिक तथा व्यवहारिक समस्याबाट बच्न मद्दत गर्छ।"
कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई उपयोगी र समयसापेक्ष भएको प्रतिक्रिया दिँदै विद्यालय तहमा यस्ता मनोसामाजिक परामर्श तथा सचेतनामूलक कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।प्रशिक्षण कार्यक्रमको सन्चालन न्यायिक शाखा प्रमुख दिपक पौडेलले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्