महँगी वृद्धि र अस्थिर बजारले निर्माण क्षेत्र संकटमा“व्यवसाय जोगाउन राज्य गम्भीर बन्नुपर्छ”: अध्यक्ष आचार्य

महँगी वृद्धि र अस्थिर बजारले निर्माण क्षेत्र संकटमा“व्यवसाय जोगाउन राज्य गम्भीर बन्नुपर्छ”: अध्यक्ष आचार्य

राम बहादुर बिश्वकर्मा 
प्युठान,देशभर बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर अहिले निर्माण क्षेत्रदेखि दैनिक उपभोग्य वस्तुसम्म प्रत्यक्ष देखिन थालेको छ। विशेषगरी सरकारी ठेक्का तथा पूर्वाधार निर्माण क्षेत्रमा लागत अस्वाभाविक रूपमा बढेपछि निर्माण व्यवसायीहरू गम्भीर आर्थिक दबाबमा परिरहेका छन्। यही अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले व्यवसायीहरू टिक्नै नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ।
प्युठान नगर बजार क्षेत्रको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले निर्माण व्यवसायी र सरकारबीच भएको पुरानो सम्झौताअनुसार अहिले काम सम्पन्न गर्न असम्भव जस्तै बन्दै गएको धारणा राख्नुभयो।
उहाँका अनुसार इन्धन,निर्माण सामग्री र ढुवानी खर्चमा अत्यधिक वृद्धि हुँदा पहिलेको लागत अनुमान पूर्ण रूपमा असन्तुलित बनेको छ। “१ करोडमा ठेक्का सम्झौता भएको योजना सम्पन्न गर्न अहिले डेढ करोडदेखि २ करोडसम्म खर्च लाग्ने अवस्था छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा व्यवसायीले कसरी काम सम्पन्न गर्ने ?”

“कालोसूची र मानसिक तनावको जोखिम”

निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा व्यवसायीहरू कानुनी तथा आर्थिक दुवै दबाबमा पर्ने गरेका छन्। अध्यक्ष आचार्यले यस्ता कारणले धेरै व्यवसायी चरम मानसिक तनावमा पुग्न सक्ने बताउनुभयो। काम अधुरो हुँदा कम्पनी कालोसूचीमा पर्ने, बैंकको ऋण तिर्न नसक्ने तथा सामाजिक दबाब बढ्ने अवस्थाले आत्महत्याजस्ता दुःखद घटना निम्त्याउन सक्ने सम्भावनासमेत उहाँले औंल्याउनुभयो।
निर्माण क्षेत्रलाई केवल नाफामुखी व्यवसायका रूपमा मात्र नहेरी राज्यले विकास निर्माणसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्रका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ थियो।

उपभोक्ताप्रति पनि व्यवसायीको दायित्व

अध्यक्ष आचार्यले व्यवसायीहरूले पनि कठिन परिस्थितिमा सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। पेट्रोलियम पदार्थको मूल्य बढ्दैमा सबै वस्तुको मूल्य अन्धाधुन्ध बढाउनु उचित नहुने उहाँको भनाई थियो।
विशेषगरी ढुवानी लागतसँग प्रत्यक्ष सम्बन्ध नभएका वस्तुमा मूल्य स्थिरता कायम गर्न सकिने उल्लेख गर्दै उहाँले व्यवसायीहरूले विगतको केही मुनाफा घटाएर पनि उपभोक्तालाई राहत दिन सक्ने बताउनुभयो।
“व्यवसायी बाँच्नुपर्छ, तर उपभोक्ता पनि मारमा पर्नु हुँदैन,” उहाँले भन्नुभयो, “यस्तो विषम परिस्थितिमा राज्य र निजी क्षेत्रबीच सन्तुलन आवश्यक छ।”

स्थानीय उत्पादन नै भविष्यको आधार

अध्यक्ष आचार्यले प्युठानबाट निर्यात हुने स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिनुभयो। बाहिरी बजारमा निर्भरता बढ्दै जाँदा स्थानीय अर्थतन्त्र कमजोर हुने भएकाले स्थानीय उत्पादन, कृषि,घरेलु उद्योग तथा उद्यमशीलतालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।
“हामीसँग जे स्रोत र उत्पादन छन्,त्यसैलाई पूँजी बनाएर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “स्थानीय उत्पादनको संरक्षण र बजारीकरण गर्न सके मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्न सक्छ।”

चुनौतीबीच समाधानको खोजी

पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दी, घट्दो उपभोक्ता क्रयशक्ति,बैंक ब्याजदरको दबाब तथा लागत वृद्धिका कारण साना तथा ठूला व्यवसायीहरू समान रूपमा प्रभावित भएका छन्। व्यवसायीहरूका अनुसार सरकारले मूल्य समायोजन, कर सहुलियत,सहुलियतपूर्ण कर्जा तथा व्यवसायमैत्री नीति ल्याउन नसके आर्थिक संकट अझ गहिरिन सक्ने खतरा रहेको छ।
यस्तो अवस्थामा उद्योग वाणिज्य संघले व्यवसायीका समस्या सार्वजनिक रूपमा उठाउँदै सरकारको ध्यानाकर्षण गराउनु अर्थपूर्ण पहलका रूपमा हेरिएको छ।