जनताको गुनासो सुन्न दुर्गम बस्ती स्याउलीबाङ्ग पुग्यो प्रहरी प्रशासन

जनताको गुनासो सुन्न दुर्गम बस्ती स्याउलीबाङ्ग पुग्यो प्रहरी प्रशासन

राम बहादुर बिश्वकर्मा
प्युठान,सर्वसाधारणको गुनासो सुन्न र सुझाव संकलनका लागि जिल्ला प्रहरी कार्यालय प्युठान  गाउँ–गाउँमा पुगेको छ।
प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनका लागि जिल्ला प्रहरी कार्यलयले गाउँ-गाउँका सर्वसाधारणसँग भेटघाट गरेर गुनासो सुन्दै सुझाव लिएको छ।

सामुदायिक सुरक्षाको पहिलो आधार स्थानीय नागरिक भएको बताउदै समुदाय र प्रहरीबीचको साझेदारीमा समाजमा हुने अपराध र अपराधजन्य समस्याको पहिचान र समाधानको लागि नेपाल प्रहरी जनताको घरदैलोमा सन्देशमुलक जनचेतनामुलक जागरण अभियानका साथ प्युठान प्रहरी नागरिकको घरदैलोमा पुगेको हो।
त्यस्तै प्रहरी कार्यालयले नौबहिनी गाउँपालिका वडा नम्बर १ स्याउलिबाङ्गमा गरेको‘नागरिक सुनुवाई’ मार्फत कार्यालयबाट सम्पादन भएका काम र प्रहरी सेवा प्रति सुझाव सल्लाह तथा गुनासा राख्न नागरिकहरु लाई आग्रह गरेको थियो ।
प्रत्येक जनताको घरदैलोमा प्रहरी कर्मचारी पुगी सुरक्षा सरोकारका बिषयमा जनतालाई सुसूचित गराउन तथा बस्तुगत परिस्थतीको जानकारी लिने पद्धतिमा सहज बातावरणको बिकास गर्न र नागरिकमैत्री प्रहरीको रुपमा छबि बिस्तार तथा सुधार गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी इश्वर थापाले बताउनुभयो।कार्यक्रममा धेरै सहभागीले शिक्षा,स्वास्थ्य,खानेपानी,वैद्युत,महिला प्रहरीको ब्यबस्था लगायतका गुनासा राखेका थिए।
सहभागीहरुले राखेको गुनासा सुनिसकेपछि प्रहरी प्रमुख खड्काले समस्या समाधानका लागी प्रहरी कहिल्यै पनि बिचलन नहुने र समाजमा शान्ति सुरक्षा कायम गर्न सबै नागरिकहरुले प्रहरी लाई सुचना साथ दिनु पर्ने आग्रह गर्नुभयो।साथै उहाँले सहभागीवाट आएका सुझावहरु आफुहरुको लागी मार्ग दर्शन भएको वताउनुभयो ।
समाजमा शान्ति स्थापनार्थ हिंसा,दुर्घटना,अपराधिक क्रियाकलापका बिषयमा तत्काल खबर गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्लाको दुर्गम बस्ती स्याउलीबाङ्गमा ‘नागरिक सुनुवाई’ कार्यक्रम चलाएको प्रहरीले क्रमशः अन्य ठाउँका जनता समक्ष पुग्ने जनाएको छ।‘शान्ती, सुरक्षा,बिकास,सभ्य समाज निर्माणमा प्रहरीको भूमीकाका बिषयमा सुझाव लिन र प्रहरी प्रतिको गुनासो सुन्नका लागि जनताको घरदैलो पुगेर नागरिक सुनुवाई गरिएको हो,’ डिएसपी खड्काले भन्नुभयो,‘क्रमशःअन्य ठाउँमा पनि जनचेतनामूलक कार्यक्रम गर्दै जाने छौँ।’
प्रहरी कार्यालयामा जान तथा प्रहरीसंग आफ्ना गुनासा राख्न अफ्ठ्यारो मान्ने सर्ब साधारणहरुले प्रहरीले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रमका साथी प्रहरी मेरो साथी जस्ता कार्यक्रमले प्रहरी प्रतिको डर हट्ने उहाँको भनाई छ।
जिल्लाका कयौं घटनाहरुमा प्रहरीले सफलता कायम गरेकोले प्रहरीको केही कामको प्रसंसा गर्दै नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले प्रहरी भित्रका केही कमजोरी सुधार गर्नु पर्ने र शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिकको सहकार्य हुनुपर्ने कुरामा जोड दिनुभयो।
कार्यक्रममा जिल्ला प्रशसान कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी मदन कोईराला,लुम्बिनी सरकारका बन तथा वातावरणको सचिव मोहोन राज काफ्ले,वन डिभिजन कार्यलय प्रमुख,मालपोत कार्यलय प्रमुख,जिल्ला अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.राजेन्द्र पौडेल राजनैतिकदल,जनप्रतिनिधि सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।