स्वास्थ्य प्रवर्द्धनका लागि मिडिया पैरवी कार्यक्रम सम्पन्न 

राम बहादुर विश्वकर्मा
प्युठान,स्वास्थ्य प्रवर्द्धन तथा जनस्वास्थ्यका मुद्दालाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा उठान गर्ने उद्देश्यले आयोजित मिडिया पैरवी कार्यक्रम बिजुवारमा सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय देउखुरी दाङको आयोजना तथा स्वास्थ्य कार्यालय प्युठानको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जिल्लाभरका क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कोल्चेन अधिकृत कोशलराज वैद्यले जनस्वास्थ्य र सञ्चारको अन्तरसम्बन्धबारे प्रशिक्षण दिँदै स्वास्थ्य पत्रकारिता उपचार र रोगका समाचारमा मात्र सीमित हुन नहुने बताउनुभयो। उहाँले स्वास्थ्य प्रवर्द्धन,रोग रोकथाम, स्वस्थ जीवनशैली तथा जनस्वास्थ्यसँग सम्बन्धित नीतिगत विषयलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो।वैद्यले स्वास्थ्यसम्बन्धी समाचारले नागरिकमा चेतना अभिवृद्धि गर्नुका साथै नीति निर्माण तहमा सकारात्मक दबाब सिर्जना गरी जनस्वास्थ्यमैत्री निर्णय लिन प्रेरित गर्न सक्ने धारणा राख्नुभयो।
उहाँका अनुसार पछिल्लो समय नेपालमा नसर्ने रोगको समस्या तीव्र रूपमा बढिरहेको छ। बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक श्रमको कमी, सुर्तीजन्य पदार्थको सेवन तथा मद्यपानका कारण मुटुरोग, मधुमेह, उच्च रक्तचाप र क्यान्सरजस्ता रोगहरू बढ्दै गएका छन्। यस्ता विषयलाई सञ्चारमाध्यमले निरन्तर उजागर गर्न सके जनचेतना अभिवृद्धिसँगै जोखिम न्यूनीकरणमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो।
प्रशिक्षणका क्रममा उहाँले पहाडी तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै स्वास्थ्य संस्थामा उपलब्ध जनशक्ति, औषधि र पूर्वाधारको अवस्थाबारे तथ्यपरक र जिम्मेवार समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।
त्यस्तै, मानसिक स्वास्थ्यका समस्या बढ्दै गइरहे पनि यस विषयमा अपेक्षाकृत कम चर्चा हुने गरेको भन्दै मानसिक स्वास्थ्यलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा बालबालिकामा देखिएको दोहोरो पोषण समस्याबारे पनि चर्चा गरिएको थियो। एकातर्फ कुपोषण अझै चुनौतीका रूपमा रहेको र अर्कोतर्फ मोटोपना तथा मधुमेहजस्ता समस्या बढ्दै गएको सन्दर्भमा पोषणसम्बन्धी विषयलाई विशेष प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिइएको थियो।
सहभागी सञ्चारकर्मीहरूले स्वास्थ्यसम्बन्धी समाचारलाई अझ अनुसन्धानमूलक, तथ्यपरक तथा जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा स्वास्थ्य क्षेत्रका चुनौती, उपलब्धि, नीति तथा सेवासम्बन्धी विषयमा निरन्तर पैरवी गर्दै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रमको निष्कर्षस्वरूप स्वास्थ्य क्षेत्रका मुद्दालाई उपचारमुखी दृष्टिकोणबाट मात्र नभई रोकथाम, स्वास्थ्य प्रवर्द्धन र जनचेतनामूलक दृष्टिकोणबाट समेत उठान गर्न आवश्यक रहेको औँल्याइएको थियो।